काठमाडौं- नसर्ने रोग तथा सूर्तीजन्य पदार्थ विरुद्धका लागि एशिया प्यासिफिक क्षेत्रका मेयरहरुको अन्तराष्ट्रिय सञ्जाल 'एपिक्याट'को छैटौं सम्मेलन सम्पन्न भएको छ।
इन्डोनेशियाको जाकार्तामा भर्चुअल रुपमा भएको छैटौं सम्मेलनमा नेपाललगायत १२ देशका ७८ जना मेयरहरुले सहभागिता जनाएका थिए। 'मिलेर स्वास्थ्य समस्याको समाधान खोज्नेछौं' भन्ने थिममा केन्द्रित रहेको उक्त सम्मेलनमा १९ देशबाट १३० नगरका ८ सय जना सहभागी थिए। सहभागी हुनेह मेयर, गभर्नर जनस्वास्थ्य विज्ञ, मिडियाकर्मी र युवाहरु थिए।
उनीहरुले सूर्तिजन्य पदार्थमुक्त नगर बनाउन एकआपसमा अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै आगामी दिन अझै प्रतिबद्ध भएर लाग्ने प्रण गरेका छन्।
नेपालका नगरहरुका तर्फबाट भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहालले सहभागिता जनाइन्। उनले सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्ति कोभिड १९ को समेत उच्च जोखिममा रहनेमा कुनै शंका नरहेको बताइन्। त्यसैले सूर्तिजन्य पदार्थको नियन्त्रण जनस्वास्थ्यलाई प्रवर्द्धन गर्नु मात्रै नभएर कोभिड १९ बाट हुने मृत्युबाट पनि जोगाउनु रहेको उनको भनाइ थियो।
आफूले भरतपुरलाई धुम्रपानमुक्त शहर बनाउने घोषणा यसअघि नै गरिसकेको बताउँदै उनले भनिन्, 'सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट हामीले गएको आर्थिक वर्षमा ९६ हजार रुपैयाँ जरिवाना संकलन गरेका छौं।' उपमहानगरले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई १०० रुपैयाँ जरिवाना गराउने गरेको बताइन्।
सम्मेलनमा बोल्दै द युनियनका एशिया प्यासिफिक निर्देशक डा तारासिंह बमले स्वास्थ्य राजनीतिक छनोट रहेको बताए। उनले भने, 'स्वास्थ्य राजनीतिक छनोट हो, जसले सार्वजनिक स्वास्थ्य नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनको लागि नेतृत्व, जवाफदेहिता र दिगोपन सुनिश्चित गर्नुपर्दछ। यसैबाट अहिले झेलिरहेका र भविष्यमा आइलाग्ने महामारीहरू रोक्न सकिन्छ।'
उनले एपिक्याट सूर्तिजन्य पदार्थको नियन्त्रण, नसर्ने रोग र फोक्सो सम्बन्धी रोगका सम्बन्धमा गरिएका खोज, समाधानका उपाय र सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा अनुभवहरु आदानप्रदान गर्ने थलो रहेको बताए।
विश्व स्वास्थ्य संगठनकी नसर्ने रोगतर्फकी निर्देशक डा सेवत्लाना अक्सेल्रडले कोभिड १९ र नसर्ने रोगहरूको दोहोरो महामारीले विश्वलाई ठूलो संकटमा पारेको बताइन्। उनले थपिन्, 'जुन एकल देश वा सरोकारवालाले समाधान गर्न सक्दैन। सरकार, डब्ल्यूएचओ र संयुक्त राष्ट्र संघका अन्य एजेन्सी, नागरिक समाज, शिक्षाविद् र निजी क्षेत्रलाई एकै ठाउँमा ल्याउन विश्वव्यापी सहयोगलाई बढाएर मात्र हामी यसलाई नियन्त्रण गर्न सफल हुन्छौं।' यसले मात्रै दीगो विकास लक्ष्य र युनिभर्सल हेलेथ कभरेज पूरा गर्न सकिनेमा उनले जोड दिइन्।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालमा सूर्तीजन्य पदार्थको बोझ ठूलो रहेको उल्लेख गरे। नेपालमा यसको नियन्त्रणका लागि कडा कानुन रहेको उल्लेख गर्दै थपे, 'प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। विशेषगरी सूर्तिजन्य पदार्थका उद्योगहरुको प्रभावमा नियमन निकाय रहेकाले अपेक्षित प्रगति हुन सकेको छैन।'
यसबाहेक नेपालले डब्लुएचओ एफसीटी ५.३ र अन्य अन्तर्राष्ट्रिय मञ्चहरूमा गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्नेमा जोड दिए। सोही सम्मेलनमा एपिक्याटका बोर्ड डाइरेक्टर विश्वप्रकाश गिरिले मेयरहरू स्वास्थ्य र विकासमा गेम चेन्जर रहेको बताए। उनले भने, 'मेयरहरू स्वास्थ्य र विकासमा गेम चेन्जर हुन्। एपीक्याटले स्थानीय समस्याहरूको नयाँ रणनीतिक समाधानहरू खोज्ने साझा मञ्च प्रदान गर्दछ।'
सम्मेलनबाट सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने, नसर्ने रोगको रोकथाम गर्ने, कोभिड १९ का लागि भूमिका निर्वाह गर्ने स्वास्थ्य र विकासका नीतिका लागि कटिबद्ध रहने, सूर्तिजन्य पदार्थका उद्योगको प्रभाव बढ्न नदिन चट्टानझै अडिग रहने, अन्य स्वास्थ्य संकटबाट बच्न महामारीको समयमा पनि नियमित खोप कार्यक्रम सञ्चालन गर्ने, क्षयरोग नियन्त्रणमा प्रतिबद्ध रहने र आमाबाट बच्चालाई भाइरल हेपाटाइटिस सर्न नदिन सक्रिय रहने जस्ता घोषणा भएका छन्।
नेपालमा सूर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार १३२ व्यक्तिको मृत्यु हुन्छ। यो जम्मा मृत्युको १४ दशमलव ९ प्रतिशत हो। स्टेप सर्वे २०१९ का अनुसारर १५ देखि ६९ उमेरसमूहका जम्मा जनसंख्याको २८ दशमलव ९ प्रतिशत वयष्कले सूर्तिजन्य पदार्थ सेवन गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।