भैरहवा– लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय रुपन्देहीबाट दाङ सारिएको छ। प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट कार्यालयका कुर्सी–टेबलसहित कागजातहरु रातारात दाङको देउखुरी सारिएको हो।
प्रदेश सरकारले पूर्वाधार नबनाइ राजधानी सार्न खोजेको भन्दै रुपन्देहीका प्रदेश सभा सदस्य, कर्मचारी तथा स्थानीय दलहरुले विरोध गर्दै आएका थिए। तर, मुख्यमन्त्री कुल प्रसाद केसीले आफ्नो कार्यकालको अन्तिम मन्त्रिपरिषद् बैठक दाङमै बसाल्ने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्न लगाएका हुन्।
३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामान दाङ पुर्याइएको हो।
सोमबार राति १०:३० बजे बुटवलस्थित मुख्यमन्त्री र सचिवालयबाट सामानसहितका ट्रकहरु दाङ हिँडेका थिए। बुटवलबाट ल्याइएको सामान मंगलबार बिहान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा झारिएको छ।
आइतबारबाट मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुने जनाइएको छ। मुख्यमन्त्रीको बुटवलस्थित कार्यालय बन्द गरिएको छ।
आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष तथा लेखा नियन्त्रण कार्यालय पनि यो साताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी सारिसक्ने बताइएको छ।
दाङमै शपथ गराउने तयारी
नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथ पनि दाङमै गराउने तयारी भइरहेको छ। दाङको देउखुरीमा प्रदेश सभा र सचिवालयको भवन निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ।
यसअघि नेपाली कांग्रेस रुपन्देहीका नेताहरुले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरु नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए। नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित ४ सांसदहरु लिला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै नयां बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालयहरु सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।