काठमाडौं– आगामी साता काठमाडौंमा हुन लागेको बिमस्टेक बैठकमा उपत्यकाको सडकमा जोर बिजोर प्रणाली लागू गर्ने प्रस्ताव ट्राफिक महाशाखाले गरेको छ। भिभिआइपीहरुको सवारी व्यवस्थापन गर्न जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो।
चार वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा पनि जोर बिजोर प्रणाली लागू गरिएको थियो।
त्यस्तै २ दिन सार्वजनिक विदा दिनेबारे समेत छलफल अघि बढेको छ। १४ र १५ गते सार्वजनिक विदा दिने प्रस्ताव अघि बढेको हो। स्कुलहरु थप केही दिन विदा हुनसक्ने सम्भावना छ। यी विषयहरु हालसम्म छलफलकै क्रममा छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्त बिमस्टेक सम्मेलनको क्रममा जनतालाई पनि धेरै दुःख नहुने र पाहुनाहरुको पनि सहज हुने गरी व्यवस्थापनको योजनाबारे छलफल भइरहेको बताउँछन्।
सम्मेलनको तयारी अन्तिम तयारीमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्। उनीहरुमध्ये भारतका प्रधानमन्त्री मोदी र थाइल्याण्डका प्रधानमन्त्री चान–ओचना १४ गते बिहान चार्टड विमानबाट नेपाल आउँदैछन्। अन्य अतिथि आउने समय टुंगो लागिसकेको छैन।
सम्मेलन सोल्टी होटलमा गर्न लागिएको छ। सबै पाहुनालाई सोही होटलमा राख्ने निर्णय भइसकेको छ।
भोलिपल्ट उनीहरुलाई गोकर्ण फरेस्ट रिसोर्टमा ‘रिट्रिट’ दिने सरकारी तयारी छ। तर, गोकर्णसम्मको सडक अवस्था राम्रो नभएकाले ‘रिट्रिट’ दिने स्थानमा अझै निर्णय भइसकेको छैन। त्यसअघि सडकका खाल्डा पुरिएमा र पानी नपरेका गोकर्ण लैजाने सरकारको तयारी छ।
त्यस्तै, पाहुनालाई पाटन पनि घुमाउन लैजाने योजना बनेको छ। पाटनको सवारीको क्रममा सडक नै खाली गर्नुपर्ने हुन्छ। त्यस्तै, राष्ट्रपतिसँग समेत छुट्टाछुट्टै भेट हुने भएकाले सार्वजनिक विदा दिएरै सडक व्यवस्थापन सहज बनाउन लागिएको हो।
त्यसै त जाम हुने काठमाडौंमा दिनमा पटक पटक रुट खाली गराएर ट्राफिक व्यवस्थापन गर्न धेरै गाह्रो हुने भएकाले सार्वजनिक विदा नै उपयुक्त हुने सुरक्षा अधिकारीहरुको सिफारिस छ।
सम्मेलनमा आउनेमध्ये श्रीलंकाका राष्ट्रपति सिरिसेना र म्यानमारका राष्ट्रपति माइन्टको भ्रमण द्धिवपक्षीय समेत हुने छ। उनीहरुको भ्रमण केही दिन लामो हुने छ। सरकारले टुँडिखेलमा उनीहरुलाई ‘गार्ड अफ अरर’ समेत दिने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।