काठमाडौं- तत्कालीन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सुरु भएको खटपटबाट राष्ट्रिय राजनीतिमा सिर्जित पहिलो घटना वास्तवमा जनता समाजवादी पार्टी (जसपा) जन्मिनु थियो। आफ्नै पार्टीभित्रको शक्तिसंघर्षबाट सबैभन्दा धेरै झस्केका थिए प्रधानमन्त्री एवं नेकपाका दुईमध्ये एक अध्यक्ष केपी शर्मा ओली। खासमा ओलीले आफ्नो पार्टीभित्र संकट पैदा भए पनि सत्ता संकटमा नपरोस् भनेरै उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउन, उस्तै परे फुटेको समूहलाई आफ्नै पार्टीमासमेत भित्र्याउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए।
तर, त्यसले अर्कै परिघटना निम्त्यायो। यादव नेतृत्वको समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच रातारात एकीकरण भएर जसपा जन्मियो। अनि यो पार्टी संघीय संसदमा नेकपा र नेपाली कांग्रेसपछि तेस्रो ठूलो शक्ति बन्नपुग्यो।
तर, नेकपामा जसरी संयुक्त अध्यक्षका कारण सुरु भएको विवाद अन्ततः एकीकरण भएका पुरानै पार्टी ब्युँताउने स्वरुपमा अवतरित भयो, त्यसले नेकपा मात्र नभई जसपालाई पनि लपेट्यो। दुई अध्यक्ष हुनेगरी भएको पार्टी एकीकरणको मोडल नेकपापछि जसपामा आएर ठोक्कियो। जसपामा पार्टी सञ्चालनलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच सुरु भएको खटपट चुलिएर जाँदा अलग पार्टीको अभ्याससम्म पुग्यो। त्यो रस्साकस्सीमा जसपाको आधिकारिता यादवले पाए। ठाकुरले आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठन गरेर नयाँ पार्टी बनाए।
र, जसपामै सुरु भो यादव–भट्टराई टकराब
यसरी जसपा विभाजन भएको ६ महिना पुग्दानपुग्दै यसको आधिकारिकता पाएको पार्टीमै फेरि खटपट सुरु भएको छ। जसपाका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच पछिल्लो समय दूरी बढेको छ। यादवले पार्टीमा सामुहिक नेतृत्वको अभ्यास नगरेको भन्दै भट्टराईले असन्तुष्टि जनाउन थालेका छन्। यतिसम्म कि भट्टराईनिकट नेताहरुले सार्वजनिक रुपमै यादवलाई आरोपित गर्न थालेका छन्।
जसपामा यादव र भट्टराईबीच चिसोपन बढेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा मन्त्री पठाउने निर्णय हुँदादेखि हो। सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्न जसपाले यादवसहित भट्टराई र अशोक राई सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो। कार्यदल बनाउँदा तीन नेतावीचको आपसी परामर्शमा मात्र मन्त्री चयनबारे निर्णय गर्ने भनिएको थियो। अन्त्यमा यादवले आफूनिकट नेतालाई मात्र समेटेर सरकारमा सहभागी गराएको भन्दै भट्टराई र अशोक राई असन्तुष्ट बनेका थिए।
यो असन्तुष्टि जसपाका बैठकहरुमा पनि प्रकट भयो। भट्टराई र राईले बैठकमै यादवलाई पार्टीको सामुहिक भावनाको प्रतिनिधित्व गरेर चल्न ध्यानाकर्षण गराएको बताएका थिए। तर, त्यसको कार्यान्वयन नभएको भन्दै उनीहरु थप असन्तुष्ट बन्दै गए।
त्यो असन्तुष्टि कतिसम्म बढेको छ भने एकथरीले भट्टराई अब जसपा विभाजन गरेर नयाँ पार्टी खोल्ने सुरसारमै लागिसकेको दाबी गरेका छन्। हुनपनि जसपाबाट अलग्गिएर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि बाबुरामले संगठन सुदृढीकरण (सुज) अभियान भन्दै देशैभर गतिविधि गरिरहेका छन्। यही अभियानका नाममा उनी कैयौं जिल्ला पुगे। गत भदौ १ गतेदेखि पुस समान्तसम्म देशैभर यो अभियान चलाउँदा भट्टराईले पार्टीको संगठन बलियो बनाउने भने पनि यादवपक्षले समेत यसलाई बेग्लै पार्टीको अभ्यासका रुपमा बुझेको छ। भट्टराईले यसलाई उपयोग गरेर छुट्टै गुट निर्माण गर्ने र त्यसकै जगमा नयाँ वैकल्पिक धार निर्माणका नाममा अलग पार्टीको अभ्यास गर्न खोजेको भन्दै यादवपक्ष असन्तुष्ट बनेको छ।
यहीकारण हुनसक्छ, यादवपक्षले भट्राईको यो अभियानलाई कतै पनि सहयोग गरेन। संगठन सुदृढीकरण अभियान चलाउँदा पनि यादवपक्षबाट सहयोग नपाएको भन्दै भट्टराईपक्ष पनि आक्रोशित बनेको छ। भट्टराईनिकट जसपाका एक नेताले जुन उत्साहका साथ संगठन सुदृढीकरण अभियान चलाइएको हो, त्यसमा यादवपक्षले असहयोग गरेको बताए।
जसपाकै नेताहरु पनि एकपछि अर्को घटनाक्रमले यादव र भट्टराईबीच दूरी बढ्दै गएको देखाएको बताउँछन्। जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले भने जसपामा विभिन्न पृष्ठभूमिबाट आएका नेताहरु भएकाले बहस र छलफल हुनु स्वाभाविकै रहेको टिप्पणी गरे।
‘मिडियामा आएको जस्तो विवाद छैन। हाम्रो समाज नै नेगेटिभ कुरालाई मन पराउँछ, मिडियाले पनि त्यस्तै कुरा खोज्छ’ यादवले भने, ‘पार्टीमा विभिन्न पृष्ठभूमिबाट आएका नेताहरु हुनुहुन्छ। त्यसैले धेरै बहस र छलफल हुन्छ। जीवन्त पार्टीमा यस्तो हुनु स्वाभाविकै हो।’ पार्टीमा भइरहेको बहस र छलफललाई शीर्ष नेताहरुवीच दुरी बढेको रुपमा अथ्र्याउन नहुने यादवले जिकिर गरे।
भट्टराईनिकट नेता, जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले सार्वजनिक रुपमै यादवको आलोचना गर्नथालेका छन्। उनले पार्टीमा समायोजनको विषयमा यादवले ध्यान नदिएको नेपाल लाइभलाई बताए। ‘सरकारमा जाति, जनजाति, क्षेत्र, भुगोललाई समेत समेटेर मन्त्री पठाउनु पर्ने थियो, त्यो भएन। त्यसपछि समीक्षा गरेर सच्याउने भनिएको थियो, त्यो पनि सच्याइएको छैन’, सुवेदीले भने, ‘पार्टीका विषयमा उपेन्द्रजी एक्लै चलेको जस्तो भयो। बाबुरामजीलाई धेरै जानकारी नहुने ढंगबाट निर्णयहरु भएका छन्।’
राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार चयनले यो दूरी थप बढाएको छ। यादवले आफू अनुकुल उम्मेदवार बनाएको भन्दै जसपामा असन्तुष्टि देखापरेको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा सुवेदी जान खोजेपनि यादवले उनलाई रोकेर कांग्रेसलाई छाडिदिएपछि विवाद थप बढेको हो।
भट्टराईको ध्यान वैकल्पिक शक्ति, यादव प्रचण्डसँग नजिकिँदै
पछिल्लो समय यादव र भट्टराईबीचको टकराव कतिसम्म बढेको छ भन्ने प्रष्ट देखिन थालेको छ। यादवले आफ्नो कम्युनिस्ट राजनीतिको पृष्ठभूमिबारे बेलाबेला आफूनिकट नेताहरुलाई बताउने गरेपनि त्यसको झल्को दिनेगरी सार्वजनिक कार्यक्रममा यसबारे बोल्दैन्थे। माओवादी पृष्ठभूमिबाट आएको विषयमा त उनले सार्वजनिक रुपमा संकेत समेत कहिल्यै गरेनन्। तर, माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनका दिन, गत पुस ११ गते यादव अर्कै देखिए। ‘यो हलमा मैले देखिरहेको छु, कमरेड प्रचण्ड, सीपी गजुरेलजी लगायत अरु साथीहरु सबै कुनै जमानामा भीषण लडाइँको मैदानमा भूमिगत अर्धभूमिगत विभिन्न ठाउँमा रहेर सँगै काम गरेको सम्झना अहिले आइरहेको छ’, यादवले भनेका थिए, ‘त्यही जगबाट उभिएर पछि एतिहासिक मधेश जनविद्रोह गरेको हुँ। माओवादी जनयुद्ध र मधेश जनविद्रोह नभएको भए यो मुलुक संघीय लोकतान्त्रिक हुने थिएन।’
उपेन्द्रले माओवादी पार्टीमा काम गरेको अनुभव सुनाएलगतै प्रचण्डले त्यसलाई खेर जान दिने कुरै थिएन। पछि सम्बोधनका क्रममा प्रचण्डले पनि यादवलाई कमरेड भन्न छुटाएनन्। जसपाका एकथरी नेताहरुले यसलाई प्रचण्ड र यादवबीच निकटता बढ्दै गएको रुपमा समेत बुझेका छन्। यादवले क्षेत्रीय पार्टीबाट मात्रै मुलुकको कार्यकारी पदमा पुग्ने सपना पुरा हुने नदेखेपछि प्रचण्डसँग सहकार्य बढाउन खोजेको हुन सक्ने आकलन पनि एकथरीले गरेका छन्। तर, पार्टी एकता नै गर्नेगरी भने छलफल अघि नबढेको माओवादी नेताहरु बताउँछन्।
भट्टराईको यादवसँग चिसोपन बढ्ने अर्को कारण यो पनि हो। किनभने भट्टराईले माओवादी मात्र होइन, कम्युनिस्ट राजनीति नै छाडेको घोषणा गरिसकेका छन्। कम्युनिस्ट विचार नै छाडिसकेको उद्घोष गरेका उनको एकपटक असफल भइसके पनि वैकल्पिक शक्ति बनाउने प्यास अझै मेटिएको देखिँदैन। माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लगायतसँग एकता हुने भएमा त्यो कम्युनिस्ट नमान्ने सर्तमा मात्रै सम्भव हुने उनले बताउने गरेका छन्।
भट्टराईले अमेरिकी सहयोग परियोजना, एमसीसी सम्बन्धी सम्झौता संसदबाट तत्काल पारित गर्नुपर्ने बताउन थालेका छन्। जसपासहितको सत्तारुढ गठबन्धनको धारणाभन्दा बाहिर गएर एमसीसीको वकालत गरेको भन्दै यादवपक्ष भट्टराईसँग असन्तुष्ट छ। इादवले भने एमसीसीका विषयमा सार्वजनिक रुपमा मुख खोलेका छैनन्। उनी माओवादी केन्द्र र एकीकृत समाजवादीको जस्तै एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।