पोखरा– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जनताले कर तिर्नभन्दा नतिर्न बहाना खोजिरहेको बताएका छन्।
‘समृद्ध देश खोज्छौं, कर तिर्नै नपरे हुन्थ्यो भन्ने सोचाइ राख्छौं,’ नेपाल अडिटर्स एसोसियनको १३औं स्थापना दिवसमा पोखरामा आयोजित कार्यक्रममा उनले भने, ‘कर नतिरेर देश कसरी समृद्ध हुन्छ?’
कर सम्बन्धी जनतामा नकारात्मक धारणा बसेकाले यस्तो समस्या आएको उनले बताए।
‘सामाजिक सञ्जालका खबरले सञ्चालित छौं, हरेक राम्रा कुराको समेत नराम्रा टिप्पणी गर्ने बानी परेका छौं,’ उनले भने, ‘करको मामिलामा खर्च बढ्ने मात्रै हो, नेताहरुले आफैं भ्रष्टाचार गर्छन्, केही सेवा दिंदैनन् भन्ने धारणाको विकास गरेका छौं।’
कर तिर्ने बेला हरेक नागरिकले झुक्याउने वा छल्न खोज्नेतिर नलागी इमान्दारिता देखाउन मन्त्री गुरुङले आग्रह गरे।
‘कर नतिर्ने नागरिक, नागरिक हुन सक्दैन, नागरिकता पाएर मात्रै नागरिक हुन्छौं भन्ने होइन। कर तिरेर पो सच्चा नागरिक भइन्छ,’ उनले भने।
नागरिकले तिरेको करले नै देश समृद्ध बन्ने भएकाले त्यतातर्फ ध्यान दिन उनको आग्रह थियो।
एसोसिएसनका गण्डकी प्रदेश अध्यक्ष केशबहादुर केसीले करमैत्री वातावरण नभएका कारण करप्रणालीमा समस्या आएको औंल्याए।
‘कर तिर्न नै समस्या छ। सहज नभएकाले कर चुहावट भएको छ,’ उनले भने। व्यवसायी, सरकार र लेखापरीक्षकबीच राम्रो सम्बन्ध भएमा देशको आर्थिक अवस्थामा समेत फाइदा पुग्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।