काठमाडौं– रामेछापको मन्थली घर भएका गोपीबहादुर बस्नेत हरेकजसो निर्वाचनमा भोट हाल्न छुटाउँदैनन्। २०३७ सालको जनमत संग्रहमा पहिलोपटक मताधिकार प्रयोग गरेका उनी त्यसयताका हेरक निर्वाचनमा ‘राम्रा उम्मेदवार’लाई छानेर भोट हाल्छन्। तर, उनले सोचेको जस्तो अवस्था भने भइसकेको छैन।
काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएका उनी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि भोट हाल्न गाउँ जाने तयारीमा छन्। ‘भोट हाल्न त जानु पर्छ नि! मैले भोट नहाल्दा राम्रो मान्छे १ भोटले हार्यो भने नराम्रोले जित्ने अवस्था हुन्छ नि!’ गोपीले सुनाए।
गाउँ, ठाउँको विकासका लागि राम्रो मान्छेलाई जिताउन आफ्नो मताधिकार प्रयोग गर्न छुटाउन नहुने तर्क गर्छन् उनी।
पहिलोपटक भोट हाल्दा किशोर वयमा थिए बस्नेत। त्यतिबेलादेखि नै राम्रा उम्मेदवार छानेर भोट हाल्नुपर्छ भन्ने ‘चेतना’ विकास भएको थियो उनमा।
‘मैले भोट हालेको पार्टीले आजसम्म हारेको छैन। जहिल्यै जितेकै छ। काम पनि राम्रो नै गरेका छन्। पञ्चायतको बेला गाउँमा राम्रो गरे। अस्तिको चुनावमा पनि मैले भोट हालेको पार्टीले जितेको छ। पहिलाका सबैले राम्रो गरेका छन्। अहिलेकाले अब के कसो गर्छन्? हेरम्,’ उनले भने।
उनले २०४३ सालदेखिका कुनै चुनावमा भोट हाल्न छुटाएनन्। भारतमा काम गर्न गएको बेला पनि काम छाडेर गाउँमा भोट हाल्न आए। कतिपटक भोट हाले गन्ति त आफूले गरेका छैनन्। तर, पनि ४३ सालदेखि अहिलेसम्मका सबै चुनावमा भोट हाल्न नछुटाएको उनी बताउँछन्।
गाडी नपठाए आफैं गाडीभाडा तिरेर भोट हाल्न जाने
काठमाडौंदेखि मन्थली पुग्न गाडीभाडा एक हजार लाग्छ। उनी चुनावमा भोट हाल्न कहिले आफ्नो खर्चमा जान्छन्। कहिले नेताहरूले पठाएको गाडिमा जान्छन्।
‘प्राय:जसो गाडी नेताहरूले मिलेर पठाउँछन्। जान खर्च लाग्दैन। खाजाखाना समेत खुवाउँछन्। त्यसमा पनि मासु खुवाउँछन्। खानको लोभ त होइन। गाउँमा राम्रो नेताले जितोस् विकास गरोस् भन्ने चाहना छ मेरो। यो पाली पनि गाडी त पठाउँछन् होला। नपठाए म आफू खर्च लगाएर भएपनि जान्छु,’ उनले भने।
अहिलेको चुनावमा उनको परिवारबाट पाँच भोट जान्छ। उनीहरू सबैले आ–आफूले मन लागेका पार्टीका उम्मेदवारलाई भोट हाल्ने बताउँछन्। ‘आमा, बुढी, छोराहरू सबैले भोट हाल्छन्। जुन पार्टीलाई हाल्न इच्छा लाग्छ, उसलाई हाल्ने हो। राम्रालाई छानेर हाल्छौँ,’ उनले भने।
०००
गोपी काठमाडौंका फुटपाथमा डालोमा भुटेका चना, बदाम, मटर, मकै जस्ता खानेकुराको व्यापार गर्दै आएका छन्। उनी बदाम नपाउने सिजनमा स्ट्राबेरी र काफल बिक्री गर्छन्।
उनले कालीमाटीका होलसेलबाट भुटेका चना, बदाम, मकै र केराउ ल्याउँछन्। डालोमा चना, मकै, बदाम, केराउ राख्छन्। बिहान नौ बजे डेराबाट निस्किन्छन्। दिनभरी बानेश्वरदेखि डालो बोकेर बिक्री गर्दै त्रिपुरेश्वरसम्म पुग्छन्। फेरि बानेश्वर फर्किन्छन्। साँझ भएपछि बानेश्वर चोकमा बसेर बिक्री गर्छन्। यसरी डुलेरै व्यापार गर्दै परिवार पाल्दै आएका छन्।
२२ वर्ष अघि केही काम गरेर पैसा कमाउने उद्देश्यले गोपी काठमाडौं छिरे। उनी यहाँ आएपछि बानेश्वरमा डेरा गरेर बसे। केही दिनपछि उनले आफ्ना लागि काम पनि खोजे। भनेजस्तो काम भेट्टाएनन्। काम नभेटेपछि उनले आर्थिक उपार्जन गर्ने बाटो फुटपाथ व्यापार रोजे।
‘पढेको थिएन। यहाँ मैले केही काम पाइनँ। काम खोज्दै जाँदा अरुले बाटोमा हिँडेर व्यापार गरेको देखेँ। यसो गर्दा थोरै भएपनि कमाइ गर्न सकिने थाहा पाँए। अनि व्यापार गर्न थालेँ’, उनले भने।
गोपीले यही फुटपाथको व्यापारले घर खर्च धानेका छन्। महिनाभरको कमाई आफूलाई केही खर्च गर्छन्। बाँकी रहेको घर पठाउँछन्। कहिले आफूलाई मात्र पनि पुर्याउन मुस्किल पर्ने उनी बताउँछन्।
‘व्यापार सधैं एकनाशको हुँदैन। भयो भने दिनमा त्यस्तै सात, आठ सय कमाई हुन्छ। कहिले दुई/चार सय मात्र पनि हुन्छ। यति भए पनि गर्जाे टार्ने बाटो भएको छ,’ गोपी सुनाउँछन्।
गोपी चाडपर्व, बारीमा बाली लगाउने र उठाउने समयमा गाउँ जान्छन्। बाली लगाएपछि फेरि कर्मथलो काठमाडौं फर्किन्छन्। अनि आफ्नो दैनिकीमा लाग्छन्।
काठमाडौं आउनुभन्दा पहिला गोपी रोजगारीको सिलसिलामा भारत गएका थिए। त्यहाँ उनले पाँच वर्ष काम गरे। त्यहाँ काम गरेवापत उनले मासिक सात सय भारु कमाउँथे। पाँच/छ महिना काम गर्ने अनि घर फर्किने अनि फेरि उतै जाने क्रम चलिरह्यो।
कहिले होटलमा त कहिले कपडा फ्याक्ट्रीमा काम गरे। त्यहाँ कमाई गरेको पैसा खर्च गरेर १० हजार बचाएका थिए। त्यो पैसाले गाउँमा १७ रोपनी बारी किने। बारीमा मकै, कोदो र मस्याम जस्ता बाली लगाउँछन्।
‘पाखो बारी छ। फल्न त कोदो, मकै अलिअलि फल्छ। तर, बाँदर लागेर हैरान छ। बाँदरले फूल लाग्न नपाई खान सुरु गर्छ। अरु बाली लाउन बारीमा सुख्खा लागेर केही फल्दैन’, उनी सुनाउँछन्, ‘घरमा श्रीमती, आमा र दुईजना छोरा छन्। दुई छोरीको बिहे भइसक्यो। चाडबाड आउँछ। पाहुनापाछा आउँछन्। टार्ने अरु कुनै आम्दानीको बाटो छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।