काठमाडौं– लेखक होम परिवागद्वारा लिखित सामाजिक उपन्यास ‘याद हराएको मान्छे’ र स्वर सम्राट नारायण गोपालबारे लेखिएका पहिलो पुस्तक ‘यात्राहरू नारायण गोपालका’ गरी दुई वटा पुस्तक बजारमा आएका छन्।
तीन दशकअघि लेखक परिवागद्वारा लिखित दुई वटा पुस्तक नेपाल बुक्स् पब्लिशर्सको सोसाइटी बुक्सले पुनः पाठकमाझ बजारमा ल्याएको हो।
नयाँ वर्षको अवसर पारेर गत शनिबार एक कार्यक्रमका बीच साहित्यकार डा. तुलसी दिवस, कथाकार माया ठकुरी, ने.रा.प्र.का. उपकुलपति विमल निभा, वरिष्ठ पत्रकार तथा लेखकहरु ध्रुवहरि अधिकारी, शरदचन्द्र वस्ती, कलाकारहरु विश्व वस्नेत, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, शिव श्रेष्ठ, प्रेमराजा महत, आलोकश्री, विनोद मानन्धर, मोहन निरौला, सुनिल थापालगायत समाजका लब्ध प्रतिष्ठित विद्वान तथा लेखक साहित्यकारहरु माझ उक्त दुई पुस्तक विमोचन गरिएको सोसाइटी बुक्सले जानकारी दिएको छ।
पञ्चायतकालमा नेपाली समाजमा देखिएको सामाजिक, आर्थिक र मनोवैज्ञानिक संरचनालाई उपन्यास ‘याद हराएको मान्छे’मा समेटिएको छ।
पात्रहरु वसन्त, सुनिता खरदार, झनक सिंह, खजुरमैना तथा काजी कर्णविरको मनोविज्ञान, आर्थिक तथा पारिवारिक स्थितिले समाजमा बदलिएको परिस्थितिलाई बुझ्न नसक्दा र देश तथा समाजले वसन्त जस्तो नवजवानलाई सम्भावना र रचनात्मकताका खोजी गर्न प्रेरित गर्ने अवसरहरु नदिँदा एक नवयुवा जोडीले आफ्ना जीवनलाई कसरी बर्बाद गर्न पुगे भन्ने विषयलाई उपन्यासले प्रस्तुत गरेको पाइन्छ।
६०–७० को दशकमा विश्वमा मानवले चन्द्रमामा रकेटसमेत पुर्याइसकेको थियो। नेपालमा भने मानिसहरू व्यक्तिगत मनमुटाव, खानपिन, जाति–गोत्र, विवाह आदिबाट आउने जालझेल र तिकडमलाई नै आफ्ना जीवनका खास व्यस्ताताका कारण बनाउन पुग्दा समाज समग्रमा कसरी पछाडि पर्दो रहेछ भन्ने इतिवृत्तिलाई व्याख्या गर्न पनि उपन्यासका ३९ च्यापटरहरु प्रस्तुत भएका छन्।
तीन सय पेज समाहित उपन्यासको छपाइ तथा प्रस्तुति आकर्षक र मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएको छ। उपन्यासलाई विसं २०५० सालपछि जन्मिएका युवायुवतीलाई ज्ञान, प्रेम र प्रेरणाको निम्ति उपयुक्त रहेको उपन्यासकार परिवाग बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।