काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवारी फिर्ता लिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उक्त क्षेत्रमा चासो देखाउँदै पत्र पठाएर उम्मेदवार चक्र स्नेहीको उम्मेदवारी फिर्ता गराएका हुन्।
एमालेले यसअघि नै प्रतिनिधि सभातर्फ कांग्रेसबाट बिद्रोह गरेर बीपी कांग्रेसमा पुगेका कर्ण मल्ललाई सघाउने निर्णय गरिसकेको छ। देउवालाई एमालेले यसअघि ५ पटक चुनौती दिएको छ भने एकपल्ट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टलाई सघाएको छ। तर ६ पल्ट नै देउवाले बाजी मारे।
२०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवालाई मंसिर ४ को निर्वाचनमा रोक्ने प्रयास कुनै समय देउवाकै विश्वास पात्र रहेका मल्लले गर्दैछन्। दोहोरो जन्म मितिलाई लिएर उजुरी गर्दै उम्मेदवारी नै खारेज गराउने पहिलो प्रयास भने असफल भएको छ।
प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सात वटा पालिका छन्। जसमध्ये अजयमेरु गाउँपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, नवदुर्गा गाउँपालिका, गन्यापधुरा गाउँपालिका, अमरगढी नगरपालिका र परशुराम नगरपालिका रहेका छन्।
यी पालिका अन्तर्गतका वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ। त्यहाँ कांग्रेसले २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, नेकपा एमालेले १० हजार ४४९, एकीकृत समाजवादीले ५ हजार ४१ र कांग्रेस बीपीले ३ हजार ६०३ मत पाएको छ। त्यस्तै, अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारहरुले २ हजार ५४८ मत पाएका छन्।
२०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ भएको निर्वाचनमा डडेलधुराबाट विजयी भएका देउवालाई स्थानीय तहकको मतभार अनुसार रोक्न मुस्किल छ।
स्थानीय तहमा मल्ल आफैं मैदानमा नभएका कारण उक्त पार्टीले भोट कम लिएको देखिन्छ। तर, मल्लको व्यक्तिगत प्रभाव भने केही बलियो छ। स्थानीय तहको निर्वाचमा देउवाको गृह गन्यापधुरा गाउँपालिका-१ मा कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका थिए। भण्डारी ६ सय ७३ मत ल्याएर विजयी हुँदा कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा ५ पाँच सय ४४ मतसहित पराजित भए।
एमालेको समर्थनसँगै मल्ल केही बलिया देखिएका छन्। स्थानीय तहको मतअनुसार एमालेले ल्याएको १० हजार ४४९ मत मल्लका पक्षमा आउने सम्भावना बढेको छ।
डडेलधुराको दोस्रो ठूलो दलको समर्थन पाएका उनले देउवाप्रति स्थानीयमा रहेको असन्तुष्टिलाई पुँजी बनाउने प्रयास गर्नेछन्। जीवनभर कांग्रेसमा रहेको आफूमाथि देउवाले अन्याय गरेको भन्दै 'न्याय'का लागि चुनाव लडेको उनको प्रतिक्रिया छ।
स्थानीय तहको मतलाई नै आधार मान्ने हो भने कांग्रेस उम्मेदवारको रुपमा देउवालाई जित निकाल्न कठिन छैन। उनलाई उनकै दल कांग्रेसकै मत पनि पर्याप्त हुने देखिन्छ। त्यसमा पनि सत्ता गठबन्धनका अन्य दलहरुले पनि सहयोग गर्दा उनी थप बलिया छन्।
तथ्यांकमा देउवा जति बलिया छन्, राजनीतिक पुँजी भने त्यति सशक्त हुन सकेको छैन। पार्टीभित्रकै असन्तुष्टिले देउवाको साथ छोडेर गएकाहरूको समूह डडेलधुरामा कांग्रेस बीपीको नाममा बलियो बन्दै गएको छ। त्यसको केही संकेत स्थानीय तहको निर्वाचनमा पनि देखिइसकेको छ।
पार्टी केन्द्रमा पनि उनका नीतिप्रति विमति चर्को छ। पार्टी केन्द्रदेखि डडेल्धुरासम्मको असन्तुष्टिलाई जति सहज तरिकाले सम्बोधन गर्छन्, उनको सातौँ संसद् यात्रा उति नै सहज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।