काठमाडौं– कवि प्रकाश गुरागाईंको कविता संग्रह ‘खुट्टामा श्रीपेच’ले आम मान्छेको विद्रोह बोलको छ। किनाराकृत मान्छेको मुद्दा उठाएको छ। साहित्यमा मात्र हैन, पत्रकारितामा पनि उनी आम मान्छेकै आवाज बुनिरहेका त हुन्थे।
४ वर्षअघि। एकदिन एउटा झिल्को आयो प्रकाशको मस्तिष्कमा, ‘इतिहास पनि त आम मान्छेको आँखाबाट लेखौं न।’ त्यो झिल्को इतिहासकै गर्तमा पुरिन लागेको नयाँ सडकका कथाबारे थियो।
सुनिरहने नाम– पिपलबोट।
कुनै समय कवि, लेखकका एक मात्र जङ्क्क्सन।
साहित्यिक वृत्तमा फैलिरहेका व्यापक किस्साहरू कुनै समय त्यही पिपलबोटबाटै जन्मिएको थियो। एकाध लेखहरू पढेका पनि थिए प्रकाशले।
‘पुरानो पिपलबोट कस्तो थियो होला?’ उनको कल्पनामा अमूर्त आकृति मडारिइरह्यो। साइकल चढेको पनि चर्चा हुने युग। कवि लक्ष्मी प्रसाद देवकोटाको रिले साइकल पनि चर्चित थियो त्यसबेला।
कसैले भन्थे– राणशासनविरुद्धको विद्रोह सुरु भएको ठाउँ। कविता क्रान्तिदेखि विभिन्न आन्दोलनको प्रारम्भ भएको ठाउँ।
एकदिन उनी मूलपानीस्थित लेखक नारायण ढकाल निवास पुगे। ‘दाइ पिपलबोट, नयाँ सडकको विषयमा किताब लेख्ने सोच आयो। किताब बन्न सक्छ कि सक्दैन बताइदिनुपर्यो,’ उनले ढकाललाई भने।
प्रकाशको कन्सेप्ट सुनेर खुसी भए नारायण। भने, ‘बन्छ, राम्रो किताब बन्छ। गज्जब कन्सेप्ट हो। काम गरौं।’
त्यो बसाइमा नारायणले प्रकाशलाई राजनीतिसँग जोडेर नयाँ सडकबारे भने, गुप्तचरका विषयमा सुनाए। ‘उहाँले च्याप्टर च्याप्टर गरी विषयहरू छुट्याइदिनुयो। त्यसपछि त सक्छु जस्तो लाग्यो,’ प्रकाश भन्छन्।
सुरुमा उनले २०/२२ जनासँग भेटे। नयाँ सडकका इतिहास खोतले। एकदिन चर्चित फोटो पत्रकार मितरत्न बज्राचार्यसँग भेट भयो प्रकाशको। मिनरत्नले उनलाई न्यूरोड डुलाए। ‘त्यतिबेलासम्म न्यूरोडको भाग कता छन् थाहा थिएन मलाई,’ उनी भन्छन्।
त्यही क्रममा प्रकाशले पुरानो फोटो पत्रकार श्रीधरलाल मानन्धरलाई भेटे। प्यारालाइसिसले थलिएका श्रीधरलालले पुराना न्यूरोडका फोटो देखाए। राजा कसरी त्यो बाटो भएर आउँथे, सुनाए।
मिनरत्नले राणाका घरहरू देखाइदिए।
त्यतिबेला नयाँ सडकबारे सुनेका एउटा किस्सा सम्झन्छन् प्रकाश। पहिलो कालपत्रे सडक थियो नयाँ सडक। तर सडकको एक भागमा मात्र गरिएको थियो कालपत्रे। ‘किन रहेछ भने राणाको रिसल्लाको तबेला नयाँ सडकमा थियो। चिल्लो बनायो भने घोडाको टाप र बग्गीको चक्का चिप्लिन्छ भनेर एक साइडमा मात्र गरिएको रहेछ,’ प्रकाश सुनाउँछन्।
बुझ्दै र अध्ययन गर्दै जाँदा रमाइलो त भयो। तर पुराना पुस्तक भेटिनै गाह्रो। उनी पुराना पुस्तक पसल धाउन थाले। जब आफूले खोजेका दुर्लभ किताब पाउँथे, विछट्टै खुसी हुन्थे।
०००
किताबमा काम गर्दै जाँदा कोरोनाकाल सुरु भयो। भेट्नुपर्ने थुप्रै मान्छे थिए। भेट ठप्प हुने अवस्था आयो। ४० प्रतिशत लेखिसकेका थिए। बाँकी अगाडि बढाउनुअगावै उनमा ‘फ्रस्टेसन’ पैदा भयो।
कतिपय भेट्नैपर्ने मान्छेको घरमा जाँदा गेटै खुलेन। निराश भएर बाहिरबाटै फर्किनुपर्यो। कतिपयले गेट खोले।
तर प्रवेश निषेध!
कोभिडकै समयतिर, उनले पुरुषोत्तम शमशेर जबरालाई भेटेका थिए। ९६ वर्षका जबरालाई भेट्न दिन पनि परिवार मानिरहेको थिएन। ‘मैले जिद्दी गरेर भेटेँ। फर्कँदा पछुतो लागिरह्यो, यदि मेरो कारण उहाँ संक्रमित हुनुभयो भने!’
किताबमा डुब्दाडुब्दै प्रकाश एकोहोरिएछन्। उनले आफू बाहिरी संसारबाटै अलग्गिएको अनुभूत गरे। ‘म त कविता लेख्ने मान्छे, यसमा काम गर्नुअघि कथा लेखिरहेको थिएँ। ती सबैबाट अलग्गिएजस्तो अनुभूत भयो। त्यसपछि मैले नयाँ सडकलाई बिसाएँ,’ उनी भन्छन्।
त्यो बीचमा प्रकाश पुरानै लयमा फर्किए। कविता लेखे, कथा लेखे।
०००
३ महिनापछि, दयारामभक्त माथेमाको एउटा किताब भेटे, ‘अनुभव र अनुभूति।’
नयाँ सडमा राजा त्रिभुवनले जनसेवा हल दयारामभक्तलाई बकस दिएको प्रसंगदेखि, हल जलेका घटनाहरू पढे। किताब पढेपछि पुनः प्रकाशले सम्झिए, आफूले थन्क्याएको काम।
त्यसपछि पुनः उनले पाइला अघि बढाए। र सिध्याइछाडे।
९० वर्षअघि सहरको छेउमा पर्ने ठाउँ थियो नयाँ सडक। तर साहित्य, राजनीतिक सबै कुराको केन्द्र थियो त्यो।
आन्दोलन जन्माउने ठाउँ, जहाँका भट्टीबाट कविता क्रान्ति जन्मिए, क्रान्तिकारी जन्मिए। तिनै विद्रोह र क्रान्तिको कथा बोकेको नयाँ सडकलाई प्रकाशले शब्दमा कुँदेका छन्। ४ वर्षको मेहेनतपछि ‘जङ्क्सन पिपलबोट’लाई आजबाट फिनिक्स पब्लिकेशनमार्फत् सार्वजनिक गर्दैछन् प्रकाश।
तर कविता संग्रह आउँदा जतिको हलुका अनुभुति भएको छैन उनलाई। केही कुरा छुटे जस्तो, केही कुरा पुगेनजस्तो लाग्ने। ‘हुन त ९० वर्षको इतिहास ३ सय पेजमा कहाँ अडिन्छ र। जनताको इतिहास हो, यतिले त पुग्दैन,’ प्रकाश भन्छन्।
०००
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।