सुर्खेत- करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/०७५ मा अघिल्लो आवको तुलनामा ४८ दशमलव ६ प्रतिशतले बढी राजस्व संकलन गरेको छ।
आर्थिक वर्ष २०७३/०७४ मा ३६ करोड ७१ लाख ७० हजार २ सय ३६ रुपैयाँ संकलन गरेकोमा गत आवमा ५४ करोड ५७ लाख १७ हजार ७ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको हो। कार्यालयले आव २०७०/०७१ मा १० प्रतिशत, २०७२/०७३ मा २५ प्रतिशत र ०७३/०७४ मा ३२ प्रतिशतले राजस्व संकलनमा वृद्धि गरेको थियो।
जिल्लामा बढ्दो व्यवसायीकरण, नियमित बजार अनुगमन, कार्यालयले गरेका कर शिक्षाको सचेतना, करदातामा आएको कर सम्बन्धी जागरण, कार्यालयको प्रभावकारी सक्रियताका कारण राजस्व संकलनमा उल्लेखीय वृद्धि हुँदै आएको करदाता सेवा केन्द्र सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले बताए।
कार्यालयले आयकर, बहालकर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, शिक्षा सेवाशुल्क, स्वास्थ्य सेवाशुल्क र विविध शिर्षकमा राजस्व संकलन गरेको हो।
यस अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व आयकर शीर्षकमा रु ३५ करोड ३२ लाख ४८ हजार संकलन गरेको छ। यसैगरी मूल्य अभिवृद्धि करमा १३ करोड ३६ लाख १६ हजार, बहाल करमा २ करोड ७० लाख २७ हजार, ब्याजकरमा २ करोड ४ लाख १३ हजार, अन्तशुल्कमा ६८ लाख १७ हजार, स्वास्थ्य सेवा शुल्कमा ४० लाख, शिक्षा सेवा शुल्कमा ५ लाख ७७ हजार र अन्य शीर्षकमा १८ लाख राजस्व संकलन गरेको हो। कार्यालयलाई आव ०७४/०७५ मा आन्तरिक राजस्व कार्यालय नेपालगन्जले राजस्व संकलन लक्ष्य रु ५० करोड ९१ हजार ५७ लाख १७ हजार दिएकोमा लक्ष्यको तुलनमा थप ९ प्रतिशत राजस्व संकलन गरिएको कर अधिकृत ढकालले बताए।
थपिए करदाता
राजस्व संकलनमा वृद्धिसँगै सुर्खेतमा हरेक वर्ष नयाँ करदाता थपिने क्रम जारी रहेको छ।
गत आर्थिक वर्ष २०७४/०७५ मा आयकरमा १७२ जना, अन्तशुल्कमा ४२ जना, मुल्य अभिवृदि करमा १६ जना गरी नयाँ २३० जना करदाता थपिएका छन्। योसँगै नियमित रुपमा कर तिर्ने करदाताको संख्या १६ हजार ६४ जना पुगेको ढकालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।