काठमाडौं– ‘महेशजी, तपाईंको आयु ४० वर्ष मात्र हो,’ वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटाले यसो भनिरहँदा टाउकोभरि बमका छर्रा बोकेका महेशकुमार महरा (सुधीर) ले लामो आयु बाँच्छु र देशका लागि केही गर्छु भन्ने आस मारिसकेका थिए।
यतिबेला महेशको उमेर ४३ वर्ष पुगेको छ। ‘म स्वर्गीय डा. देवकोटाले तोकेको आयुभन्दा ३ वर्ष बढी बाँचिसकें’, महेशले हाँस्दै भने, ‘खुसी हुनु नै मेरो जीवनको संकल्प हो।’ उनको हाँसो भने पीडा मिश्रित देखिन्थ्यो।
माओवादी सशस्त्र युद्धका क्रममा घाइते भएका उनी ५ वर्षदेखि राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालमा अपाङ्ता भएका व्यक्तिको कोटाबाट राष्ट्रिय सभामा चुनिएका महेशको कार्यकाल अझै १ वर्ष बाँकी छ।
०००
२०६२ साल फागुन १४ गते। त्यतिबेला महेश माओवादी आन्दोलनमा होमिएका थिए। उनको कार्यक्षेत्र पाल्पा थियो। पाल्पाको धरमपानीमा माओवादी र राज्यपक्षबीच दोहोरो भिडन्त भयो। ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीतिअन्तर्गत नेता र कमाण्डरहरुको क्षेत्र परिवर्तन भइरहन्थ्यो। त्यसैको सिलसिलामा उनी डडेलधुराबाट पाल्पामा आएका थिए। उनी पार्टीको पाल्ला जिल्ला कमिटी सदस्य (डीसीएम) समेत थिए।
राज्यपक्षका सुरक्षाकर्मीले हेलिकोप्टरबाट फायरिङ गरे। माथिबाट खसेका बमका टुक्रा टाउकोभरि परे। जमिनमा पनि भिडन्त चलेकै थियो। दुई गोली महेशको दायाँ खुट्टामा लाग्यो भने माथिबाट खसेको बमको छर्राले शरीरको सबै भाग छिन्नभिन्न भयो।
विद्रोही पक्षबाट वीरभान चौधरीको कमाण्डमा भिडन्त भइरहेको थियो। आफूसँग आएका साथीहरु को कता गए भन्ने उनले पत्तो पाएनन्। कति घाइते भए र कति मानवीय क्षति भयो, त्यो पनि थाहा भएन।
महेश जमिनमा ढले। अर्धचेत अवस्थामा उनलाई कमाण्डर चौधरीले तानेर अर्को साइडमा लगेर राखेको मात्र स्मरणमा छ। श्रीमती सपना पनि सँगै थिइन्। सपना पहिला जनकलाकारको रुपमा सामना परिवारमा आबद्ध थिइन्। सपना र महेशले भूमिगतकालमै जनवादी विवाह गरेका थिए।
गोली र बम लागेर सख्त घाइते भएका महेशलाई पार्टीले त्यहाँबाट उपचारका लागि भारतको लखनउस्थित जीवनज्योति अस्पताल लगेर भर्ना गर्यो। अस्पतालमा २८ दिनपछि उनको होस आयो।
परिवारमा कुनै खबर थिएन। श्रीमती सँगै थिइन्। उपचार गरेर खुट्टाको गोली निकालियो। अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्ज भएपछि कहाँ जाने कुनै ठेगान थिएन। त्यहाँबाट बलयगाडा चढेर कैलाली आइपुगेको उनी सम्झन्छन्।
महेशले ५ वर्षसम्म ह्विलचियरको सहायतामा जीवन धाने। शान्ति सम्झौता भयो। टाउकोमा छर्रा बोकेका महेशको जिब्रोमा प्रष्ट बोली थिएन। लामो समय बोल्न सकेनन्। आत्मविश्वासका कारण विस्तारै बोल्न सक्ने भए।
युद्धका क्रममा घाइते भएपछि ५ वर्षसम्म घरमै थन्किएका महेश विगत १७ वर्षदेखि औषधिको सहारामा बाँचिरहेका छन्। टाउकोमा ७ वटा छर्रा छन्। दिमागको पनि झिल्ली (गिद्धी) भित्र छर्रा छ।
‘संसारका कुनै पनि अस्पतालमा टाउकोका छर्रा निकाल्न सकिँदैन भनेका छन्,’ महेश भन्छन्, ‘बायाँ हात पनि चलाउन मिल्दैन। उमेर बढ्दै जाँदा झन्झन् ससमस्या देखिन थालेको छ। चिसोमा टाउको निकै दुख्छ। कुनै खालको तनाव लिनु हुँदैन। दुःख दबाएर बाँकी जीवन जिउनुको विकल्प छैन।’
महेश यतिबेला माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। बेलाबेला फलोअपमा जान्छन्। सांसद भइसकेपछि राज्यले उपचार गर्छ। उनले पटकपटक विदेश गएर उपचार गर्ने पहल गरे। चिकित्सक बसन्त पन्तको सल्लाहअनुसार नै औषधि लिइरहेका छन्।
बमका छर्रा बोकेर उनी राष्ट्रिय सभामा छन्। उनी भन्छन्, ‘म बाहिरबाट हेर्दा ठिकठाक देखिन्छु। तर मानसिक र शारीरिक रुपमा निकै गाह्रो छ।’ सशस्त्र युद्धका घाइते महेश अहिले संसद्मार्फत न्याय खोजिरहेका छन्।
नेवि संघ हुँदै सशस्त्र युद्धमा भूमिगत
महेशको जन्म २०३८ सालमा डडेलधुराको आलिताल गाउँपालिका– ३, भुमडा गाउँमा भएको हो। परिवारमा आमा बुबा र ४ दाजुभाइ छन्। उनी कान्छा हुन्। मध्यमवर्गीय कृषक परिवारका उनले गाउँकै दूर्गा माविमा १० कक्षासम्मको अध्ययन गरे।
१० कक्षापछि घरमा जागिर खाने दबाबका कारण पढाइलाई समेत निरन्तरता दिन भन्दै महेश राजधानी छिरे। प्रमाणपत्र तहमा भृकुटीमण्डपमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्ययन सुरु गरे।
डडेलधुरा नेपाली कांग्रेसका हालका सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत भएकोले त्यतिबेलै गाउँघरमा कांग्रेसको प्रभाव बढी थियो। महेशको परिवार पनि कांग्रेसनिकट थिए। जसको निरन्तरताको स्वरुप नेवि संघमा आवद्ध भए उनी। नेवि संघको प्रारम्भिक समितिमा रहेर कलेजमा विद्यार्थी राजनीति पनि गरे।
२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। त्यसैताका उनको भेट माओवादीका देवेन्द्रराज पराजुलीसँग भयो। जसले उनलाई माओवादीमा लाग्न प्रेरित गर्यो। विस्तारै माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए। पढ्दापढ्दै महेश २०५८ पछि भूमिगत भए। भूमिगत भएपछि राज्यको आँखाको तारो बन्न थाले। काठमाडौं बस्ने वातावरण भएन। नेवि संघबाट सुरु गरेको राजनीतिक यात्रा सशस्त्र युद्धतिर मोडियो। उनी माओवादीको जिल्ला कमिटी हुँदै अहिले प्रदेश कमिटी सदस्य छन्।
आन्दोलनका घाइतेको पक्षमा खै कानुन?
राष्ट्रिय सभा पूर्ण रुपमा समावेशी थलो हो। जहाँ सबै समुदाय, वर्गका मान्छे छन्। यसले प्रतिनिधि सभालाई सुझाव मात्र दिँदैन, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर काम गर्छ। यो स्थायी सांसद पनि हो। सबैको कानुन निर्माणका लागि बहस छलफल हुन्छ। ‘आन्दोलनका घाइते, अपांगका पक्षमा कानुन खै?’, महेश प्रश्न गर्छन्।
उनका अनुसार संसद् भवन पूर्ण रुपमा अपाङ्गमैत्री छैन। यस विषयमा उनले संसदमा आवाज पनि उठाएका छन्। ‘सदनमा त पूर्ण रुपमा अपाङ्गमैत्री संरचना छैनन् भने अन्य ठाउँ कस्तो होला?,’ उनको गुनासो छ।
अपाङ्गता भएका व्यक्तिका लागि केही ऐन छन्। तर देश र जनताका लागि बलिदान गर्ने घाइते तथा अपाङ्गहरुका लागि भने कुनै ऐन नबनेको उनी बताउँछन्।
परिवर्तनका लागि विभिन्न चरणमा आन्दोलनमा होमिएर घाइते तथा अपाङ्ग भएका व्यक्तिका लागि सम्बोधन गर्ने कुनै कानुन नहुनु आफैंमा दुखद महेशको भनाइ छ। ‘म यो व्यवस्थाका लागि लडेको हुँ। आफैं अन्यायमा परेका बेला कहाँ न्याय माग्ने?’, उनी प्रश्न गर्छन्। अपांगमैत्री कानुन निर्माण गर्न सदनभित्रै दबाब समूह चाहिने उनको ठम्याइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।