कञ्चनपुर– आन्दोलन उग्र बन्दै गएपछि शनिबार कञ्चनपुरमा सर्वदलिय बैठक बसेको छ। बैठकमा शान्तिपूर्वक ढंगले समस्याको समाधान खोज्न अघि बढ्ने सहमति भएको छ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको नेतृत्वमा सर्वदलिय बैठक बसेको हो। बैठकले मृतकलाई सहिद घोषणा गर्न सिफारिस गर्ने, घाइतेहरुको उपचार खर्च सरकारलाई बेहार्न सिफारिस गर्ने र तत्काल आन्दोलन अघि नबढाउने निर्णय गरेको छ।
बैठकमा सबै राजनीतिक दलका नेतादेखि स्थानीय संघ संस्थाका प्रतिनिधिहरु समेत उपस्थित थिए।
बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा प्रहरीले चलखेल गरेको आरोप लगाउँदै करिब एक महिनादेखि आन्दोलन भइरहेको छ। सोमबार प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तमा रुपमा सार्वजनिक भएपछि नक्कली अभियुक्त भएको भन्दै आन्दोलन थप चर्किएको थियो।
शुक्रबारको आन्दोलनमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
सरकारले घटनाको अनुसन्धानका लागि सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन भइसकेको छ।
प्रशासनले भिमदत्त नगरपालिकाका २ वडामा शुक्रबारदेखि कर्फ्यू लगाएको छ। हालसम्म कर्फ्यू जारी छ। जसकारण शनिबार बजार सुनसान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।