अटोमोबाइल व्यवसायीहरूबीच अहिले चुनावी सरगर्मी बढेको छ। अटोमोबाइल व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको साधारणसभा यही बुधबार र बिहीबार (मङ्सिर २२ र २३) काठमाडौंमा हुँदै छ। उक्त साधारणसभामा आगामी नेतृत्वका लागि दुईजना आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
अध्यक्षका प्रत्यासीमध्येका एक हुन् वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी। उनले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशकसमेत रहेका चौधरी १६ वर्षदेखि आफू यस क्षेत्रमा कार्यरत रहेको बताउँछन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएको नाताले पनि यस संस्थाको नेतृत्व गर्नको लागि आफू तयार रहेको उनको भनाइ छ। अध्यक्षका प्रत्यासी चौधरीसँग अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडाको साधारणसभा र आगामी नेतृत्व दाबी गर्दा अघि सारेका योजनाहरूमा केन्द्रित रहेर नेपाल लाइभकी सुमित्रा कार्कीले गरेको कुराकानी:
नाडाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, अध्यक्षमा तपाईंको दाबी किन?
नाडामा मेरो वा अन्य कसैको नेतृत्व किन भन्नुभन्दा पनि नाडालाई अहिले सक्षम नेतृत्वको आवश्यकता छ। नाडालाई माथिल्लो लेबलमा पुर्याउन आवश्यक छ। नाडालाई नयाँ उचाईमा पुर्याउन र यसभित्र रहेका विकृति हटाउन मैले उम्मेदवारी घोषणा गरेको हो। अहिले नाडाको प्रादेशिक संरचनालाई विकसित बनाएर अगाडि बढाउन आवश्यक छ। म वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएको कारण यो कामलाई पूर्णता दिन नेतृत्वमा आउन चाहेको हुँ। यस कारण म यो नेतृत्वमा नभएर को त? भन्ने प्रश्न पनि छ।
नाडाको नेतृत्व गर्न तपाईंका योजनाहरू के-के छन्?
मेरो मुख्य योजना भनेकै नाडालाई कसरी शुद्धीकरण गरेर अगाडि बढाउने भन्ने हो। कसरी नाडालाई देशव्यापी रूपमा समेटेर लग्ने भन्ने योजना पनि अर्को मुख्य योजना हो। नाडामा कसरी धेरैभन्दा धेरै मान्छे समेट्न सकिन्छ, प्रादेशिक संरचनालाई कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ, त्यो कुरामा नै फोकस भएर हाम्रो टिम लाग्नेछ।
तपाईंका प्रतिस्पर्धीको भन्दा फरक योजना के छन्?
म नाडाको कार्यसमितिमा बसेर काम गरेको दुई वर्ष भयो। मैले यो चुनाव जितेर कुनै पहाड फोड्छु, यो गर्छु त्यो गर्छु भन्ने गर्न नसक्ने योजना बनाएर कसैलाई झुक्याउने तरिकाले चुनावमा आएको छैन। नाडामा जति कुरा सुधार गर्न आवश्यक छ, त्यो काम गर्ने नै मेरो योजना छ। यस्तै, कोरोनाको कारण अहिले अटोमोबाइल व्यवसायमा परेको असर न्यूनीकरणका लागि पनि मेरो योजना केन्द्रित छ। यसमा आएका व्यवसायी साथीहरूको गुनासोलाई समेट्ने मेरो प्रयास हुनेछ।
कोरोना महामारीले अटोमोबाइल व्यवसाय क्षेत्रमा के कति असर पुर्यायो? यसलाई पुनरुत्थान गर्न कस्तो योजना बनाउनुभएको छ?
कोरोनाले नेपालमात्र नभएर विश्वमा नै क्षति गरेको छ। यसले सबै मान्छेको गाँस, बास र कपासमा असर गरेको छ। यसले गर्दा अहिले मानिस बाँच्ने केका लागि भन्ने औचित्य आज पुष्टि गर्नुपर्ने अवस्था आएको छ। नाडामा बसेर मैले एउटा के कुरा सोचे भने नाडामा जति पनि व्यवसायी हुनुहुन्छ, उहाँहरूले आज यो व्यवसायको संरक्षण गर्न सकेन भने नाडा संस्था हुनुको औचित्य हुँदैन। यसकारण मेरो ‘मेन फोकस’ भनेको आज अटोमोबाइल व्यवसायमा जति क्षति भएको छ। जस्तै, कति व्यवसायीले परिवार गुमाएका छन् भने कति व्यवसायी आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, यो पनि मेरो मेन अजेण्डा हो।
यस क्षेत्रका मजदुरहरू पनि महामारीबाट प्रभावित भएका छन्, उनीहरुको राहतका लागि केही योजना छ कि ?
कोरोना महामारी सुरु भएको दुई वर्ष हुन लाग्यो, अहिलेसम्म मैले मेरो कम्पनीमा यसको कुनै पनि क्षति हुन दिएको छैन। कम्पनीको कामदार हुन् वा मेरो परिवारकै कोही सदस्य मैले यो महामारीमा सबैलाई समान खालको व्यवहार गरेको छु। यो महामारीबाट बचाउनको लागि मैले कम्पनीको कर्मचारीको औषधिदेखि सेफ्टीसम्मको कुरामा काम गरेको छु।
मैले नाडाको नेतृत्व सम्हाल्दा पनि सम्पूर्ण अटोमोबाइल व्यवसायमा कार्यरत मजदुरको गुनासा सम्बोधन गर्ने योजना बनाएर अगाडि बढ्नेछु। मैले कोरोना महामारीमा कुनै पनि कर्मचारीलाई आफ्नो व्यवसायबाट बेरोजगार बनाएको छैन। यसकारण नाडाभित्र रहेर पनि मैले यही गतिमा काम गर्नेछु।
विलासी वस्तुको रूपमामात्र प्रयोग भइरहेको गाडी सर्वसाधारणको पहुँचबाहिरको कुरा बनेको छ। सर्वसाधारणकोसमेत पहुँच पुग्ने अवस्थामा पुर्याउन कतिको सम्भव छ?
हामीले गाडीलाई विलासिताको वस्तु होइन भनेर सरकारलाई बुझाउनुपर्ने विषय बनेको छ। सरकारले गाडीलाई विलासिताको वस्तु भनेको छ। विलासिता भनेको के? यसको परिभाषा के? गाडीलाई विलासिता भन्छौं भने १०/१५ लाख पर्ने गाडी विलासिता होकि हैन? सरकारले विलासिताको गाडी भनेर कति पर्ने गाडीलाई भनेको हो? यसको परिभाषा निकाल्न आवश्यक छ।
जबसम्म सरकारले यति मूल्यसम्मको गाडीलाई विलासिताको लागि प्रयोग गर्ने भनेर त्यसको परिभाषा निकाल्दैन तबसम्म सरकार र व्यवसायीबीचको फरक धारणाको अन्त्य हुँदैन। सरकारले बुझ्ने विलासिताको अर्थ फरक होला हामी व्यवसायीले बुझ्ने विलासिताको अर्थ फरक होला। यसको विषय नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ।
भारतलगायत विभिन्न मुलुकबाट हुने आयातलाई विस्थापन गरेर नेपालमै गाडी उत्पादन गर्ने वातावरण बनाउन तपाईंको योजना के छ ?
नेपालमा गाडीको उत्पादन गर्न एकदमै सम्भव छ। यसको नीति पनि बनिसकेको छ। नेपालमा गाडी उत्पादन गर्ने भन्ने विषयको पनि परिभाषा निर्धारण गर्न आवश्यक छ। गाडी एसेम्बल गर्न सक्छौैं। पार्टहरू ल्याएर नेपालमै एसेम्बल गर्न सकिन्छ।
उत्पादन भन्नाले नेपालमै सबै पार्टहरू उत्पादन गरेर जोड्ने हो। त्यसो गर्नसक्ने अहिले नेपालमा सम्भावना छैन। बाहिरबाट पार्ट्सहरू खरिद गरी नेपालमा ल्याएर जोडेर गाडी बनाउनसक्ने अवस्था भने रहेको छ। यो काम गर्न सरकारसँग नाडाले एउटा नीति निर्णय गरेर त्यसलाई कसरी कार्यन्वयनमा ल्याउन सकिन्छ। त्यो कुरामा म निर्वाचित भए पहल गर्नेछु।
पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गरेर विद्युतीय सवारीको प्रयोग बढाउने भन्नुभयो, यसको लागि ठोस योजना कस्तो छ?
विद्युतीय सामानको आयात गर्नु, बाहिरबाट ल्याउनु र बेच्नु नै अहिलेको अवस्थामा विद्युतीय साधनको प्रयोग बढाउनु हो। यो नै अहिले चुनौतीको विषय बनेको छ। यसलाई चाहिने पहिलो चिज भनेको पूर्वाधार हो। अहिले पूर्वाधार नबनेको अवस्थामा मैले जति विद्युतीय गाडीमा जोड दिए पनि, जति खरिद गरेर ल्याए पनि बेच्न सक्ने अवस्था छैन। अहिले गाडी चार्ज गर्ने कता? ब्याट्री परिवर्तन गर्नुपर्ने अवस्था आउला त्यो कहाँ लगेर परिवर्तन गर्ने? यस्ता पूर्वाधारको आवश्यकता छ।
म नाडाको अध्यक्ष भएँ भने म पहिलो विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने हिसाबले अग्रसर भएर यसमा लाग्नेछु। कसरी विद्युतीय गाडीको लागि पूर्वाधारको विकास गर्न सकिन्छ, त्यसतर्फ लाग्ने योजना बनाउँछु।
तपाईंले भन्नुभए जस्तै विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासका लागि तत्काल के-के काम गर्ने योजना छ?
विद्युतीय गाडीको चार्जिङ स्टेसन बनाउनका लागि अलिकति होमवर्क गरेर अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ। यसका लागि सरकारबाट पनि पहल गर्न आवश्यक छ। यसमा सरकारसँग हातेमालो गरेर नाडालाई अगाडि बढाउने मेरो योजना छ। यो अहिलेको आवश्यकता पनि हो।
अटोमोबाइल क्षेत्रमा हाल रहेका समस्याहरू के-के हुन्?
पहिलो त सरकारले अटोमोबाइल व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। आज सरकारले जुन तरिकाले यो क्षेत्रलाई हेर्छ, दृश्य परिवर्तन गर्न सकौं र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रको रूपमा राख्न सकियो भने नै आज देशको अर्थतन्त्रको समस्या समाधान हुन्छ। भन्सार विभागको समस्या समाधान हुन्छ। यसबाहेक अन्य केही नीतिगत र व्यावहारिक समस्याहरू छन्। त्यसलाई समाधान गर्न म पूर्णत: पहल गर्नेछु।
नाडाले सवारी व्यवसायीको अजेण्डा मात्र उठाउँछ, उपभोक्ताको अजेण्डालाई खासै महत्त्व दिँदैन भन्ने गुनासो छ नि?
त्यो भनेको समस्या धेरै भयो, समाधान गर्ने निकाय भएन भन्छु म। यो पक्षमा हामीले सुधार गरेर समस्याको समाधान गर्न लाग्नुपर्ने अवस्था आएको छ। हामी जुन मिहेनत र लगनशीलताका साथ काम गरिरहेका छौं, त्यसअनुसारको नतिजा दिन सकिएको छैन। तर, त्यो चाँडै देखिन्छ र त्यसको समाधान आएपछि कति काम गरेको छ भन्ने देखाउनेछ।
मोफसलका व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न के-कस्तो योजना बनाउनुभएको छ?
मोफसल अहिले चर्चित विषय बनेको छ। प्रादेशिक संरचनामा गएपछि सबैलाई समेट्दा यो चिज पनि आएको हो। यसमा म एकदम खुसी पनि छु कि यो कुरालाई सबैले उठाएका छन्। नाडा भनेको एउटा देशव्यापी संस्था हो भन्ने कुरा यसले प्रमाणित गर्छ। हाम्रो प्यानलमा सातवटै प्रदेशका प्रतिनिधिहरू रहनुभएको छ। यसमा मैले गर्ने भनेको उहाँहरूको सल्लाह, सुझाव र गुनासाहरू लिने र त्यसलाई समाधान गर्ने हो। म यो कुरामा सधैं सक्रिय र सजग रहनेछु।
अन्त्यमा केही...?
अटोमोबाइल क्षेत्रमा म सानैदेखि लागेको हुँ। यस क्षेत्रको बारेमा पूर्ण जानकार छु। म आफैं यो क्षेत्रमा लागेको पनि १६ वर्ष भयो। मैले अटोमोबाइल क्षेत्रमा सुरुआत मेकानिक भएर गरेको थिएँ। गाडी बनाएको अनुभूति गर्न हातमा मोबिल लाग्नुपर्छ भन्ने भनाइ नै छ।
चौधरी समूहको धेरै व्यवसाय भए पनि मेरो व्यवसाय भनेको अटोमोबाइल नै हो। मेरो सुरुआत पनि यही हो। मेरो लगनशीलता र मेरो यो व्यवसायप्रति भएको आत्मीयताले नै आज मलाई नाडाको अध्यक्षको दाबेदार बनाउन सक्यो। यसकारण यो साधारणसभाबाट मैले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाउनेछु भन्ने मलाई विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।