महेन्द्रनगर– निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा स्थानीयको मागअनुसार सरकारले जिल्लाका एसपी र सिडिओलाई हटायो। सहसचिवको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएर घटनास्थल पठायो।
त्यसपछि महेन्द्रनगरमा केही शान्त भएको थियो। उच्चस्तरीय छानबिन समितिले शुक्रबार बिहानैदेखि अनुसन्धान अघि बढाएको थियो। शुक्रबार दिउँसोसम्म अवस्था सामान्य हुँदै थियो।
तर, दिउँसो एक्कसी चोक–चोकमा युवाहरु जम्मा भएर नाराबाजी र सरकारी कार्यालयहरु तोडफोड गर्न थाले। एक्कासी आन्दोलन हुँदा प्रहरीले स्थिती नियन्त्रण नै लिन सकेन। अन्धाधुन्द गोली चलायो। प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन्। हिंसा झन् भडकिएको छ।
पन्तको हत्याका अभियुक्तलाई कारबाहीका लागि हुँदा भएको आन्दोलनमा राज्यकै गोलीबाट थप व्यक्तिले ज्यान गुमाउन पुगेका छन्। प्रहरी र सर्वसाधरणको दुरी झन् बढ्न पुगेको छ।
आज भएको घटना यसअघिको भन्दा फरक किसिमको रहेको स्थानीयले बताएका छन्। आजको आन्दोलनमा हिजोसम्म आन्दोलन गर्दै आएका निर्मला पन्तका आफन्त तथा छिमेकीहरु नरहेकाे प्रशासनकाे दाबी छ।
‘अन्य समूहले नै आन्दोलन गरेको हो’ गृहका एक अधिकारीको दाबी छ,‘आन्दोलनमा घुसपैठ हुन थालेको छ र राजनीतिक रुप लिएको छ।’
हिंसा थप बढ्ने देखेपछि प्रदेश नम्बर ७ का सांसदहरुले समेत प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री रामबहादुर थापालाई संयमता अपनाउन आग्रह गरेका छन्।
जिल्लाबाट गृहमन्त्रालयमा आएको रिपोर्टअनुसार शुक्रबारको आन्दोलनमा घुसपैठ भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।