पछिल्लो समय विद्युत् सेवा व्यापक रूपमा विस्तार भएको छ। लगभग देशका सबै पालिकामा विद्युत् पुगेसँगै विद्युतीय दुर्घटनामा परेर जनधनको क्षति हुनेदेखि मृत्युसम्म हुने गरेको छ। तर विद्युत् जस्तो जोखिमयुक्त क्षेत्र कुनै पनि प्रकारको बीमामा समावेश भएको छैन।
प्रस्तुत छ, विद्युत विस्तारसँगै बढेको विद्युतीय दुर्घटना, क्षतिपूर्ति तथा बिमा लगायतका विषयमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग नेपाल लाइभका सुरेन्द्र बजगाईंले गरेको कुराकानी:
पछिल्लो समय विद्युतजन्य दुर्घटनाहरु बढेको देखिन्छ। यस्तो किन भयो?
सर्वसाधारणले हाम्रो वितरण लाइनको तारमा छोएर पनि दुर्घटना भएको अवस्था छ। त्यस्तो दुर्घटना कम गर्नका लागि हामी नाङ्गो तार हटाउँदै आएका छौं। यस्तै अहिले धेरै ठाउँमा इन्सुलेटर केबल बिछ्याउँदै आएका छौं।
कहिलेकाहीँ कर्मचारी नै दुर्घटनामा पर्ने गरेको पाइन्छ। कतै आगलागी हुँदा ती स्थानमा तत्काल काम गर्दा कर्मचारी दुर्घटनामा परेको देखिन्छ। यस्तै सब-स्टेसनमा आगलागी भएर पनि कर्मचारीहरू दुर्घटनामा पर्ने गरेका छन्। त्यस्ता दुर्घटनाहरू कम गर्नका लागि काम गर्दै आएका छौं। यस्ता दुर्घटना निर्मूल नै गर्न नसकिए पनि केही हदसम्म कम भने भएको छ।
सर्वसाधारणको हकमा भने जनचेतनाको कमी भएकाले पनि दुर्घटना भएको पाइएको छ। जनचेतना नहुँदा मानिसहरू घरभित्र नै करेन्ट लागेर अङ्गभङ्ग हुनेदेखि ज्यान नै गुमाउनु परेको कुरा सबैलाई थाहा नै छ।
यता, तराईका केही स्थानमा विद्युतीय दुर्घटनाको संख्या केही बढी देखिन्छ। त्यसो हुनुको कारण खोज्दै जाँदा ती स्थानमा ‘हुकिङ’ गरेर विद्युत चोरी हुने गरेको पाइयो। हाई भोल्टेजको तारमा विद्युत् चोरी गर्न ‘हुक’ प्रयोग गर्दा करेन्ट लागेर मृत्युसम्म हुने गरेको छ।
अर्को कुरा, प्राय: ठाउँमा हाम्रो मापदण्ड अनुसार वितरण लाइन भएको स्थानदेखि साढे दुई मिटर नजिक घर-टहरा बनाउन पाइँदैन। तर अहिले विद्युतको लाइन नजिकै घर बनाइदिने वा लाइनमुनि नै बनाउने गरेको पाइन्छ।
विद्युतको लाइनमुनि भएका घरको तला थप्दा पनि रडले छोएर दुर्घटना भएका केस धेरै आउने गरेका छन्। हामीले घरमाथि नै लाइन तान्ने गरेका छैनौं तर लाइनमुनि घर-टहरा बनाउने गरेकाले धेरै दुर्घटना हुने गरेको छ। विद्युत् प्राधिकरणको मापदण्डलाई पालना नगर्दा पनि धेरै दुर्घटना हुने गरेका छन्।
विद्युतीय दुर्घटनाको तथ्याङ्क हेर्दा प्राधिकरणका कर्मचारीहरु धेरै दुर्घटनामा परेको पाइयो। किन प्राधिकरणका ‘वेल ट्रेन्ड’ कर्मचारीहरूको नै मृत्यु र अङ्गभङ्ग भएको हो?
विद्युतको काम गर्ने कर्मचारीले विद्युत् बहिरहेको अवस्थामा पनि काम गर्नुपर्ने अवस्था छ। त्यस्तो अवस्थामा कारणवश तारमा छोइयो भने दुर्घटनामा पर्ने सम्भावना हुन्छ।
मेन्टिनेन्सको काम गर्दा विद्युत् सर्ट पनि हुन्छ। तर टेक्निकल मान्छेले डाइरेक्ट लाइनमा नछोए पनि विभिन्न कारणले दुर्घटनामा पर्ने गरेका छन्। त्यस्तो दुर्घटना कम होस् भनेर हामीले विभिन्न प्रकारका ट्रेनिङहरू दिइनै रहेका हुन्छौं। कहिलेकाहीँ मेन्टिनेन्समा जाँदा लाइभ लाइनमा छुने अवस्था रहेको छ।
कहिलेकाहीँ हाम्रो पोल प्रयोग गरेर बिछ्याइएको केबल मर्मत गर्ने क्रममा प्राधिकरणको नाङ्गो तारमा छोएर पनि दुर्घटनामा पर्ने गरेका छन्।
अहिले पोलमा ठूला-ठूला तारका अव्यवस्थित गुजुल्टाहरू देखिन्छन्। त्यही कारणले पनि आगो लाग्ने गरेको छ। त्यसैले हाम्रोभन्दा पनि सर्भिस प्रोभाइडरको कारणले दुर्घटना भएको देखिन्छ।
हाम्रा कर्मचारीहरूले विद्युत् वितरणमा समस्या हुँदा ‘सट डाउन’ अर्थात् विद्युत् प्रवाह बन्द गरेर काम गर्ने गरेका छन्। तर कहिलेकाहीँ झुक्किएर एउटामा भनेकोमा अर्कोको सट डाउन भएर पनि दुर्घटना भएको हो। तारहरू नजिक नजिक रहेका हुन्छन्। कर्मचारीहरू काम गर्ने सिलसिलामा एउटा तार भनेर अर्को तार छुँदा दुर्घटनामा पर्ने गरेका हुन्। जानी-जानी त कसले तार छुन्छ र?
यसरी दुर्घटनामा परेकाहरुको उपचार, क्षतिपूर्ति र भरण पोषणको लागि प्राधिकरणले वार्षिक कति रकम खर्च गर्ने गरेको छ?
प्राधिकरणको विनियमले घाइतेको उपचार गर्ने र मृत्यु भएका मानिसको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख गरेको छ। हामीले त्यो विनियम अनुसार नै काम गर्दै आएका छौं।
कर्मचारीको हकमा चाहिँ मृत्यु हुनेको परिवारलाई ५ लाख अथवा परिवारको एक सदस्यलाई रोजगारी दिने कुरा उल्लेख गरिएको छ। हामीले त्यस अनुसार नै काम गर्दै आएका छौं।
कर्मचारी मृत्यु भएको हकमा क्षतिपूर्ति कम भएन र?
हामीले विनियम अनुसार काम गर्ने हो। त्यो विनियम २०६९ सालमा नै बनेको हो। त्यसलाई समयसापेक्ष बनाउन जरुरी देखिएको छ। त्यसलाई परिवर्तन गर्न काम काम गर्दैछौं।
दुर्घटनामा पर्नेहरूको तेस्रो पक्ष बीमा किन नगर्नु भएको? बिमा नगर्दा त क्षतिपूर्ति कम पाउने भए नि!
अहिले स्थायी कर्मचारी ९ हजार हाराहारी छन्। यस्तै ज्यालादारी र कन्ट्र्याक्ट राखिएका गरी १४ हजारभन्दा धेरै कर्मचारी देशभर रहेका छन्।
त्यस्तो दुर्घटनामा थर्ड पार्टी इन्स्युरेन्स गर्नेभन्दा पनि हामी आफैंले व्यहोर्ने गरेका छौं। किनभने, कर्मचारीको संख्याअनुसार बीमा रकम एकदमै धेरै हुन्छ। त्यो बीमामा तिर्नुभन्दा हामीले नै व्यहोर्छौ भनेका हौं। विनियम अनुसार क्षतिपूर्ति कम भएको पक्कै हो। त्यो संशोधन गर्दैछौं।
हामीले एक जनाको १० लाखको मात्रै बीमा गर्ने हो भने पनि धेरै जना कर्मचारीको बीमा बापत रकम धेरै बुझाउनु पर्छ। त्यो भन्दा हामीलाई डाइरेक्ट पैसा तिर्न सस्तो पर्छ। त्यही भएर हामीले इन्फ्रास्टक्चरको बीमा गर्दा पनि धेरै नै खर्च हुन्छ। त्यो भन्दा आफैंले क्षतिपूर्ति तिर्दा सहज हुन्छ।
यस्ता दुर्घटना कम गर्नको लागि प्राधिकरणले कार्यक्रम अगाडि सारेको छ?
पहिलो कुरा, हामीले आफ्नै कर्मचारीहरूलाई सेफ्टी र सेक्युरिटीको बारेमा तालिम दिँदै आएका छौं। विद्युतीय लाइनमा काम गर्दा आवश्यक पर्ने सामग्रीहरू पनि दिँदै आएका छौं।
यस्तै, सर्वसाधारणको हकमा विभिन्न माध्यमबाट सूचना दिँदै आएका छौं। हामीले जिङ्गल बनाउनेदेखि डकुमेन्ट्रीमार्फत विद्युतीय सुरक्षाको बारेमा जानकारी दिँदै आएका छौं। मह जोडीसँग मिलेर काम पनि गर्दै आएका छौं।
यस श्रृंखलाभित्र
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।