काठमाडौं– ३६ वर्षपछि अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेपछि यो बेला अर्जेन्टिनी जनताको खुसी सीमा छैन।
मंगलबार कतारबाट विश्वविजेता टोली फर्किएपछि ४० लाखभन्दा बढी मानिस राजधानी ब्युनस आयर्सको सडकमा भेला भएका थिए। सो क्रममा समर्थकहरूले विभिन्न क्रियाकलाप गरेका थिए।
खुसीयाली मनाउने क्रममा एक जना समर्थकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्। फुटबल टोलीको समर्थनमा उफ्रिने क्रममा बसको छतबाट खसेर २४ वर्षका युवाको मृत्यु भएको हो। यस्तै, पाँचजना गम्भीर घाइते भएका छन्। उनीहरू आकाशेपुलबाट फुटबल टोली चढेको खुला बसमा फाल हाल्ने क्रममा गम्भाीर घाइते भएका हुन्।
दर्शकमात्र होइन खुसीयाली मनाउने क्रममा कप्तान लियोनल मेसीलगायतका प्रमुख खेलाडीहरू झण्डै दुर्घटनामा परेका थिए। बसको छतमा रहेका मेसी, एंगेल डी मारिया, लियान्ड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी झण्डै बिजुलीको तारमा परेका हुन्। उनीहरूले चलाखीपूर्ण तरिकाले टाउको निहुराएर बिजुलीको तार छलेका थिए। आत्तिएका भए दुर्घटना हुने थियो।
अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा हराउँदै आइतबार विश्वकपको तेस्रो उपाधि जितेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।