‘धन त बाघको बङ्गारामा हुँदो रहेछ!’
नरबहादुर सिंहको डरमिश्रित उद्गार निस्कन्छ।
यो कुरा उनले हजुरबाहरूबाट सुन्दै आएका। तर आफ्नै जीवनकालमा यथार्थ भोगिरहेका छन्। हत्केलामा ज्यान राखेर नरबहादुरहरू हर सिजन भिरमहको शिकारमा निस्कन्छन्। कारण, उनीहरूलाई दुई चार पैसाको आश छ। त्यही पैसाले जीवन जेनतेन चल्छ।
सधैं मह कहाँ पाइन्छ र? आशा गरेजत्ति मह नपाएपछि खिन्न अनुहार लगाएर फर्कनुपरेका दिनहरू छन् उनीहरूसँग।
कथा हो, जाजरकोटको।
खल्टाकुरीको अक्करे भिरमा महको शिकारमा निस्कन्छन् त्यहाँका मान्छे। तर, त्यहाँबाट मह काढेर ल्याउँदासम्म उनीहरू बाल-बाल बाँचेर फर्कन्छन्। ‘हेर्ने कथा’ले उनीहरूको यात्राको कथामात्र खिचेन, उनीहरूको संघर्षमात्र खिचेन। टिमका मानिसरू शिकारीहरूसँगै यात्रामा निस्किए। उनीहरूको संर्घषलाई नजिकबाट अनुभूत गरे।
‘भिरबाट खस्यो मात्र भने, लाशसमेत भेटिन्न थियो। एक समय समाएर हिँड्न पनि विष फल्ने रुख र सिस्नु थियो। त्यो कठिनाइ व्यक्त कसरी गरुँ?!,’ हेर्ने कथाका निर्देशक/प्रस्तोता कमलकुमार अनुभव सुनाउँछन्।
स्थानीयहरूका लागि त त्यो नियमित कर्म थियो। हेर्ने कथा टिमलाई जाजरकोटको कथा काठमाडौं पुर्याउनु थियो। त्यसका लागि यो यात्रा मृत्युको सम्मुख पुगेजस्तो थियो।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको पहिलो दिन राष्ट्रिय सभागृहमा वृत्तचित्त ‘बाघको बङ्गारा’ हेर्दै गर्दा त्यो भयानक डर दर्शकहरूमा रुपान्तरित भएको थियो। देउरालीबाट तल झरेपछि समूहका एक शिकारी भन्छन्, ‘बाटो त बनाएर हिँड्ने हो। यहाँ त खस्यो कि गयो।’
महको शिकारमा निस्किएका थिए गोविन्द सिंह, राजेन्द्र सिंह, दलबहादुर सिंह र नरबहादुर। उनीहरूलाई पछ्याउँदै गए ‘हेर्ने कथा’का टिम कमल कुमार, जीवन रिजाल, प्रकाश देवकोटा र चालक। उनीहरूलाई त्यहाँसम्म पुर्याएर फर्काउने प्रण गरेका थिए नरबहादुरहरूले।
वृत्तचित्रमा बाँचेर फर्किएका जीवनका आँखामा आँसु भरिएका देखिन्छन्। डरले काँपिरहँदा पनि उनको हातबाट क्यामेराले खिच्न छाड्दैन। उनी भिरको यस्तो ठाउँमा अडिएका थिए, पाइला सार्दा मात्र पनि खस्ने सम्भावना हुन्थ्यो।
‘ठूलो भिरको टुप्पोमा थिएँ। त्यहाँबाट एकदमै राम्रो दृश्य देखिरहेको थिएँ। भिर, खोला, हिमाल एकैपटक। तर, तल एक पटक हेरेपछि फेरि हेर्न सकिनँ र कुनामा बसेँ। मलाई यो ठाउँमा पुगेर खिच्नुपर्ने खिच्न सकिनँ भन्ने फिल भएको थियो। डरैडरमा बल्लतल्ल माथि पुगेँ। प्रकाशजीले अँगालो मारेपछि बाँचेर आइयो भन्ने लागेछ अनि आँसु झारेछु,’ सभागृहको आाँगनमा बसेर उनी त्यो कहालीलाग्दो क्षण सम्झन खोज्छन्।
जीवनले त्यहाँ जाने भन्ने थाहा पाएपछि नै जोखिमको आकलन गरेका थिए। उसो त गाडीबाट छुटेर डेढ दिनको बाटो हिँडिसकेका थिए। पर्याप्त सामान पनि थिएन। संयोगले भेटिएको कथा छाड्नु पनि त थिएन।
संयोगले भेटिएको कथा
दसैं सकिएलगत्तै उनीहरू यात्रामा निस्किए। जानु थियो मुगु। तर, मुसलधारे पानीले बाटो अवरोध गर्न सुरु गरिसकेको थियो। मुगुको कथा खोज्न हिँडेको टोली पहिरोका कारण बाटो बदल्न पुग्यो। र, पुग्यो जाजरकोटको बारेकोट।
हेर्ने कथाकी निर्देशक विद्या चापागाईं काठमाडौंबाटै टिमसँग सम्पर्कमा थिइन्। खलंगादेखि सम्पर्क छुट्यो, ६ दिनसम्म।
जता गए पनि मान्छेको कथा खोज्नु थियो, कमल कुमारले नेतृत्व गरिरहेका हेर्ने कथाको टोलीले जाजरकोटकै एउटा मान्छेको कथा पछ्याइरहेको थियो। त्यो कथाको अन्त्यबाट नयाँ कथाको सुरुवात भयो। बास बस्ने बेलामा मह काढेर आएका मानिसहरू भेटिए। उनीहरूसँग कुरा गरेपछि थाहा भयो, भिरमौरीको मह काढ्ने मानिसको कथा।
त्यसपछि उनीहरू भिरमौरीको शिकारमा हिँडेका स्थानीयको कथा पछ्याउन निस्किए।
जोखिमको कथा
हेर्ने कथाको टिम ‘रिस्क’मा रमाउँछ।
किन त ?
विद्या भन्छिन्, ‘हामी यस्तो कथा भेटिन्छ भनेर पूर्वतयारीमा हुन्नौं। अनि कथाले यस्तरी बाँध्छ कि छाड्नै मन लाग्दैन।’
जोखिम व्यहोरिरहेका मान्छेसँग हिँड्दा कति पटक उनीहरू अत्तालिएका छन्। तैपनि त्यो जोखिम पछ्याउन छाड्दैनन्। ‘एकपटक हाम्रो डुंगा कोसीमा झण्डै पल्टेको। त्यतिबेला बाल-बाल बच्यौं,’ विद्या भन्छिन्।
आफूहरू कालो निलो भइसक्दा पनि जीवनले भने क्यामेरा रोल गरिरहेका सम्झन्छिन् विद्या। कोसीको घटनाको पाठ सिकेर ‘चेफाको कथा’ भन्दा उनीहरूले लाइफ ज्याकेट पहिरिए।
कोइलाखानीको कथा भन्दा भित्र पस्ने बेलामा जीवनले आँट गरे। अनि विद्याले पनि। यसरी हरेक यात्रा उनीहरूको आँटैले अघि बढ्छ।
‘मान्छेको कथाले हामीलाई डोहोर्याउने रहेछ। काम र मान्छेको रहर जोडिएपछि त हेर्ने कथा बन्दो रहेछ,’ विद्या भन्छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।