काठमाडौं– कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा पक्राउ परेका छन्। अनुगमनमा गएका सरकारी टोलीलाई नियन्त्रणमा लिएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।
आज बिहान अनुगमनका लागि कालिमाटी फलफूल तथा तरकारी बजार पुगेको सरकारी टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले नियन्त्रणमा लिएका थिए।
कालिमाटीमा करिब एक दर्जनको संख्यामा रहेका उपसचिवसहितको अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले बजारभित्रै थुनेर राखेका थिए।
अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोध गरेपछि बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको थियो।
हाल कालिमाटी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सचिव, आपूर्तिका महानिर्देशक, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका छन्।
प्रहरीले अध्यक्ष खतिवडालाई पक्राउ गरेपछि बजार क्षेत्रका व्यवसायीहरु भने तितरवितर भएका छन्।
बिहान करिब ३ बजे कालिमाटी फलफूल तथा तरकारी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक टोली अनुगमनका लागि पुगेको थियो।
तरकारीमा बिचौलियाको उपस्थिति शून्यमा झार्ने लक्ष्यसहित उक्त टोलीले विभिन्न स्थानबाट कसरी तरकारी भित्रन्छन् भन्ने सम्बन्धमा अनुगमनका लागि त्यहाँ पुगेको हो। सो क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रकसमेत नियन्त्रणमा लिएको थियो।
दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ।
तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन्। हाल कालीमाटी तरकारी तथा फलफूल बजारको अवस्था अशान्त रहेको बताइएको छ।
पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।