कञ्चनपुर– महेन्द्रनगरमा आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले गोली चलाएको छ। गोली लागेर तीन जना घाइते भएका छन्।
बालिका निर्मला पन्तको हत्या र बलात्कारको प्रहरीले निष्पक्ष अनुसन्धान नगरेको भन्दै स्थानीयहरुले मंगलबारदेखि आन्दोलन चर्काएका हुन्। बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि भएको प्रदर्शनमा प्रहरीले सुरुमा अश्रुग्यास चलाएको र पछि गोली हानेको स्थानीयले बताएका छन्। प्रहरीले गोली प्रहारको घटनाबारे केही बोलेको छैन।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षिया पन्तको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। सोमबार प्रहरीले पन्तको बलात्कार र हत्याको अभियोगमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। मानसिक रोगी रहेका व्यक्तिलाई अभियुक्तका रुपमा प्रस्तुत गरेर वास्तविक अभियुक्त जोगाउन खोजेको मृतकका आफन्त र स्थानीयले आरोप लगाएका छन्।
एसपी र सिडिओको सरुवा गरी घटनाको फेरि अनुसन्धान गर्नुपर्ने स्थानीयको माग छ।
प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि जिल्लामा एसएसपी बिक्रम चन्दलाई खटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।