महेन्द्रनगर- भीमदत्त नगरपालिका २ की १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोपीका रुपमा नक्कली अभियुक्त सार्वजनिक गरिएको भन्दै स्थानीयावासीले विरोध प्रदर्शन गरेपछि सरकारले गठन गरेको छानबिन समिति शुक्रवार बिहान महेन्द्रनगर पुगेको छ।
सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहीबार गठन गरिएको पाँच सदस्यीय छानबिन समिति शुक्रवार बिहान काठमाडौंबाट बुद्ध एयरको विमानमा धनगढी हुँदै महेन्द्रनगर पुगेको हो।
सत्यतथ्य छानबिन गरी प्रतिवेदन तयार गर्न १५ दिनको म्याद दिइएको समितिले आजैदेखि छानबिन थाल्ने संयोजक मैनालीले बताए।
उक्त समितिमा तीनै सुरक्षा निकायका एआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक जना प्रतिनिधि छन्।
केही दिनयता महेन्द्रनगरको स्थिति तनावपूर्ण बनेको छ। स्थानीयको विरोध साम्य पार्न प्रहरीले हिजो कर्फ्यु लगाएको थियो। बिहान पाँच बजेदेखि कर्फ्यु हटाइएको छ। कर्फ्यु हटेपछि शान्ति सुरक्षा रणनीति तय गर्न सुरक्षा निकायको निकायको बैठक जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।