काठमाडौं– मोरङका विजय सापकोटा बाल्यकालबाट कृषि पेशामा रुचि राख्थे। कक्षा आठमा पढ्दा उनले बा आमाको सहयोगमा कुखुरा फार्म खोलेका थिए। कुखुरा पालनबाट राम्रै आम्दानी थियो।
विजयले च्याउखेतीबारे छिमेकी भाइबाट सुनेका थिए। सुन्ने बित्तिकै उनलाई च्याउ खेतीमा रुचि बढ्यो। प्लस टु पढ्दापढ्दै च्याउखेती गर्ने तयारीमा लागे।
पराल प्रशस्त थियो। परालमा च्याउको बिउ रोपेपछि पानी हालिदिए मात्र पुग्ने। ‘मल पनि राख्नु नपर्ने सजिलै च्याउ खेती गर्न सकिने भएकाले यही गर्छु भन्ने लाग्यो,’ उनी भन्छन्।
विसं २०६८तिर आफ्नै गाउँमा प्रतिप्याकेट ४० रुपैयाँ दरले एक सय प्याकेट च्याउको बिउ किनेर खेती सुरु गरे। त्यतिबेला गाउँमा च्याउखेती हुँदैनथ्यो।
उनले उत्पादन त गरे, तर बजार थिएन। त्यतिबेला मान्छेहरू च्याउ खान पनि डराउँथे।
‘टोलटोलमा डुलाएर बिक्री गरियो। च्याउमा विष हुन्छ भन्ने भ्रम थियो। विस्तारै बुझ्दै गएपछि ग्राहक बढ्न थाले। अनि च्याउको बजार फस्टायो,’ उनी भन्छन्।
पहिलो पटक एक सय प्याकेट बिउ रोपेका थिए उनले। त्यसबाट पाँच सय केजी च्याउ उत्पादन भयो। फेरि त्यही ठाउँमा खेती गरे। पटकपटक खेती गर्दा उत्पादन क्रमशः घट्दै पो गयो।
‘किन घटेको रहेछ भन्नेबारे अहिले थाहा भयो। च्याउखेती एउटै ठाउँमा छिटोछिटो लगाउनु नहुने रहेछ। नयाँनयाँ ठाउँमा लगाउँदा उत्पादन वृद्धि हुने रहेछ भन्ने लाग्यो,’ उनी भन्छन्।
उनी च्याउको बजार खोज्दै काठमाडौं पसे। काठमाडौं आएपछि उनले चार जना साथीसँग मिलेर नख्खिपोटमा घर भाडामा लिए। फेरि च्याउका बिउ उत्पादन गर्न थाले। एक महिनापछि लगानी छाडेर उनी हिँडे। त्यतिबेला कमाउने भन्दा रमाउनेतिर लाग्ने साथी भएपछि कमाइ गर्न नसकेको अनुभव छ उनको।
उनी मोरङ फर्किए। साथीले च्याउको बिउ उत्पादन गर्थे। उनले एक विघा जमिन लिएर मोरङमै च्याउ खेती गरे। तर च्याउ फार्ममा आगलागी भयो। उनको फार्मको बीमा पनि थिएन।
फेरि निराश भएर उनी काठमाडौ फर्किए।
काठमाडौंमा नयाँ साथी भेटे। ती साथीहरूले च्याउ उत्पादनमा लगानी गर्ने लगाउने सहमति गरे। फेरि त्यहाँ पनि फाइदा नदेखेपछि उनले एक महिनामै छाडेर हिँडे।
च्याउ खेतीबाट असफल भएको भान भयो। त्यसपछि उनको तयारी कोरिया जानमा भयो। एक पटक कोरियन भाषाको परीक्षा पनि दिए। तर नाम निस्किएन। नाम ननिस्किएपछि केहीदिन निराश भए। फेरि सोचे, ‘अब यतै अडिग भएर काम गर्छु।’
फेरि उनले अर्कासाथी भेटे। ती साथीसँग मिलेर भक्तपुरमा कोठा भाडामा लिए। च्याउको बिउ उत्पादन गरे। त्यतिबेला पनि घाटा नै भयो।
त्यसपछि अर्को प्रयास पनि च्याउ खेतीमा भयो। त्यसपछि बालाजुमा बिउ उत्पादन गर्ने काम गरे। त्यहाँबाट भएको आम्दानीबाट उनको चित्त बुझेन। ‘त्यहाँबाट पनि दीर्घकालीन हुँदैन जस्तो लाग्यो,’ उनी सम्झन्छन्। साथीहरूको समूहमा गर्ने काम नफापेपछि उनी निस्किए त्यहाँबाट।
त्यसपछि उनले ललितपुरको इमाडोलमा घर भाडामा लिएर सानो लगानीबाट आफ्नै व्यवसाय सुरु गरे। फार्मको नाम राखे आफ्नै नामबाट– ‘विजय कृषि फार्म’।
फार्ममा आवश्यक सामाग्रीहरू चिनेजानेकासँग उधारोमा लिए। अहिले उनको फार्ममा च्याउको बिउ उत्पादन हुन्छ। च्याउको बिउबाट राम्रो आम्दानी हुन थाल्यो।
यसअघि जति पनि असफल भए, उनलाई त्यसबाट सिकाइ भयो। निकै व्यक्तिहरूसँग सम्बन्ध जोडियो।
त्यसले यसपटकको व्यवसाय गर्न सहज वातावरण मिल्यो। २ वर्षअघि पकेट खर्चबाट सुरु गरेको व्यवसायले अहिले २ करोडको पुँजी निर्माण गरेको छ। उनी मासिक दुई लाखसम्म कमाइ हुने बताउँछन्।
अहिले व्यावसायिक रुपमा ठूलो परिमाणमा च्याउको बिउ उत्पादन गर्नेमध्ये आफ्नो फार्म पाचौं स्थानमा गनिने विजय बताउँछन्। उनले बिउ उत्पादनका लागि १० जना कामदार राखेका छन्।
उनको फार्ममा विभिन्न प्रकारका च्याउको बिउ उत्पादन हुन्छ। जसमध्ये सबैभन्दा बढी प्रचलित मध्येका च्याउ कन्य (पाते), डल्ले, सिताके, दुधे, गानोडर्मा, यार्सागुम्बा आदि उत्पादन गर्छन् उनी।
बिउ उत्पादन गर्न आवश्यक सामाग्रीहरू भारत, क्यानडादेखि ल्याउँछन्। फार्ममा बिउ उत्पादन दैनिक तीन सयदेखि पाँचसयसम्म हुन्छ। नेपालभरि कम्तिमा चार सय च्याउ फार्मबाट बिउ बिक्री हुने गर्दछ।
व्यवसाय गर्दा एक पटक कृषि अनुदान लिन कृषि मन्त्रालय गएका पनि थिए विजय। सरकारले कृषि क्षेत्रमा अनुदान दिन्छ भन्ने सुनेका थिए। उनका अनुसार एक करोड लगानीमा फार्म खोल्दा ५० लाख रुपैयाँ सरकारबाट अनुदान लिन मिल्ने व्यवस्था रहेछ।
तर उनले अनुदान पाएनन्। किन त?
‘कृषकलाई यो अनुदान प्राप्त गर्न असहज छ। अनुदान लिन जाँदा कर्मचारीले ५० प्रतिशत लिएर शतप्रतिशत दिएको रेकर्ड राख्छन्। कृषकले अनुदानवापत् एकदमै कम पाउँछन्। कर्मचारीले सेटिङ मिलाएर अन्त्यमा किसानलाई फसाउँछन्। त्यो बुझेर मैले अनुदान लिइनँ,’ उनी गुनासो गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।