काठमाडौं– सरकारले विभिन्न ८ संवैधानिक आयोगको गठन प्रक्रिया अघि बढाएको छ। संवैधानिक परिषद्को सचिवालयले ८ संवैधानिक निकायका अध्यक्ष तथा सदस्य खुल्ला प्रतिष्पर्धाबाट नियुक्त गर्ने कार्यका लागि सूचना प्रकाशित गरेको छ।
नयाँ संविधान जारी भएपछि व्यवस्था भएका संवैधानिक आयोगहरुमा ४० जना पदाधिकारी नियुक्त गर्नुपर्ने छ। उक्त पदका लागि योग्यता पुगेका व्यक्तिहरुको रोष्टर तयार गर्नका लागि सरकारले सूचना प्रकाशित गरेको हो।
सूचनामा योग्यता पुगेका उम्मेदवारहरुलाई संवैधानिक परिषद्मा आवेदन दिन आग्रह गरिएको छ। सूचना जारी भएको ७ दिनभित्र आवेदन दिन सकिने छ।
हाल ८ संवैधानिक निकायमा अध्यक्ष र सदस्य नियुक्त गर्नुपर्ने छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगका लागि उम्मेद्वार माग गरिएको परिषद् सचिवालयले जनाएको छ।
उम्मेदवारहरुले अनलाइनमार्फत् आवेदन दिनसक्ने व्यवस्था मिलाएको छ। अनलाइनमार्फत आवदेन दिनका लागि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा गएर संवैधानिक परिषद्को लिंकमा गई आफूले चाहेको पदमा दरखास्त आह्वान गर्न सकिने परिषद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।