विराटनगर– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालतको आदेशमा छुटेका दुई प्रहरीलाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको छ।
उच्च अदालत विराटनगरले प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णु बहादुर खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो। उनीहरुलाई छाड्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय मोरङ उच्च अदालत गएको थियो।
जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले जेठ ८ गते प्रहरी हवल्दार थापालाई साधरण तारेख र र प्रहरी जवान विष्ण बहादुर खड्कालाई १५ हजार धरौटीमा छोडन आदेश दिएका थिए ।
उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले मंगलबार खड्का र थापालाई थुनामा राखेर कारबाही गर्न आदेश दिएको हो। खड्का निलम्बन एसएसपी श्याम खत्रीको सवारी चालक हुन् भने थापा बडिगार्ड थिए। उनीहरुले प्रहरीसँगको बयानमा आफुहरुले सुन पास गरेको स्वीकारेका थिए। अदालतमा भने बयान फेरेका थिए।
सुन तस्करी प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौलासहित एसएसपी खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र संजय राउत तथा सइ बालकृष्ण सञ्जेल पुर्पक्षका लागि कारागारमा छन्। उनीहरुले सुन तस्करीमा चुडामणि उप्रेती ‘गोरे’को समूहलाई सघाएको तथा सनम शाक्य हत्यामा मुख्य अभियुक्तलाई जोगाएको आरोप छ।
त्यस्तै, उच्च अदालतले थुनामा राख्नेविरुद्ध अपिल गरेका हेमन्त गौतम, राजन थापा, महावीर प्रसाद गोल्यान, टेकराज मल्ल ठकुरीको हकमा जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।