काठमाडौं– लतिलपुरमा चक्कु प्रहारबाट एक युवतीको मृत्यु भएको छ। काभ्रे घर भएकी अञ्जना श्रेष्ठको मृत्यु भएको हो। प्रहरीले उनका प्रेमी राजेन्द्र नकर्मीलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानमा झगडा भएपछि युवती आफैंले चक्कुले हानेर आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ।
घटना ललितपुरको इमाडोलमा बुधबार दिउँसो सवा २ बजे भएको हो। घटना प्रेमी–प्रेमिकाबीचको विवादको परिणाम हो।
युवतीले पटक पटक फोन गर्दा पनि उनका प्रेमी नकर्मीको उठेन। पछि युवतीकै नम्बर नै उनको मोबाइलको ‘ब्लाकलिष्ट’मा राखे।
त्यसपछि अञ्जना डेरामै गइन्। त्यहाँ विवाद भएपछि उनले किचनको चक्कु निकालेर आफ्नै घाँटी तथा कोखामा हानेको युवकको भनाई छ। पछि उनलाई अस्पताल लगिएकोमा मृत्यु भएको हो। उनको हत्या भएको हुनसक्ने कोणबाट पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार दुवै जना विवाहित ह्न। अञ्जनाले सुरुमा चरिकोट घर भएका युवकसँग बिहे गरेकी थिइन्। पछि सम्बन्ध बिग्रिएपछि काभ्रे घर भएका युवकसँग बिहे गरिन्। उनका श्रीमान विदेशमा छन्। एक साताअघि मात्र उनी बनेपाबाट मंगलबारमा डेरा सरेकी थिइन्। उनको एक छोरा समेत छ।
राजेन्द्रको घर बुंमती हो। भूकम्पमा घर भत्किएपछि उनी श्रीमतीसहित इमाडोलमा बस्दै आएका थिए। घटना भएको बेला उनको श्रीमती पनि डेरामै थिइन्।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या जस्तो देखिएपनि विस्तृत अनुसन्धान गरिने महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवाल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।