पोखरा– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट पोखरा रंगशालामा चलिरहेको छ। आइतबारबाट सुरु क्रिकेटमा नेपाल पुलिस क्लबको डेब्यू प्रतियोगिता हो।
अधिकांश घरेलु प्रतियोगितामा विभागीय टिमको दबदबा रहँदै आइरहेको छ। अहिले चलिरहेको प्रतियोगितामा पनि विभागीय टिम बलियो रुपमा प्रस्तुत भइरहेका छन्।
डेब्यू प्रतियोगिता खेलिरहेको नेपाल पुलिसका लागि सबै खेलाडी नयाँ हुन्। प्रदेशबाट खेल्दै आएका खेलाडीहरु पुलिसमा समेटिएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तानसमेत रहेकी रुविना क्षेत्रीको कप्तानी रहेको पुलिस दरिलो रुपमा प्रस्तुत भएको छ। प्रतियोगिताको दुवै खेलमा पुलिसले सहज जित निकालेको छ। पहिलो खेलमा कर्णाली प्रदेशसँग फराकिलो जित निकालेको थियो।
दोस्रो खेलमा प्रदेश नम्बर १ लाई पनि फराकिलो अन्तरले पराजित गर्यो। दुवै जितको श्रेय पुलिसकी ब्याट्सम्यान सम्झना खड्कालाई जान्छ। उनी दुबै खेलमा म्यान अफ द म्याच घोषित भएकी छन्।
उनै खड्काले कर्णालीविरुद्धको पहिलो खेलमा २१ बलमा २ चौकाको मद्दतले २५ रन जोडिन्। उनले प्रदेश नम्बर १ विरुद्ध ४३ बलमा १० चौकाको मद्दतमा ६० रनको अर्धसतकीय इनिङ खेलिन्।
यो प्रतियोगितामा विभागीय टोलीबाट सम्झनाको पहिलो खेल हो। यसअघि सुदूरपश्चिमको टिमबाट खेल्दै आएकी थिइन्। ०७१ सालबाट बझाङबाट खेल्न सुरु गरेकी उनी यो सिजनबाट पुलिसको टोलीमा आबद्ध भएकी हुन्।
प्रदेशबाटभन्दा विभागीय टोलीबाट खेल देखाउने मौका मिलेको उनी बताउँछिन्। ‘प्रदेशबाट खेल्दा खासै खेल देखाउन पाइनँ। तर, यता देखाउन पाएँ। जहाँ पनि खेल्नुपर्छ तर, मेरो पोजिसन यता मान्छेहरुले बुझिदिए,’ उनले भनिन्।
टिममा आफ्नै क्षेत्रका खेलाडी धेरै भएर पनि आफूलाई सहज भइरहेको उनको भनाइ छ। ‘टिममा धेरै खेलाडी सुदूरपश्चिमकै भएर पनि होला, मलाई धेरै सजिलो भयो। बाँकी त आफ्नै मिहेनतले पनि हो जस्तो लाग्छ’, उनले भनिन्।
अहिलेको प्रतियोगितामा आफ्नो क्लबलाई ‘गोल्ड मेडल’ दिलाउने लक्ष्य रहेको उनले बताइन्। ‘क्लबलाई गोल्ड मेडल जिताएर बेस्ट ब्याटर बन्ने मेरो लक्ष्य छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।