काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तर्गत सबै ८ राष्ट्र सम्मिलित प्रविधिक कमिटिको बैठक आगामी सेप्टेम्बर १४ गते काठमाडौंमा हुने तय भएको छ।
सार्क मुलुकबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको एउटै मापदण्डसहित निर्माण भएको मस्यौदालाई पूर्णता दिन बैठकको आयोजना गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
सार्क राष्ट्रबाट विदेशिने श्रमिकको मापदण्डसहित मस्यौदा निर्माण ६ महिनाअघि नै सकिएको थियो। तर, यी राष्ट्रका प्राविधिक कमिटीका प्रतिनिधिको बैठक समयमा बस्न नसक्दा साझा मापदण्डले पूर्णता नपाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए।
नेपालमा भएको १८औं सार्क सम्मेलनमा आप्रवासनको विषय उठेपछि सार्क राष्ट्रका एक–एक जना प्रतिनिधिसहितको एउटा समिति गठन भएको थियो। उक्त समितिको अध्यक्षता नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले गरेको थियो।
सार्कको अध्यक्षता गरिरहेको नेपालले आप्रवासी कामदारको सुरक्षासम्बन्धी मस्यौदा तयार गर्ने जिम्मेवारी समेत पाएका कारण उक्त मस्यौदालाई पूर्णता दिन महत्वपुर्ण भूमिका पनि नेपालकै रहने उनको भनाइ छ।
सार्कबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको पारिश्रमिक, मानवअधिकार, स्वास्थ्य र सुरक्षा लगायत विषयमा यी मुलुकको एउटै स्वर बनाउने उद्देश्यले मस्यौदा निर्माण गरिएको हो।
पाकिस्तानमा तय गरिएको १९औं सार्क सम्मेलन भारत र पाकिस्तानबीच जारी विवादका कारण रोकिँदा उक्त सम्मेलनमा पेस गर्ने तयारी गरिएको मापदण्डले पूर्णता नपाएको मन्त्रालयको भनाइ छ।
यस बैठकले सार्कप्रति उत्तरदायी र सक्रिय बनाइराख्न सबै ८ राष्ट्रहरुलाई सुझावसमेत दिने बताइएको छ।
बैठकमा सार्क राष्ट्रका श्रम विज्ञ, माइग्रेसन क्षेत्रमा काम गर्ने विभिन्न संघसस्था सहभागी हुने छन्।
‘कोलोम्बो प्रोसेस’को बैठक पनि नोभम्वर १५ र १६ मा काठमाडौंमा हुने श्रम मन्त्रालयले जानकारी दिएको छ। ‘कोलोम्बो प्रोसेस’मा नेपालसहित १८ राष्ट्र सदस्य छन्। यसमा माइग्रेसनका विषयमा योजना र छलफल हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।