काठमाडौं– कञ्चनपुरकी बालिक निर्मला पन्तकाे बलात्कार र हत्या प्रकरणको गृह मन्त्रालयले छानबिन गर्र्ने भएको छ। बिहीबार ज्ञापनपत्र बुझाउन गएका प्रदेश नम्बर ७ का नेताहरुलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छानबिन समिति बनाउने तयारी भइरहेको बताएका छन्।
घटनालाई सरकारले गम्भीर रुपमा लिएको र त्यसबारेमा आजै केही निर्णय आउने उनको भनाई छ।
नेकपाका १४ जना नेताहरुले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन्। लेखराज भट्ट, निरुदेवी पाल, लक्ष्मणदत्त जोशी, देविलाल चौधरी, डा दिपकराज भट्ट, ओमबिक्रम भाट, विरबहादुर थापा, हरि थपाईली, नन्दबहादुर साउद, रोशनबहादुर खड्का, दिपक तिमल्सिना, योगेन्द्र साउँद, नरबहादुर धामी र बीनादेवी बुढाले ज्ञापन पत्र बुझाएका हुन्।
घटनामाथि प्रहरी अनुसन्धानमा विश्वास नहुँदा आन्दोलन चर्किदै गएको र आन्दोलनले राजनीतिक रुपमा लिएको भन्दै उनीहरुले यथाशिघ्र कदम चाल्न माग गरेका छन्।
स्रोतका अनुसार कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलाई हटाएर नयाँ एसपी पठाउने तयारी भइरहेको छ।
प्रहरीले बलात्कार र हत्या आरोपमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेपनि उनी वास्तविक हत्यारा नभएको मृतकका आफन्तको दाबी छ। बिहीबार भएको आन्दोलनमा प्रहरीले गोली समेत चलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।