काठमाडौं– आगामी साता काठमाडौंमा हुन लागेको चौथो बिमस्टेक सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बौद्धस्थित हायात होटलमा रात्रीभोज दिने भएका छन्। उनीहरुलाई गोकर्ण फरेस्ट रिसोर्टमा दिने भनिएको ‘रिट्रिट’ चाही सडक अवस्थाका कारण अन्योलमा छ।
रिट्रिटका लागि गोकर्ण नै सबैभन्दा उपयुक्त बिकल्पमा रुपमा औल्याइएको छ। तर, सडक खण्ड राम्रो नभएकाले निर्णय हुन सकेको छ। यद्यपी सो सडकखण्डमा धमाधम खाल्डो पुर्ने काम भइरहेको छ। पानी नपरे र खाल्डाखुल्डी पुर्ने काम सकिएमा गोकर्णमै रिट्रिट दिने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘रिट्रिट’ बारे निर्णय भइनसकेको बताए।
आगामी १४ गते अतिथिहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले दिवाभोज दिने कार्यक्रम छ। सोही दिन सोल्टी होटलमा उद्घाटन र मन्तब्य कार्यक्रम हुने छ। बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई हायात होटलमा रात्रीभोज दिन लागेका हुन्। पाहुनाहरु सोल्टी होटलमा बस्नेछन्।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, म्यानमारका राष्ट्रपति यू विन माइन्ट नेपाल आउँदै छन्।
त्यस्तै भुटानबाट त्यहाँका प्रधानन्यायधीश लोङपो छिरिङ वाङडचु आउने भएका छन्। उनी कामचलाउ सरकारका प्रमुख सल्लाहकार हुन्। उनले नै हाल त्यहाँ चुनावी सरकारको नेतृत्व गरेका छन्।
पहिलो भिभिआईपी पाहुनामा माइन्ट
बिमस्टेक सम्मेलनका लागि म्यानमारका राष्ट्रपति विन माइन्ट पहिलो भिभिआइपी पाहुना बन्ने भएका छन्। उनी १२ गते नै नेपाल आउने छन्। उनको भ्रमण द्धिपक्षिय समेत हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए।
त्यस्तै १३ गते श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना र भुटानका प्रधानन्यायधीश लोङपो छिरिङ वाङडचु आउने छन्। श्रीलंकलन राष्ट्रपतिको भ्रमण पनि द्विपक्षिय हुने छ। श्रीलंकासँग दुई देशका थिंक ट्याङकबीच सहकार्यको विषयमा सम्झौता हुन लागेको छ। श्रीलङका र म्यानमारका दुवै राष्ट्रपति म्यानमारमा समेत जाने छन्।
त्यस्तै, सम्मेलन सुरु हुने दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा र बंगलादेशी प्रधानमन्त्री शेखर हसिना आउनेछन्। उनीहरुमध्ये भारतीय प्रधानमन्त्री मोदी र थाइल्याण्डका चान–ओचा बिशेष विमानमार्फत आउँनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।