काठमाडौं– काठमाडौंमा स्नातक पढ्दै गरेकी मिङ्मा टासी शेर्पा धेरै समयपछि खुम्बुस्थित आफ्नो गाउँ फोरचे पुगिन्।
उनलाई आफू जन्मेको ठाउँ जान मन त लाग्छ, तर जोखिमयुक्त बाटो र धेरै हिँड्नुपर्ने समस्याले रहर त्यतिकै हराउँछ। उनी यात्राको क्रममा त्यो अनुभूति सुनाउँदै थिइन्।
मिङ्मा खुम्बुको उकालो लाग्दै गर्दा त्यहाँ आएका परिवर्तनहरू आफ्नै आँखाले अनुभूत गर्छिन्। जलवायु परिवर्तनले देखिएका परिवर्तन नियाल्छिन्।
४ हजार मिटरभन्दा माथि फलेका आलुमा पछिल्लो समय किरा देखिन थालेका छन्। पहिला त त्यो सम्भव थिएन। बढ्दो तापक्रमले गर्दा कहिल्यै अनुभव गर्नु नपरेका कुरा त्यहाँका स्थानीय गर्नुपरिरहेको छ। कहिल्यै नफल्ने तरकारी फल्न थालेका छन्। अझ यी सारा परिवर्तनलाई नजिकबाट मिङ्माकाका बा फिन्जोक शेर्पाले भोगिरहेका छन्।
उनका बा फिन्जोक शेर्पा हिमाल आरोही हुन्। फिन्जोकको लागि हिमाल जीवन हो। वर्षेनि सगरमाथा आरोहण गरेर परिवार पाल्ने फिल्जोक हिमालमा विस्तारै देखिएको परिवर्तन सम्झिएर चिन्तित छन्।
उसो त यतिबेला जलवायु परिवर्तनमाथि विश्वकै ध्यान खिचिरहेको छ। विश्वकै अग्लो हिमाल सगरमाथामा देखिएको परिवर्तन सबैका निम्ति चिन्ताको विषयसमेत हो।
यही चिन्ता फिल्ममेकर शान्ता नेपालीमा थियो। जो १० वर्षदेखि हिमाली यात्रामा निस्किएर हिमालका कथा भनिरहेकी छन्।
यसपटकको १०औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शान्ताले बदलिरहेको हिमालको कथा फिन्जोकको आँखाबाट भनिन्। उनले निर्माण गरेको डकुमेन्ट्री ‘क्लाइमिङ ट्याम्पेचर्स, टप अफ द वर्ल्ड’ गत आइतबार नेपाल पर्यटन बोर्डको हलमा देखाइएको थियो।
छोरी मिङ्माले बाका अनुभव सुनिरहेकी थिइन्। जुन उनले आफ्नो जीवनमा न देख्नुपरेको छ, न भोग्नु नै।
हिमपहिराले मानिसहरू सोहोरेको, बारबार आफू बाँचेर फर्किएको कुरा बुबाले सुनाइरहहँदा उनी अचम्मित थिइन्। फिन्जोकले पछिल्ला वर्षहरूमा हिमाल चढ्न कठिनाइ बढ्दै गइरहेका कुरा बताइरहेका थिए।
अनि जन्मियो हिमालको कथा...
डकुमेन्ट्री ‘क्लाइम्बिङ टेम्पेचर्स अन टप अफ द वल्र्ड’ कसरी बन्यो त? निर्देशक शान्ता नेपालीलाई हामीले प्रश्न गर्यौं।
हिमालमा देखिएका स–साना परिवर्तनल उनले केही वर्षअघिदेखि नै अनुभव गरिरहेकी थिइन्। त्यसमाथि उनले थुप्रै हिमाल आरोहीहरू भेटेकी थिइन्। उनीहरू र हिमाली क्षेत्रमा बस्ने मानिसको जीवनशैलीमा देखिएको असरबारे उनले सुनेकी थिइन्।
पाकिस्तानको आगाखान विश्वविद्यालयले उनलाई सगरमाथामा भइरहेका परिवर्तनबारे वृत्तचित्र बनाउने प्रस्ताव गर्यो।
उनलाई यो वृत्तचित्र बनाउन सहज भने थिएन। मनसुनको बेला मौसम सफा हुन्थ्यो, ‘क्लाइम्बर’हरूको फुर्सदियो समय पनि चाहिएको थियो।
शान्ताले जानुअघि ६ महिना त यसबारे अनुसन्धान गरिन्। जलवायु विज्ञहरूसँग घण्टौं छलफल गरिन्। र हिमाल चढ्नेहरूको अनुभवहरू सुनिन्।
विशेषतः जतिसुकै परिवर्तन भए पनि उनीहरू हरेक वर्ष हिमाल चढ्न बाध्य छन्। शान्तालाई लाग्यो, फ्रन्टलाइनरको दुःख कम पीडादायी छैन।
डकुमेन्ट्रीमा उनलाई दुई पुस्ता देखाउनु थियो। नयाँ पुस्ता जो, खुम्बुमै जन्मिएर पनि हिमालका कथासँग परिचित छैनन्। ‘मिङ्माभन्दा अघि धेरै पात्र खोज्यौं। कतिको समय मिलेन, कतिको परीक्षा पर्यो,’ शान्ता भन्छिन्।
पात्र छनोटपश्चात् उनीहरू काठमाडौंबाट खुम्बुको यात्रामा निस्किए। फिल्म निर्माणको दौरान शान्ताले जलवायु परिवर्तनका मसिना प्रभावबारे थाहा पाइन्।
‘क्याम्प–२मा पहिला आइस फुटाएर पानी खानुपर्थ्यो, अहिले त खोलै बग्छ,’ उनी भन्छिन्।
शान्ताहरूले १२ दिन फोर्चेमा बसेर सुटिङ गरे। तर फुटेजहरू त्यसअघि २ महिना बेसक्याम्प बसेर नै खिचिएको थियो।
पूरै सिजन वृतचित्रमा देखाउन मन थियो शान्तालाई। तर न समय पुथ्यो, न बेजट।
तैपनि आफ्नो कामबाट राम्रो फिडब्याक पाएको उनी बताउँछिन्।
‘गरिबीले मात्र शेर्पा हिमाल चढ्दैनन्’
हिजोका दिन हिमाल चढ्नुको कारण शेर्पाहरूका निम्ति गरिबी हुन्थ्यो।
आर्थिक संकटका कारण त्यो काम रहरभन्दा बढी बाध्यता हुन्थ्यो।
तर अहिले त्यो बाध्यताचाहिँ नभएको शान्ताको बुझाइ छ। उनी भन्छिन्, ‘अहिले शेर्पा समुदाय पनि पोर्टर मात्र हैन। उनीहरू व्यावसायिक क्लाइम्बर भएर काम गर्न सक्छन् भन्ने कुरा पछिल्लो पुस्ताका क्लाइम्बरमा देखिएको छ।’
उनका अनुसार व्यावसायिक फोटो र भिडियो खिच्ने अहिले शेर्पाहरू नै छन्।
शान्तालाई हिमालका कथा भनेर पुगेको छैन। उनीसँग यस्ता थुप्रै कथा छन्। जुन आफैंले भन्नुछ। तर त्यसको लागि बजेट चाहिन्छ। 'ठूलो समस्या नै बजेटको हो। नत्र हामीसँग कथा छन्। जुन हामीले नै भन्नुछ,' शान्ता भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।