काठमाडौं– वर्तमान संसद् र सत्ता राजनीतिको केन्द्रमा झापाली नेताहरुमो वर्चश्व रहेको छ। सत्ता सञ्चालनका लागि गठित उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर– ५ बाट निर्वाचित सांसद हुन्।
त्यस्तै, सिंगो प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुख पदमा झापा क्षेत्र नंबर २ का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। घिमिरे बिहीबारमात्र प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका हुन्।
त्यस्तै, प्रतिनिधि सभाको उपसभामुख पनि झापाले नै पाउने लगभग निश्चित देखिन्छ।
उपसभामुखका लागि शनिबार प्रतिनिधि सभामा निर्वाचन हुँदैछ। उक्त पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले प्रतिस्पर्धा गर्दैछन्।
राना सत्ता साझेदारकी साझा उम्मेदवार रहेकीले उनै उपसभामुख हुनेमा लगभग निश्चित छ। राना रास्वपाकी समानुपातिक तर्फकी सांसद हुन्। उनी झापा अर्जुनधारा नगरपालिकाकी स्थायीबासी हुन्। रोचक त के छ भने सभामुख घिमिरे र राना एउटै नगरबासी हुन्।
यस्तै, वर्तमान सरकारमा शक्तिशाली उपप्रधानमन्त्री तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत हुन्।
यीसहित झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा ३२ सांसद निर्वाचित भएका थिए। प्रतिनिधि सभामा ५ वटा क्षेत्र, प्रेदश सभामा १० वटा गरेर १५ जना सांसद प्रत्यक्ष निर्वाचित र १७ जना सांसद समानुपातिकबाट सांसद भएका छन्।
१७ मध्ये प्रतिनिधि सभामा ७ र प्रदेश सभामा १० सांसद समनुपातिकबाट निर्वाचित भएका हुन्।
प्रतिनिधि सभामा प्रत्यक्षतर्फबाट निर्वाचित सांसद :
झापा १ : विश्वप्रकाश शर्मा– शर्मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका छन्।
झापा २ : देवराज घिमिरे
झापा ३ : राजेन्द्र लिङ्देन
झापा ४ : लालप्रसाद (एलपी) सावाँ
झापा ५ : केपी शर्मा ओली
यस्तै, प्रतिनिधि सभातर्फको समानुपातिकमा सरिता प्रसाईँ, कालुराम राई, सुनीता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी सांसद बनेका छन्। यस्तै, इन्दिरा रानामगर र निशा डाँगी पनि सांसद रहेका छन्।
यसैगरी, प्रदेश १ का मुख्यमन्त्री झापा ५ (१) बाट निर्वाचित एमाले सांसद हिक्मत कार्की भएका छन्। कार्की निर्वाचित क्षेत्र प्रतिनिधि सभातर्फ पार्टी अध्यक्ष ओलीकै निर्वाचन क्षेत्र हो।
अर्को रोचक पक्ष के छ भने प्रदेश १ को प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सांसद उद्धव थापा पनि झापाबाटै प्रतिनिधित्व गर्छन्। थापा समानुपातिक तर्फका सांसद हुन्। उनी कांग्रेस १ का कांग्रेस सभापति पनि हुन्।
प्रदेश सभाको प्रत्यक्षतर्फ निर्वाचित सांसदमा :
झापा १ (१) : कांग्रेसका गोपाल तामाङ र (२) राप्रपाकी सविना बजगाईँ
झापा २ (१) : एमालेका एकराज कार्की र (२) तिलचन पाठक
झापा ३ (१) : कांग्रेसका भूमिप्रसाद राजवंशी र (३) एमालेका छविलाल चुडाल
झापा ४ (१) : एमालेका राधाकृष्ण खनाल र (२) राप्रपा भक्तिप्रसाद सिटौला
सिटौला राप्रपा प्रदेश १ का संसदीय दलका नेता तथा वर्तमान सरकारका बिना विभागीय मन्त्री हुन्।
झापा ५ (१) : हिक्मत कार्की, र (२) होमबहादुर थापा
यस्तै, प्रेदश सभामा समानुपातिक तर्फबाट कमला थापामगर, तारादेशी ढकाल, नम्बरलाल धिमाल, उद्धव थापा, मोहन महर्जन, लखीकुमारी गणेश, बन्दना झाँगडा, निमसरी राजवंशी, अम्बरबहादुर विष्ट, र गोपालबहादुर विश्वकर्मा रहेका छन्।
झापाकै ओली शक्तिशाली हुँदा ‘झापाली’लाई ज्यादा अवसर
अध्यक्ष ओलीकैै चाहनाअनुरुप संघ र प्रदेश १ मा सरकार र संसद्मा झापालीको वर्चश्व रहेको एमालेकै केही नेताले भन्ने गरेका छन्।
अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रलाई रोज्ने क्रममा झापालीबाहेक अन्यलाई विश्वास गर्न नसकेकाले सभामुख र मुख्यमन्त्रीजस्ता महत्वपूर्ण पदमा झापाबाहेक अन्यले अवसर नपाएको एमालेका एक नेताले आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।