काठमाडौैं– कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यासम्बन्धमा विस्तृत छानबिनका लागि समिति गठन भएपछि गृह मन्त्रालयले संयमित भएर सहयोग गरिदिन आग्रह गरेको छ। गृहको विज्ञप्तिमा भनिएको छ, 'स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्य समेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ।’
घटनाको विस्तृत छानबिन तथा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्ने गरी मन्त्रालयका सहसचिव हरीप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक बसन्त बानियाँ र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्य छन्।
गृहको विज्ञप्तिमा भनिएकाे छ, 'राज्य कहिले पनि अपराधी र अपराधमैत्री हुन सक्दैन र भएको पनि छैन। स्थानीय प्रशासन तथा प्रहरीले समग्र नागरिकको जीउधन एवं सार्वजनिक सम्पत्तिको संरक्षण गरी जनजीवनलाई सामान्य बनाई राख्न कानून प्रदत्त अधिकार प्रयोग गर्नु नै पर्ने हुन्छ, स्थितिलाई संयमित बनाइराख्न सहयोग गर्नु सबैको कर्तव्य समेत भएकोले यसमा सबैको सहयोगको लागि गृह मन्त्रालय हार्दिक अपिल गर्दछ।’
समस्याको समाधान शान्तिपूर्ण र विधिसम्मत ढंगबाट हुने नै हुँदा शान्ति सुव्यवस्था कायम राखी थप जनधनको क्षति हुनबाट रोक्न आ–आफ्नो स्थानबाट सहयोग गर्न गृहले आग्रह गरेको छ।
स्थानीयको मागअनुसार गृह मन्त्रालयले जिल्लाका एसपी र सिडिओलाई समेत हटाएको छ। कञ्चनपुरमा नयाँ सिडिओको रुपमा सहसचिव तारानाथ अधिकारी तथा एसपीमा कुबेर कठायतलाई पठाइएको छ। जिल्लाका एसपी दिल्लीराज बिष्ट तथा डिएसपीलाई समेत हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।