‘आँखीझ्याल सानो छ
तर यसैबाट संसार चिहाउन सकिन्छ !’
कवि निर्भीकजंग रायमाझीले मण्डला थिएटरको हलमा ‘आँखीझ्याल’ कविता वाचन गर्दा गड्गडाहट ताली गुन्जिएका थिए। उनी पहिलो पटक एकल कविता वाचनमा उत्साहित मुद्रामा उभिएका थिए। गत सोमबार दिउँसो नाटकघरको हलमा २ सय जनाको भीड खचाखच थियो। कविता वाचनसँगै उनले तारिफ बटुलिरहेका थिए।
कविताका समार्थ्य निर्भीक कवितामै यसरी सुनाउँदै थिए–
...को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो
आहा ! आँखीझ्याल हुँदै
जस्तो त्राशमा पनि संसार चिहाउन पाइयोस्
....
चाहन्छु, एउटा सानो आँखीझ्याल त
तिम्रो मनमा पनि भइदियोस् !’
उद्गार साहित्य प्रतिष्ठानले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा निर्भीकले दर्जन कविता सुनाए।
एक दशकभन्दा अघि देखि कविता लेखनमा सक्रिय निर्भीकले दुई वर्षअघि भएको नागरिक आन्दोलनको समयमा ‘शितल निवासको गर्मी’ कविता सुनाएर चर्चा बटुलेका थिए। ४ वर्षअघि निर्भीक लगायत १७ जना कविहरूकोसंयुक्त कविता संग्रह ‘अनुहारको भीड’ प्रकाशित भएको थियो। उक्त संग्रहमा भएका निर्भीकका कविताहरू युवापुस्तामा लोकप्रिय बनेका थिए।
कार्यक्रममा कवि विप्लव प्रतीकले निर्भीकका कवितामाथि टिप्पणी गरे। उनले निर्भीकका कवितामा अथाह सम्भावना भएको बताए। लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्यजगतमा चम्किलो नक्षत्रको रुपमा निर्भीकलाई हेरेको बताए। ’युवाहरू भावना बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,’ उनले भने।
यसैगरी निर्भीकको चटारो शीर्षकको कविता बाचन कवि श्रवण मुकारुङले निर्भीकका कविता लामो समय जीवित रहने टिप्पणी गरे। आफूले उक्त कविता समयसमयमा पढ्ने गरेको बताउँदै उनले उनका यी कविता सदाबहार पढिने बताए। ’वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ उनले भने।
यसैगरी अन्तिममा वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने, जुन निर्भीकका कवितामा आफूले पाएको भनाइ राखे। निर्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो।
यस्तै कवि रीमा केसी पनि निर्भीकको कविता बाचन गरेकी थिइन्।
प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा कलम चलाउने उनले कार्यक्रममा आँखिझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खानेदिन लगायत एक दर्जन कविता सुनाएका थिए।
कवि निर्भीकका दुई कविता :
बिदाइमा
‘गएँ है !’ भन्न नपाई छुट्टिनुप¥यो त्यो दिन
बिदाइको हात हल्लाउन पनि पाइनँ
न पाएँ एकफेर
शुभ–यात्राको कामना गर्न तिमीलाई
न दिनै पाइयो
स्मृतिको चिनुस्वरूप
वर्षौंदेखि साँचिराखेको बुट्टे रुमाल ।
यसै छुट्यो...
अङ्गालो हाल्ने मनको रहर
आँशु पुछिदिँदै निधार चुम्ने रहर,
उदासलाग्दो त्यो गोधुलीमा
विरही देखियो गोलसिमल पनि एकबार !
आज स्मृतिको घाउ बल्झिँदा
एकोहोरो सोचिरहेछु–
किन भेटेछु तिमीलाई त्यो दिन !
कि आँखा दोबाटोमै टिकाएर
छुट्टिनुपर्यो त्यो दिन ।
भान्साकोठामा बुद्ध
दरबार छोड्ने जुनेली रातमा
साँच्ची, राजकुमार सिद्धार्थले डिनर खाए–खाएनन् ?
बाटोमा के खाए होलान्
त्यस युगमा रेष्टुराँ, पब, ‘केएफसी’ थिएन
सायद फलफूल खाए कि !
बोधगयामा विशाल वृक्षमुनि कठोर तपस्या गर्दा
कति तिर्खा, भोक र जलन भयो
लेखाजोखा छैन
बुद्धत्व प्राप्तिपछि देश–देशावर घुम्दा
दिव्य प्रवचनहरू प्रस्तुत गर्दै यात्रा गर्दा
साँच्ची, बुद्ध भान्साकोठा जानुभयो÷भएन ?
आज २ हजार ५ सय वर्षपछि
मानव सभ्यताको उन्नति हेर्न आउँदा
बुद्ध कामविशेषले भान्साकोठामा पस्नुभयो,
र दिनुभयो संसारलाई नवीन सन्देश–
‘भोक र शान्ति
एकअर्काका कट्टर दुश्मन हुन् !’
आँखीझ्याल
आँखीझ्याल सानो छ
तर यसैबाट संसार चिहाउन सकिन्छ !
घरका ठूला–ठूला ढोकालाई
अहंकारका खापाले बन्द राखेका छन्
घरका बुट्टेदार झ्यालका सिसालाई
पर्दाले छोपेका छन्
थुनिएको छ घर चारैतिर
सबै दृश्य बन्द छ
तर को आयो साँझमा पाहुना
आँखीझ्यालबाट हेर्न पाइयो
बिहानी घामको पहिलो झुल्को
ओछ्यानबाटै छुन पाइयो
आहा ! आँखीझ्याल हुँदै
जस्तो त्राशमा पनि संसार चिहाउन पाइयोस्
....
चाहन्छु, एउटा सानो आँखीझ्याल त
तिम्रो मनमा पनि भइदियोस् !
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।