काठमाडौं– प्रजातन्त्रको पुनस्र्थापनापछि २०४९ जेठ १५ र १८ मा स्थानीय तहको चुनाव भएको थियो। जसमा मकवानपुर जिल्लाको पालुङ गाउँ विकास समिति (गाविस) वडा नम्बर ९ को महिला वडा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बच्चुमाया मगरले पनि उम्मेदवारी दिएकी थिइन्। उनको चुनाव चिन्ह गाई थियो। उनको प्रतिस्पर्धामा कांग्रेस, एमाले लगायत पार्टीका उम्मेदवार थिए।
पहिलोपटक चुनावमा उठेकी बच्चुमायालाई हारिने पो हो कि भन्ने अलिअलि डर थियो। काखमा जुम्ल्याहा छोराछोरी थिए। उनीहरूले भर्खर आठ महिना मात्र टेकेका थिए। दूधेबालक घरमा छाडेर त्यो बेला भोट माग्न गाविस भरका घर–घरमा पुगेको उनी सम्झिन्छिन्।
उनका अनुसार सो गाविसमा राप्रपा चर्चित थियो। राप्रपाले जित्ने पक्कापक्की नै थियो। पछि नतिजा पनि सोहीअनुसार आयो। गाविसको अध्यक्षमा राप्रपाका रामबहादुर कार्कीले चुनाव जितेका थिए। गाविस अध्यक्षले के कति भोट ल्याएर जितेका थिए, बच्चुमायालाई याद छैन। तर, त्यो चुनावमा बच्चुमायाले भने सात हजारभन्दा बढी मत पाएर महिला सदस्य जितेकी थिइन्।
सो बेला बच्चुमाया अध्यक्ष कार्कीलाई चुनाव जिताउने अभियानमा सबै नौवटै वडामा पुगेको सम्झिन्छिन्। ‘त्यो बेला नौवटा वडा थिए। ती सबैको घर–घरमा पुगियो भोट माग्न,’ उनी भन्छिन्।
चुनाव जितिसकेपछि उनले महिला सदस्यको पद सम्हालिन्। दैनिक गाविसको कार्यालयमा हाजिर हुन्थिन्। तर, उनको घरमा निकै समस्या थियो। छोराछोरी सानै थिए। सँगै रहेकी सासु पनि वृद्धा भएकी थिइन्। रोगी भएकाले बिरामी भइरहन्थिन्। बिरामी भए पनि सासुले घरभित्रको काम गर्थिन्।
बच्चुमायाले खेतबारीदेखि लिएर घरको काम पनि आफैँ गर्नुपर्थ्यो। घरनजिक पानीको मुहान थिएन। उनी डेढ घण्टा टाढादेखि पानी बोकेर ल्याउँथिन्। त्यति टाढाबाट ल्याउनुपर्ने पानी भर्न पनि घण्टौँ कुर्नुपर्ने हुन्थ्यो। पानी ल्याएर हतारहतार गाविसमा हाजिर हुन पुग्थिन् उनी।
पानीको समस्या केवल बच्चुमायालाई मात्र थिएन, पूरै गाविस भरी नै थियो। यसर्थ, उनले गाउँको विकासको योजनामा खानेपानी र कलधारालाई प्राथमिकतामा राखिन्। अन्ततः उनले योजनाअनरुप गाउँमा खानेपानी ल्याउन सकिन्। यो गर्दैगर्दा पनि उनले धेरै समस्या झेल्नुपर्यो।
‘पानी त ल्याएँ। तर आफ्नो घर पुछारमा, यसले गर्दा आफैँलाई छैन पानी। कलधारा ल्याउँदा मेरो आफ्नै खल्तीको पैसा हाल्नु पर्याे। म नपढेकी मान्छे कता हिसाबकिताब मिलेन कुन्नि! यसले गर्दा विभिन्न भनाइ खानुपर्यो। गाउँका लागि काम गर्दा आफ्नो घरमा काम बितेको कुरा छुट्टै छ,’ पुराना दिन सम्झँदै उनी भन्छिन्।
बच्चुमायाले विद्यालय गएर पढ्न पाइनन्। तर, घरमै आमासँग सामान्य लेखपढ सिकेकी थिइन्। तर, यसप्रति उनको चित्तबुझाइ छैन।
‘त्यतिले काहाँ पुग्थ्यो र? धेरै नपढेको हुनाले मैले दुःख पाएँ। नपढेकी मान्छेले सबै हिसाबकिताब गर्नुपर्ने लेखनदासले पनि ५० कप चिया खाएको छ भने ८०–९० कप लेखिदिएको हुन्थ्यो। चनासँग एउटा खायो भने १० वटा लेखिदिएको हुन्थ्यो। त्यो सबै मैले भोग्नु पर्थ्यो,’ उनी भन्छिन्, ‘यसपछि मलाई लाग्यो, सबैभन्दा ठूलो कुरा पढाइ रहेछ। पढाइ नभएपछि राजनीति गर्न पनि नसकिने रहेछ। पढाइ हुँदा धेरै समस्या भयो मलाई!’
जस्तै कठिनाइ आउँदा पनि बच्चुमाया काम गरिरहेकी थिइन्। घरदेखि गाविससम्म पुगेकै थिइनन्। ५१ सालमा सासु बितिन्। सासु बितेपछि उनी झन् समस्यामा परिन्। छोराछोरीलाई खुवाउनदेखि स्कुल पठाउनसम्म आफैंले भ्याउनुपर्ने अवस्था आयो। सोबेला उनका श्रीमान्ले केही काम नसघाएको उनको गुनासो छ।
‘मेरा बुढा केही काम गर्दैन थिए। खाना पकाउ आफैं छोराछोरीलाई स्कुल पठाउ आफैं। ६ वटा त मेरा भैंसी नै थिए। तिनलाई घाँसकुँडो दिनुपर्ने। म एक्लो मान्छेले कसरी जताततै सक्नु?,’ उनी प्रश्न गर्छिन्, ‘बाख्रादेखि खसी–बोकासम्म पालेकी थिएँ। हल गोरू पनि थए। हाँस र परेवामात्र बिहान चार माना चामलले अगाउँदैनथे। सबैतिर भ्याउनुपर्ने हुँदा कहिले बच्चालाई भोकभोकै स्कुल पठाउनु पथ्र्योे। केटाकेटी स्कुलबाट आउँथे, यता खाजा बनाएको हुँदैनथ्यो, कति दुःख खेफेँ–खेपेँ।’
एक्लो मान्छे घर धान्नु कि राजनीति गर्नु बच्चुमायालाई निकै दुःख थियो। तर, जनप्रतिनिधि भइसकेपछि केही काम पर्दा भ्याउँदिन भन्न नमिल्ने हुन्थ्यो। यस्तै, कुराबबाट दिक्क भएर उनले राजनीति नै छोड्ने निर्णय गरिन्।
‘दिनको एकफेर त गाविसमा हाजिर हुन नपुगे सुखै थिएन, जानैपर्यो, सही गर्नैपर्यो। एकैछिन् भए पनि बैठकमा उपस्थित हुनैपर्यो। यता व्यस्त हुँदा उता घरको काम नभ्याइने, बच्चाहरूको पनि बिजोक हुने,’ उनी थप्छिन्, ‘यस्ता धेरै समस्या आएपछि लु यसरी त नहुने रहेछ भनेर मैले राजनीति छोड्ने निर्णय गरेँ।’
राजनीति छाडेर उनले आफ्नै परम्परागत कृषि पेसा अँगालिन्। खेतीपाती गरेर उनले दुई छोरा र दुई छोरीलाई हुर्काइन्, पढाइन्। उनको जीवन राम्रै चलिरहेको थियो। ७१ सालमा उनको कान्छो छोरा प्लस टु पढ्न काठमाडौं आए। जेठो छोरा रोजगारीका लागि विदेशिए थिए। कान्छी छोरी आँफैले विवाह गरिन्। घरमा श्रीमान् र जेठी छोरी थिए। एकदिन बच्चुमाया घरको काम गर्दै थिइन्। घरको माथिल्लो तलामा जाने बेलामा भर्याङबाट लडिन्। खुट्टा भाँचियो। अब उनलाई कहाँ लगेर उपचार गराउने भन्ने आपत पर्यो।
‘तर, कान्छो छोराले यहाँ (काठमाडौं)मा बोलायो। अनि, उपचार गराएँ। खुट्टा ठीक हुन धेरै समय लाग्यो। पैसा निकै खर्च भयो। त्यसपछि पैसाको समस्या थपियो,’ विगतका दुःख उनी सम्झिन्छिन्, ‘खुट्टा राम्ररी ठीक भएको थिएन। यहीँको फुटपाथमा व्यापार थालेँ। गाउँको जग्गा अरुलाई दिएर वस्तुभाउ बेचेँ। यतै आओ भनेर बाबु–छोरीलाई पनि यहीँ बोलाएँ।’
अहिले बच्चुमाया कलंकीस्थित शहिद मेमोरियल हस्पिटल नजिकै स्युचाटार जाने बाटोमा नाङ्ले पसल थापेर बसेकी छिन्। उनी राति १० बजे त्यहाँ पुगिसक्छिन्। उनी रातभरी व्यापार गर्छिन्। उस्तै परे त्यहीँ सुत्नलाई उनले सानो ओछ्यानसमेत लाएकी छिन्। ओछ्यानलाई पानी र शितबाट बचाउन ठूलो छाता ओडाउँछिन्। भित्तापट्टी पातलो प्लास्टिक टाँग्छिन्। यसरी सुरक्षितसाथ उनी रातभरी व्यापार गर्छिन्।
उनी घरमै चिया पकाउँछिन्। दुईटा ठूल–ठूला चियादानीमा भर्छिन्। एउटामा दूध चिया, अर्काेमा कालो। अनि कलंकी चोकमा निस्किन्छिन्। चिया बेच्न सडकमै रात बिताउँछिन्। चिया मात्र होइन। उनले नाङ्लामा बिस्कुट, चाउचाउ, चक्लेट, चुरोट पनि राखेकी छन्।
‘घरमै चिया पकाएर ल्याउँछु। राति १० बजे आएर बस्छु। यहीँ ओछ्यान लगाउँछु। सुती–सुती चिया बेच्छु। बिहान ७ बजेपछि पसल उठाउँछु,’ उनले भनिन्।
बच्चुमाया रातभरीमा २५ कप दूधचिया र २५ कप कालोचिया बेच्छिन्। दूधचियाको प्रतिकप २० र कालोचियाको १५ रुपैयाँ छ। दिनमा एक हजार ५०० देखि दुई हजारसम्म कमाइ गर्ने गरेको उनी सुनाउँछिन्।
‘अस्पतालमा आउने बिरामी कुरुवा चिया पिउन आउँछन्। उनीहरूले चियासँगै बिस्कुट पनि खाइदिन्छन्। कसैले चुरोट किन्छन्। अलि–अलि बिक्छ,’ उनले भनिन्।
विदेश गएका बच्चुमायाका जेठा छोरा अहिले आइसकेका छन्। तर, उनले खासै कमाइ नगरेकाले आमासँगे बसिरहेका छन्।
कान्छा छोराले पनि फुटपाथमा तरकारी बेच्छन्। तर, उनी भने घाटामा गएको उनले सुनाइन्। घाटामै गए पनि अलि–अलि कमाइ भने छ उनको। तर, कान्छा आफैँ बिरामी भएकाले त्यसको सकिने गरेको उनी बताउँछिन्।
‘कान्छाको व्यापार अहिले घाटामा गएको छ। तीन लाख जतिको तरकारी कुहिएर बर्बाद भयो। अहिले बिरामी पनि छ। टेन्सनले हो कि के भएको हो?’ अध्याँरो अनुहार लगाउँदै उनले थपिन्, ‘कान्छाले तरकारी बेचेर कमाएको पैसा औषधि खर्चमै सीमित हुन्छ। ठूलो जहान छ। त्यसमाथि म आफैं बिरामी छु। एक–दुई जनाको कमाइले त धान्नै मुस्किल छ।’
आफूलाई दमको समस्या, जेठी छोरी पनि मानसिक रुपमा अस्वस्थ भएको र श्रीमान् पनि वृद्धावस्थाका पुगेकाले अबका दिन झनै कठिन हुने हो कि भन्ने आशंका बच्चुमायाको छ।
पछिल्लो समय काठमाडौं महानगरले फुटपाथ पसल घटाउने अभियान चलाइरहेको छ। यसको मारमा बच्चुमाया पनि परिरहेकी छिन्। ‘दिउँसो बेच्न बसे महानगरपालिकाले लखेट्छ। फेरि म दौडिन सक्दिनँ। त्यही भएर रातिमा भए पनि काम गर्छु,’ उनी भन्छिन्।
जहान ठूलो भएकाले उनीहरूले फ्ल्याट नै भाडामा लिएका छन्। त्यसको भाडा महिनामा १८ हजार तिर्नुपर्छ।
‘दमको बिरामी छु, महिनामा चार–पाँच हजार आफ्ना लागि औषधी किन्दै सकिन्छ। आफ्नो औषधि किन्नकै लागि पनि मैले यो काम गर्नै पर्छ,’ उनले भनिन्।
दुःखै–दुःखले गर्दा राजनीति छोडेकी उनलाई फुटपाथमा पसल थाप्दा पनि सुख छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।