काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई प्रदेशसभा डुलेर उपदेश दिने काम छाड्न आग्रह गरेका छन्।
आज संसदमा बोल्दै थापाले प्रधानमन्त्रीलाई गर्नुपर्ने काम गर्न सुझाव पनि दिए। 'म प्रधानमन्त्रीज्युलाई आग्रह गर्छु– प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस्। अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस्', उनले भने, 'प्रधानमन्त्रीज्यु, गर्नुपर्ने काम गर्नुस्।'
थापाले प्रधानमन्त्रीको व्यक्तिगत अन्योलले संघीय प्रणालीको भविष्यमा नै अन्योल सिर्जना गरेको आरोप लगाए।
'झापा निवासी कम्युनिस्ट नेता खड्गप्रसाद ओलीज्युलाई संघीयताको सन्दर्भमा संवैधानिक प्रबन्ध अनुपयुक्त थियो, यो चल्दै चल्दैन भन्ने धारणा राख्ने सुविधा छ', थापाले भने, 'के तर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो सुविधा छ? कदाचित छैन। तर दुर्भाग्य! प्रधानमन्त्रीको संघीयताको अरुचिले सिर्जना गरेको व्यक्तिगत अन्योलले संघीय प्रणालीको भविष्यमा नै अन्योल सिर्जना गरेको छ।'
थापाले करको यो कोलाहलमा प्रधानमन्त्रीलाई संघीय सरकारको जिम्मेवारीको सामान्य हेक्का पनि नरहेको बताए।
'संविधानले प्राकृतिक स्रोत तथा वित्तीय आयोगको व्यवस्था गरेको छ। यो आयोगमा नियुक्ति किन नगरेको? राजनीतिक नेतृत्व नदिइकन ऐन बनाउँदा हामीले त्रुटिपूर्ण र कमजोर ऐन बनाएका छौं। सरकारले तत्काल आयोगमा नियुक्ति गरेर यो ऐनमा भएको कमजोरीलाई सच्याएर नियमावली बनाएर यो अनुरुपको कामलाई अगाडि बढाउनुपर्ने ठाउँमा कर्मचारीको आदेशमा समस्याको समाधान खोज्दैछ। के प्रधानमन्त्रीज्युलाई यो आयोगको महत्त्व थाहा छ', थापाले प्रश्न गरे।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई कुनकुन क्षेत्रमा कर लगाउने निर्धारण गरेको पनि सरकारले नियमावली नल्याएका कारण अहिले समस्या आएको थापाले बताए। 'नियमावली खै? नियमावली मात्रै भएको भए अहिलेको थुप्रै समस्या आउँदै आउँदैनथ्यो। कर केमा लगाउने? ऐनले भन्यो। कसरी लगाउने? नियमले भन्थ्यो। यो समस्या आउँदैनथ्यो', थापाले भने।
'जसले सबैभन्दा बढी राजस्व उठाउँछ, त्यो सबैभन्दा सफल अर्थमन्त्री। जसले सबैभन्दा बढी बाँड्छ, त्यो सबैभन्दा सफल अर्थमन्त्री। सफलताको यस्तो मानक केन्द्रीय सरकारले बनाएर यही मानकलाई पछ्याउनुपर्छ भनिसकेपछि स्थानीय सरकारले के गर्छ', थापाले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।