काठमाडौं– प्रतिनिधि सभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध डा तोसिमा कार्कीले दायर गरेको रिटमाटि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ।
क्रमसंख्याअनुसार डा कार्कीको रिट ९ नम्बरमा छ। आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्कीले सोमबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय गैरकानुनी र नियतवस रहेकाले अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा मागदाबी गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा प्रतिनिधि सभाकी उम्मेदबार रहेकी कार्की मेडिकल काउन्सिलको सदस्य पदमा पनि रहेकाले उनी उम्मेदवार हुन अयोग्य रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको थियो।
लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।