काठमाडौं– एमालेको दशौं महाधिवेशनमा अध्यक्षको प्रत्यासी बनेर पराजित भएका नेता भीम रावलले आफूले पार्टीलाई विधि, पद्धति र सिद्धान्तमा हिँडाउन अन्तिमसम्म प्रयत्न गरेको बताएका छन्।
महाधिवेशन सकिएको भोलिपल्ट ट्वीटरमार्फत् उनले आफूलाई साथ, समर्थन, मत र उत्साह दिनेहरुलाई धन्यवादसमेत दिएका छन्।
‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ’, उनले लेखेका छन्, ‘मलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिँदै कृतज्ञता प्रकट गर्दछु।’
रावलले अध्यक्षमा २२३ मत प्राप्त गरेका थिए। प्रतिद्वन्द्वी केपी शर्मा ओली भने भारी मतका साथ विजयी भएका थिए।
एमालेको निर्वाचन आयोगले रावल केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएको जनाएको छ। तर, रावलले भने आफूले सदस्यमा उम्मेदवारी नदिएको बताउँदै केन्द्रीय सदस्यको पद अस्वीकार गरेका छन्।
महाधिवेशन समापनअघि बन्दसत्र हलमा नवनिर्वाचित अध्यक्ष ओलीले पदाधिकारी र सदस्यहरुलाई सपथ गराउँदा रावलले सपथ पनि लिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।