काठमाडौं– ‘छक्का पञ्जा–४’ प्रदर्शन हुनुअघि कलाकार दीपाश्री निरौलाले भनेकी थिइन्, ‘यसपालि फिल्मले आम दर्शकसँगै समीक्षकको पनि माया पाउँछ।’ यसर्थ फिल्मलाई माया गरेरै हलसम्म त पुगियो। तर फिल्मले हलबाट निराश बनाएर फर्कायो।
‘दीपक–दीपा’ ब्यानरको सातौं फिल्म हो यो। तर, ‘छ एक्कान छ’ देखि ‘छक्का पञ्जा४’सम्म आइपुग्दा गल्तीहरू सातौं पटक नै दोहोरिएका छन्। दोहोरिएका मात्र छैनन्, थपिएका छन्। बरु अघिल्ला फिल्महरूमा त मुद्दा थिए। तर ‘छक्का पञ्जा–४’को अन्त्यसम्म फिल्मको ‘न्यारेटिभ’ के हो प्रष्ट हुँदैन। जब कमजोर पटकथाको जगमा फिल्मको निर्माण हुन्छ, सबै पात्रहरूको उपस्थिति कमजोर भइदिन्छ।
फिल्मको केन्द्रीय पात्र हुन् द्विग्विजय (दीपकराज गिरी)। उनका बुबा निर्भय सिंह (नीर शाह) निष्पक्ष पार्टीका अध्यक्ष हुन्छन्। छोरा द्धिग्विजयचाहिँ मिटरब्याजी ‘गुण्डा’का रुपमा परिचित। उनलाई राजनीतिसँग दिलचस्पी छैन।
संघीय संसदको चुनावको नजिक एकदिन निर्भय सिंह अचानक ढल्छन्। उपचारबाट फर्कँदा उनी बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छन्। चुनावमा टिकट कसलाई दिने? यसको अधिकार निर्भय सिंहसँग हुन्छ। उनले आफ्नो छोरातर्फ संकेत गर्छन्। त्यसपछि सुरु हुन्छ द्विग्विजयको राजनीतिक यात्रा।
फिल्मको कथा यहीँबाट अगाडि बढ्नुपर्ने हो। तर दर्शकलाई न सिनले विश्वस्त बनाउँछन्, न घटनाक्रमले आकर्षित। निर्देशकले के भन्न खोजेका हुन्, प्रष्ट हुन्न।
राजनीतिक विषयवस्तुमाथि फिल्म बनाएता पनि कथामा देखाइएको राजनीतिक परिवेश फितलो लाग्छ। समाजकाे वास्तविकतालाई सतही ढंगले प्रस्तुत गरिएको प्रतित हुन्छ।
फिल्ममा हुने चुनाव कुन भूगोलको हो, चित्र प्रष्ट छैन। भूगोलमा समुदाय हुन्छन्, समुदायको पहिचान हुन्छ। त्यो महसुस दर्शकले गर्न पाउँदैनन्। पात्रले चुनाव कहाँ लड्दैछ, निर्देशक प्रष्ट छैनन्।
द्विग्विजय सुदूरपश्चिमेली लवजमा बोल्छन्। तर त्यो लवजकै ठट्टा गरेजस्तो लाग्छ। उनका बालसखाहरूको लवजचाहिँ विल्कुल भिन्न छ। उनीहरू गाउँमा सँगै हुर्किएका हुन् भन्ने कुरा फ्ल्यासब्याकको सिनबाट त भनिन्छ। तर, पात्ररूको पृष्ठभूमिसँग वर्तमान परिस्थितिको सम्बन्ध कतै पनि जोडिएको देखिन्न।
द्विग्विजय सांसदको चुनाव लड्न गाउँ जान्छन्। तर फिल्मले चुनावी माहोलको महसुस नै गराउन्न। प्रतिनिधि सभाको चुनाव हो कि वडाको, माहोलले स्पष्ट पार्दैन।
चुनावका विकृतिहरूलाई पस्कन खोज्दाखोज्दै पनि कला पक्षचाहिँ फितलो लाग्छ।
चुनाव जिताउन द्विग्विजयलाई बालसखा बुद्धि (बुद्धि तामाङ) र सञ्जेल (केदार घिमिरे)लाई ठूलो महत्वका साथ देखाइएको छ। तर फिल्ममा उनीहरूको महत्व कतै पनि ‘जस्टिफाइ’ हुन्न। चुनावको क्रममा सरकारी स्कूलभन्दा बोर्डिङ राम्रो हो भन्ने भाष्य निर्देशकले स्थापित गर्न खोजेका छन्।
बुद्धिको घरमा द्विग्विजय पुग्दा उनले ‘छोरालाई सरकारी हैन, बोर्डिङ स्कूल पढाउनुपर्छ’ भन्ने संवाद बोल्छन्। त्यसले निजी स्कूललाई प्रसय दिएको भान हुन्छ।
‘मिटरब्याजी गुण्डा’का रुपमा चिनिएका द्विग्विजय सांसद भएपछि चर्चामा आउँछन्। कर्मचारीतन्त्रको समस्या देखाउन खोज्दाखोज्दै पनि निर्देशकले नेताको अराजक प्रवृत्तिलाई प्रशय दिएको प्रतित हुन्छ। उनले द्विग्विजयलाई अनिल कपुर स्टारर नायक फिल्मको ‘हिरो’को रुपमा प्रस्तुत गर्न खोजेका छन्।
‘भाइरल’ प्रवृत्ति अहिलेको नेपाली समाजको समस्याको रुपमा छ। व्यवस्थाप्रति निराश भइरहेका आम जनता नायकत्वमा विश्वास गरिरहेका छन्। द्विग्विजय भ्रष्ट कर्मचारी र समयमा काम नगर्नेहरूलाई कुटपिट गरेर चर्चामा आउँछन्। ‘स्टन्ट’बाटै उनले लोकप्रियता कमाइरहेका छन्।
सिस्टम सुधार्न व्यक्तिको अराजक प्रवृत्तिलाई निर्देशकले कतै न कतैबाट ठीक हो भन्ने बुझाइ प्रस्तुत गर्न खोजेका छन्। समग्रमा द्विग्विजयका कमजोरी ढाकछोप गरेर उनको महानता नै प्रस्तुत गर्न खोजेका छन्।
दीपकराज गिरीले अघिल्ला शृंखलामा जस्तै सुदूरपश्चिमेली लवजलाई बिगारेका छन्। फिल्म हेरिरहँदा लाग्छ, कुनै सिनहरू जबर्जस्ती राखिएका छन्। जहाँ पात्रको भूमिका वा आवश्यकता नै महसुस हुन्न।
फिल्ममा महिलालाई ‘डोमिनेट’ गर्ने संवाद र दृश्यहरू छन्। जबर्जस्ती कमेडीका रुपमा महिलाद्वेषी संवादहरू प्रयोग गरेर भद्दा जोक बनाइएको छ। रुक्मिणी सिंहलाई (दीपाश्री निरौला) द्विग्विजयको गुणवती पत्नीका रुपमा चित्रण गरिएको छ। उनी श्रीमान्को गुण्डागर्दीमा पनि आँखा चिम्लिदिन्छिन्।
युट्युवर एलिसा (वेनिशा हमाल)को चरित्रलाई गलत रुपमा स्थापित गरिएको छ। द्विग्विजयसँग बदलाका लागि एलिसाले जुन कदम उठाउँछिन्,त्यसले महिलाको चरित्रलाई नै नकरात्मक देखाउन खोजिएको छ।
जब ‘राजा’ केन्द्रमा हुन्छ, त्यहाँ लैंगिक, जातीय र सामाजिक विभदेजस्ता कुराहरू सतहमा देखा पर्छन्। फिल्मले दीपकराजलाई ‘राजा’ बनाएर नजानिँदो ढंगले समाजका अन्य पक्षलाई कमजोर रुपमा प्रस्तुत गरेको छ।
फिल्ममा कलाकारका अभिनयबाट पनि ‘कन्भिन्स्ड’ हुन सकिन्न। केदार घिमिरेको अभिनयमा कुनै नयाँपन छैन। ‘माग्ने बुढा’ चरित्रकै पुनरावृत्ति छ। बुद्धि तामाङको अभिनयमा विविधता छैन। ‘हैट्’कै पुनरावृत्ति छ।
पात्रको चरित्र विकासमा दीपकराजको मिहिनेत देखिन्न। केवल संवादको भरमा बुझिदिनुपर्ने हुन्छ। तुलनातमक रुपमा दीपाश्रीको अभिनयमा भने केही पृथकता पाउन सकिन्छ।
नीर शाह फिल्मका अधिकांश दृश्यमा बोल्दैनन्। उनको ‘एक्सप्रेसन’ भने प्रशंसनीय नै छ। बेनिशाको भने अभिनयमा मिहिनेत देखिन्छ। टेलिशृंखला ‘तीतो सत्य’मा दीपक–दीपाका छोरा पात्र राज आचार्य यसपटक फिल्ममा पनि छोरा छन्। उनको भूमिका पनि उति महत्वका साथ प्रस्तुत हुँदैन।
फिल्मले समसामयिक विषय उठाउन खोजेझैं त लाग्छ, तर छरपस्ट कथाले गन्तव्यको नै भेउ पाउँदैन।
कुनै पनि पात्र स्थापित छैनन्। यो फिल्म हेरेर फर्कँदा न कुनै पात्रले गहिरो छाप छाड्न सक्छ, न दृश्यले। २ गीतले माहोल तताउने र मान्छे नचाउने भन्दा बढी कुनै उत्साह फिल्मले दिँदैन। त्यसकारण दीपक–दीपाको ‘छक्का पञ्जा–४’ दोहोरिएका कमजोरीहरूको व्यापार मात्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।