काठमाडौं– युवा फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा पुनरागमन जित निकालेको छ।
पिएसजीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थितिमा सेन्ट इटिएनमाथि ३–१ को सहज जित निकालेको हो। पिएसजीको जितमा एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे। सेन्ट इटिएनका डेनिस वोउएंगाको गोल सान्त्वना बन्यो।
पार्क डेस प्रिन्सेसमा शनिबार राति सम्पन्न खलेमा पिएसजी खेलको १६औं मिनेटमा डेनिसको गोलबाट पछि परेको थियो। ४२औं मिनेटमा एमबाप्पेको गोलबाट पिएसजी खेलमा फर्कियो। एमबाप्पेले लियोनेल मेस्सीको पासमा गोल गरेका थिए।
खेलको ४७औं मिनेटमा मेस्सीकै पासमा दोस्रो गोल गर्दै एमबाप्पेले पिएसजीलाई २–१ ले अघि बढाए। ५२औं मिनेटमा डानिलो पेरेइराले गोल गर्दै पिएसजीलाई खेलमा ३–१ ले अघि बढाए। उनले एमबाप्पेको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी भयो।
जितसँगै शीर्षस्थानमा पिएसजीले १६ अंकको स्पष्ट अग्रता लिएको छ। पिएसजीको २६ खेलबाट ६२ अंक पुगेको छ। समान खेलबाटै दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ। पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।