काठमाडौं– सर्वोच्च अदालतले डा तोसिमा कार्कीको रिटमा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको उक्त आदेशपछि कार्कीको उम्मेदवारी कायम हुने भएको छ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख थियाे। राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी कार्कीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो। मंसिर ४ को निर्वाचनका लागि उनी अयोग्य भएको आयोगको निर्णय पूर्वाग्रही भएको दाबी रिटमा गरिएको थियाे।
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ। नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो। तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेकी थिइन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।