धनगढी– प्रदेश ७ को सरकारले कञ्चनपुरमा विकसित पछिल्लो असहज अवस्थामा सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ। मंगलबारदेखि महेन्द्रनगर अशान्त हुदै गएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार प्रदेश सरकारले प्रधानमन्त्री र गृहमन्त्रीसँग विशेष समन्वय गरिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले बताए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले बिहीबार मन्त्रिपरिषद्को बैठकमा कञ्चनपुरको पछिल्लो अवस्थाका बारेमा गम्भीर छलफल भएको बताए।
‘महेन्द्रनगरको पछिल्लो अवस्थाका बारेमा हामी निक्कै संवेदनशील छौं।’, मन्त्री शाहले भने, ‘पछिल्लो अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई अवगत गराउदैं पीडितलाई न्याय दिलाउन उच्चस्तरीय छानबिन समिति गठन गर्न आग्रह गरेका छौँ।’, मन्त्री शाहले भने, ‘यस घडीमा स्थानीयलाई संयमित हुन प्रदेश सरकार विशेष आग्रह गर्दछ।’
अहिले कञ्चनपुरको पछिल्लो परिस्थिती लगायत प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा छलफल गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयया प्रदेश सुरक्षा समितिको बैठक बसिरहेको छ। बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, मन्त्रालयका सचिव शंकर अर्याल, सशस्त्र, जनपथ र राष्ट्रिय अनुसन्धानका डिआइजी, प्रदेशस्थित सुरक्षा अधिकारी र कैलालीस्थित प्रजिअ र प्रहरी प्रमुखको उपस्थिती रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।