काठमाडौं– आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमाससम्ममा एनएबी बैंक र कुमारी बैंकले खुद मुनाफा बढाएका छन् भने नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको खुद मुनाफामा गिरावट आएको छ।
एनएमबी बैंकको खुद मुनाफा २३ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७४/०७५ मा नेपाल एनएमबी बैंकले खुद मुनाफा १ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा २३ दशमलब ५५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ४६ करोड ७३ लाख रुपैयाँ कमाएको थियो।
चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको सन्चित कोषमा ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। १ अर्ब १६ करोड रुपैयाँ मात्रै सापटी लिएर चलाएको यो बैंकले गत वर्षसम्ममा ८४ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेर ७५ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
बैंकले असार मसान्तसम्ममा २ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलब ५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ८ प्रतिशतले घटेर शून्य दशमलब ८८ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ २६ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको भन्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ २ पैसाले घटेको हो।
कुमारी बैंकको नाफा ४३ प्रतिशतले बढ्यो
कुमारी बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब १४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा ४२ दशमलब ९९ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष बैंकले ७० करोड ३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
७ अर्ब १६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ६९ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेर कर्जामा ६२ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेको छ। त्यस्तै बैंकले २ अर्ब ६६ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ।
बैंकको खुद ब्याज आम्दानी ४२ दशमलब ८१ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
बैंकको निष्कृर्य कर्जा शून्य दशमलब ५ प्रतिशतले घटेर १ दशमलब ०१ प्रतिशतमा झरेको छ। बैंकको प्रतिसेयर आम्दानी भने २ रुपैयाँ २५ पैसाले बढेर १३ रुपैयाँ ९८ पैसा पुगेको छ।
एनसीसी बैंकको नाफा १९ प्रतिशतले घट्यो
४ अर्ब ६७ करोड ९८ हजार रुपैयाँ चुक्ता पुँजी भएको नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले आर्थिक वर्ष २०७४/०७५ मा १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १९ दशमलब १४ प्रतिशतले घटेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकले ६३ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५५ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खुद मुनाफा ३३ दशमलब ६२ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा खुम्चिएको छ। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
बैंकको निष्कृर्य कर्जा ३ दशमलब ८९ प्रतिशत रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलब ९१ प्रतिशतले घटेको हो। बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५१ पैसा रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ४६ रुपैयाँ १२ पैसाले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।