काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सहयोग पुर्याएको आरोप लागेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव (हाल निलम्बित) टोपबहादुर रायमाझी आइतबार पक्राउ परे। उनलाई सोमबार म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा लगिएको थियो।
रायमाझीको शैली विजेताको जस्तो थियो। राजनीतिक जीवनको उत्तरावस्थामा लागेको गम्भीर आरोपले उनलाई खासै प्रभाव पारेको जस्तो देखिन्नथ्यो। १० दिनसम्म पक्राउ पर्नबाट लुक्नुपरेको यथार्थ पनि बिर्सिए जस्तो लाग्थ्यो। त्यसैले पनि उनले मुस्कुराउँदै हात हल्लाए। उनले हात उठाएर हल्लाउन सम्भव भयो, किनकि उनको हातमा हतकडी लागेको थिएन।
रायमाझीको ‘विजयी भाव’ को जति चर्चा भयो, उति नै चर्चा भयो उनको हतकडीरहित हातको। यही प्रकरणका अन्य कतिपयलाई हतकडी लगाइएको थियो। तर, रायमाझीलाई नलगाइएपछि सामाजिक सञ्जालमा चर्चा भइहाल्यो। लेखक तथा अभियन्ता नारायण वाग्लेले लेखे- ‘हतकडी लाउन नपरेर हाँस्या नि!’
अन्य कैयौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले दुई थरी व्यवहारलाई उल्लेख गर्दै प्रहरीप्रति प्रश्न पोखेका छन्। ट्विटर प्रयोगकर्ता तथा अभियन्ता विश्वदीप लामिछानेले लेखेका छन्, ‘कानुनले अपराधलाई हेर्छ भन्थे तर व्यक्तिको शक्ति पनि हेर्ने रहेछ। कसले कानुन उल्लंघन गर्यो भन्दा कुन पोर्टफोलियोको व्यक्तिले कानुन उल्लंघन गर्यो। त्यही अनुसारको व्यवहार हुने रहेछ भन्ने नक्कली भुटानी शरणार्थी प्रकरणले देखाएको छ।’
त्यस्तै, सुभाषले आरोपीलाई किन भेदभाव नेपाल प्रहरी? भनेर सोधेका छन्। त्यस्तै, अशोक पोखरेलले टोपबहादुर एकपटक फरार व्यक्ति हुन्, उनलाई हतकडी किन लगाएको भन्दै सोधेका छन्।
यसअघि गत बुधबार बालकृष्ण खाणलाई पनि जिल्ला अदालत काठमाडौं लगिएको थियो। उनको हातमा पनि हतकडी थिएन। त्यतिबेला पनि सामाजिक सञ्जालमा खुबै प्रश्न उठेका थिए। लेखक तथा अभियन्ता सञ्जीव उप्रेतीको असन्तुष्टि थियो, ‘एउटै आरोपमा कसैलाई हतकडी लगाइन्छ र कसैलाई लगाइँदैन भने यसले भीआईपी/विशिष्ट र साधारण/आम मानिस बीचकै खाडललाई मलजल गर्छ। यस्तो थिति न लोकतान्त्रिक छ, न गणतान्त्रिक!’
शरणार्थी प्रकरणमा पक्राउ परेका अन्य कतिपयलाई प्रहरीले हतकडी लगाएको थियो। तर राजनीतिक व्यक्ति पक्राउ पर्न थालेपछि भने व्यवहार परिवर्तन भएको देखिन्छ। जसमाथि प्रश्न उठेको हो।
अनेक शैलीमा उठेका प्रश्नको सार हो- एउटै आरोपमा पक्राउ परेकाहरुबीच राज्यले विभेदकारी व्यवहार गरिरहेको छ। पक्राउ परेका व्यक्तिहरु सबै आरोपित हुन् र समान व्यवहारको अपेक्षित हुन्छ भन्ने कोणबाट होइन, आरोपितको पूर्व/वर्तमान पदका आधारमा व्यवहार गरिएको छ। त्यो उचित होइन।
उही प्रकरणमा उस्तै आरोप भोगिरहेकाहरुलाई गर्ने व्यवहारमा राज्यले अपनाएको दोहोरो मापदण्डमाथि कानुनविद्हरु नै प्रश्न उठाउँछन्।
सैद्धान्तिक रुपमा कुनै पनि आरोपी भाग्न वा उम्कन नपाउन् भनेर लिइने सतर्कता प्रहरीको दायित्वमै पर्ने र त्यसको जोखिमका आधारमा प्रहरीले जिम्मा लिनसक्ने फौजदारी कानुनका जानकार सतिशकृष्ण खरेल बताउँछन्। उनले थपे, ‘तर, कुनै पनि सार्वजनिक पदमा बसेका अधिकारीहरुले गर्ने काम कारबाहीमा विभेद नगरिएको पुष्टि गर्न पनि आवश्यक हुन्छ।’
‘संयुक्त राज्य अमेरिकाको उदाहरण हेर्ने हो भने, देवानी मुद्दाहरुमा पनि हतकडी लगाइन्छ जोसुकै भए पनि’, उनले भने, ‘तर, हामीकहाँ अहिले पनि सामन्तवादको अवशेष देखिन्छ। पुरानो सम्बन्ध, पुरानो हाकिम, पुरानो मन्त्रीलाई गरिने व्यवहारमा विभेद छर्लंग देखिन्छ।’
उनले अहिलेको ‘हतकडी प्रकरण’ मा पनि भेदभावपूर्ण व्यवहार भएकोमा शंकै नरहेको बताए। उनले भने, ‘विभेद त हेर्नुस् न, राख्दा नै पनि एकथरीलाई खोरमा र अर्कोथरीलाई कोठामा बेड राखेर राखिएको छ। भेदवाद त स्पष्ट नै छ।’
सर्वोच्च बारका पूर्वसचिव तथा अधिवक्ता ऋषिराम घिमिरेले कानुनभन्दा माथि कोही पनि नहुने बताए। ‘कानुनको अगाडि राजा वा रैती भन्ने छुटिन्न। उस्तै प्रकारको अपराध राजाले गरे पनि, सामान्य व्यक्तिले गरे पनि कानुनले उस्तै व्यवहार गर्छ।’
घिमिरेका अनुसार सामान्यतया आरोपित भाग्छ कि भनेर हतकडी लगाइन्छ। यसको अर्थ हाइप्रोफाइल आरोपी भाग्नै सक्दैनन् र सर्वसाधारण सबै भाग्छन् भन्ने मान्यता चाहिँ स्वीकार्य नहुने उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रमुख दानबहादुर कार्कीले आरोपित व्यक्ति त्यहाँ खटिएको प्रहरीभन्दा बढी दौडन सक्छ, भाग्न सक्छ, उम्कन सक्छ भन्ने लाग्यो भने उसको दौडन सक्ने क्षमता कम गर्नका लागि हतकडी लगाइने बताए। तर उल्लेखित नामहरुमा त्यस्तो अवस्था नरहेको बताए।
व्यक्तिको शारीरिक अवस्था, स्वास्थ्य अवस्था र आक्रमण गर्न सक्ने अवस्था हेरेर तत्काल खटिएको प्रहरी कमान्डरले हतककडी लगाउने वा नलाउने निर्णय गर्न सक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।