काठमाडौं– नेपाल सरकारद्वारा स्थापित नीति अध्ययन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा बिष्णु राज उप्रेतीले आइतबार पोखरामा भएको विमान दुर्घटनाप्रति इंगित गर्दै सार्वजनिक बिदा दिएर मात्र यस्तो घटनामा मनोवैज्ञानिक न्याय नहुने जनाएका छन्।
आफ्नो फेसबुक पोस्टमा डा उप्रेतीले लेखेका छन्, ‘एकातर्फ जेमा पनि सार्वजनिक बिदा घोषणा गर्दा आर्थिक रुपमा थलिएको रास्ट्रलाई थप भार मात्र पर्दछ भने अर्को तर्फ यो बिदाको दिन त हो भनि मानिसहरुले यो घटनाका व्यक्तिहरुलाई सम्झने काम गर्ने भन्दा पनि अरु काममा लाग्ने र यो हवाई दुर्घटनामा परि दिवंगत भएका व्यक्तिहरुलाई मानिसहरुले विशेष सम्मान नगर्ने पनि उत्तिकै सम्भावना छ। त्यसैले यो अकल्पनीय घटनामा दिवंगत भएका मानिसहरुको सम्झनामा शोक मनाउन बिदा होइन कार्यालयहरुमा आधा झण्डा झुकाउने, दिवंग आत्माको चिर शान्तिको कामना गर्ने, उनीहरुको सम्झनामा कुनै दीर्घकालसम्म सम्झाउने स्मारक वा पार्क बनाउने, यो घटनाको सहि छानबिन गरी भविष्यमा यस्ता घटना न्यूनीकरण गर्ने सुनिस्चितता गर्ने र कार्यालयहरु नियमित संचालन गर्नु नै उचित हुन्छ। यतातिर किन ध्यान नदिएको होला?'
त्यस्तै सुरक्षित सडक यातायात सम्बन्धी एकजना अभियानकर्ता गोविन्द भट्टराईले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘हे प्रिय सरकार तिमीले दिने बिदा त हो, अरु के नै सक्छौ र! त्यसमै तिम्रो पनि त भलाई छ। सुरक्षित, दिगो, भरपर्दो र व्यवस्थित यातायात त हामी अबोध जनताको सपना न हो।’
‘राम्रो नजीर नबस्ने चिन्ता’
नेपाल लाइभसँग कुरा गर्दै बेलायतको वेस्ट अफ इङ्गल्याण्ड विश्वविद्यालयसंग आवद्ध एकजना अनुसन्धानकर्ता डा पुस्पराज पन्तले हवाई दुर्घटनामा शोक जनाउन सार्वजनिक बिदा दिने प्रचलनले राम्रो नजीर नबस्ने चिन्ता व्यक्त गरे।
‘के अब जति पटक हवाई दुर्घटना हुन्छ त्यति नै पटक राज्यले सार्वजनिक बिदा दिने हो? हामीलाई बिदा हैन, घटनाको निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी फेरि यस्ता दुर्घटना नदोहोरिने सुनिश्चितता चाहिएको छ।’
साथै उनले हवाई र स्थल यातायात सुरक्षित बनाउन सरकारले के–कस्तो नीतिगत सुधारको योजना ल्याउँदैछ त्यसबारे नागरिकलाई सूचित गर्न माग गरे।
डा पन्तले राज्यले विमान र सार्वजनिक सवारी दुर्घटनामा निधन हुनेहरुप्रति भेदभाव गर्ने गरेको गुनासो पनि गरे। उनले भने, ‘नेपालमा हरेक चार दिनमा सडक दुर्घटनामा झन्डै ७२ जना नेपालीको ज्यान गैरहेको छ, तर सडक यातायात सुरक्षित गर्नेतर्फ राज्यको ध्यान गएकै छैन। त्यसैले सार्वजनिक बिदा दिएर सस्तो लोकप्रियता खोज्ने काम उचित होइन।’
युरोपेली संघले नेपाली वायु सेवाहरुलाई युरोपेली आकाशमा उड्न लामो समयदेखि लगाइरहेको प्रतिबन्ध हटाउनेबारे पुनर्विचार गरिरहेको साथै नेपालमा कोभिडपछि पर्यटन क्षेत्र तंग्रिदै गएको बेला भएको यो विमान दुर्घटनाका सम्भावित असरहरुलाई लिएर विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन्।
आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको नाइनएन–एएनसी, एटीआर–७२ ५०० विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।
दुर्घटनामा ६८ यात्रु र ४ जना चालकदलका सदस्य गरी ७२ जना सवार थिए। विमान दुर्घटनामा परेकामध्ये ६८ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।