म्याग्दी- 'म विद्यालयमा भर्ना भएदेखि धेरैजसो उपस्थित हुन पाइनँ। अब मलाई विद्यालयबाट रेस्ट्रिक्टेट गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।'
यस्तै आसयको निवेदन आइपुग्यो म्याग्दीको बेनी नगरपालिका-६ स्थित जामुनाखर्क माविमा। निवेदन लेखेकी थिइन्, कक्षा ६ मा पढ्ने छात्रा पूजा खत्रीले।
भदौ १ गतेको मितिमा उनले लेखेको निवेदन पढेपछि विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुंगाना स्तब्ध बने। यो खबर सुनेपछि अरु शिक्षक शिक्षिकाका आँखा रसाए। सरकारले माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क गरेको छ। तर एउटी बालिकाको यस्तो निवेदन आउँदा कसको मुटु नचिरिएला!

पछि निवेदन लिएर प्रअ ढुंगाना पुगे वडाध्यक्ष कृष्णबहादुर बानियाँकहाँ। उनको पारिवारिक अवस्था डामाडोल भएको जानकारी गराउँदै सहयोग गर्न ढुंगानाले आग्रह गरे। ‘पत्र पाएपछि म पनि आश्चर्यचकित परेँ,' वडाध्यक्ष बानियाँ भन्छन्, 'उनको परिवार आर्थिक अवस्थाले निकै कमजोर छ। अब सकेको सहयोग हामी गर्नेछौं।'
छात्राले पत्रमा घरमा खाने खर्च र कापी कलम किन्न नसक्ने अवस्था भएको पनि उल्लेख गरेकी छन्।
वडाभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अतिरिक्त शुल्क नलाग्ने भएकाले पढाइमा भने समस्या नहुने प्रअ ढुंगानाको भनाइ छ।
बाबुआमा, वृद्ध हजुरबा र भाइबहिनी भए पनि पूजाको सहारा भनेकै हजुरबा हुन्। बुवाआमाबीच सम्बन्ध चिसिएको छ। बुबा सधैं मदिरामा लट्ठ हुने भएकाले उनले अभिभावकत्वको महसुस गर्नै पाइनन्। जेजति छ, हजुरबाले यताउताबाट जुटाउने सहयोग र वृद्धभत्ता नै हो। पूजाकी आमा पनि बुवासँगको सम्बन्धका घरमा बस्दिनन्।
दुई छाक पेटभरि खान नपाउने बाध्यता, पुरानै विद्यालय पोसाक अनि कापीकलमको अभावले उनको बालमस्तिष्कमा कस्तो चोट परेको होला? सायद सहन गर्न नसक्ने अवस्था आएपछि उनले उक्त निवेदन लेखेकी हुन सक्छिन्। किनकि उनी साउनको अन्तिमदेखि नै विद्यालय जान छाडेकी थिइन्।
‘विद्यालयमा आउन उनका साथीहरुमार्फत बारम्बार भनेका थियौं। तर उनले त साथीमार्फत नै निवेदन पठाइछन्,' प्रअ ढुंगाना भन्छन्।
विद्यालयले भदौ ५ देखि प्रथम त्रैमासिक परीक्षाको तालिका सार्वजनिक गरिसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।