काठमाडौं- विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अचेत अवस्थाका रहेका बिरामीको परिवारले भोगेको चिन्ता, मानसिक पीडाप्रति सरकार गम्भीर रहेको भन्दै स्वदेशमै उपचारको प्रबन्ध मिलाउने बताए।
'यो संवेदनशील विषय हो, वर्तमान सरकार गठन भएदेखि नै कोमामा रहेका नेपालीलाई स्वदेश झिकाउने पहल भइरहेको छ, यो विषयमा स्वास्थ्य मन्त्रालयसँग पटकपटक छलफल भएको छ। सरकार यस विषयमा अन्त्यन्त गम्भीर छ,' उनले भने।
वैदेशिक रोजगारीमा गएका हजारौँले जीवन गुमाउनु पर्नाको कारण अध्ययन गर्न जरुरी भएको बताउँदै मन्त्री विष्टले सरकारले विज्ञ चिकित्सको टोली गठन गरेर नेपाली कामदारको मृत्युको कारण अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सामान्य अवस्थामा सुतेका श्रमिकको अर्को दिन मृत्यु हुने गरेकाले यसको कारण खोज्नुपर्ने बताए। 'अबका दिनमा यस्ता घटना हुन नदिन श्रमिकहरुलाई सचेत गराउन हामी प्रयत्नशील छौँ,' उनको भनाइ छ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका २३ नेपाली हाल विदेशी अस्पतालको कोमामा छन्। कमाइ गर्ने व्यक्ति नै कोमामा पुगेपछि आश्रीत परिवार आर्थिक तथा मानसिक रुपमा विक्षिप्त हुँदै आएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।