रसुवा– रसुवाको टिमुरेमा निर्माणाधिन एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ। सोमबार बिहान ३ बजे आयोजनाको मुख्य सुरुङ ब्रेकथ्रु भएसँगै सुरुङ निर्माणको काम सम्पन्न भएको हो।
सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेशनले निर्माण सुरु गरेको तीन वर्षमा आयोजनाको ४ हजार १ सय ८४ दशमलव ५ मिटर सुरुङ निर्माणको काम सम्पन्न गरेको रसुवागढी जलविद्युत आयोजनाका आयोजना प्रमुख छबि गैरेले बताए।
दोस्रो अडिटबाट तल तथा तेस्रोबाट माथि पर्ने २ हजार ३ सय ३ मिटर लामो खण्ड २ हजार ९ सय ५ मिटर बिन्दुमा पुगेर टुंगिएपछि आयोजनाको मुख्य सुरुङ छेडिएको गैरेको भनाइ छ। मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिरको १ हजार ८ सय ८२ मिटर खण्ड गत वैशाख ६ गते पूरा भएको उनले बताए।
निर्माण सम्पन्न भएको सुरुङमा ठेकेदारले अब ढलानको काम सुरु गर्ने आयोजनाले जनाएको छ। अब ६ महिनामा ठेकेदारले ढलान पूरा गरेर हस्तान्तरण गर्ने बताइएको छ।
भूकम्प, नाकाबन्दी र बाढीपहिरोले काममा अवरोध पुर्याउँदै आएको भए पनि पछिल्लो समय तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्ने गरी कार्य भइरहेको गैरेले बताए।
२०७० मंसिरदेखि निर्माण कार्य सुरु भएको आयोजनाको ६७ प्रतिशत काम सकिएको छ। आयोजनाका अनुसार टेलरेस सुरुङको काम ७५ प्रतिशत र भूमिगत विद्युतगृहको काम ४५ प्रतिशत काम सम्पन्न भएको छ। वर्षासँगै आएको बाढीले बाँध भत्किएका कारण पानीको सतहभन्दा माथि रहेको इन्टेकमा काम भइरहेको छ। पानीको बहावमा कमि आएपछि 'अन्डर स्लुप'को काम अघि बढ्ने आयोजनाले जनाएको छ। भूमिगत विद्युतगृहमा खन्ने काम तथा सपोर्टको काम सकाएर कंक्रिट राख्ने काम भइरहेको बताइएको छ।
२०१९ डिसेम्बरसम्ममा तीन ओटै युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ।
यो आयोजनाबाट वार्षिक ६ सय १३ दशमलव ८७ गेगावाट विद्युत उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सबा करोड आम्दानी हुने छ।
२०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न सकिएको थिएन। भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए।
आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने २ सय २० केभी चिलिमे हव सवस्टेसनमा जोडिने छ। सवस्टेसनसम्मको १० किलोमिटर प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्दै छ।
प्रसारण लाइन निर्माण गर्ने जिम्मा मुडबरी एन्ड जोशी कम्पनीलाई दिइएको छ। निर्माणाधिन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।