काठमाडौं- नेकपा एमालेको पदाधिकारीमा पहिलोपल्ट दलित र मधेशी समुदायका नेताहरु निर्वाचित भएका छन्। दशौं महाधिवेशनबाट सचिवमा छविलाल विश्वकर्मा र रघुवीर महासेठ निर्वाचित भएका हुन्।
अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा परेका उनीहरुमध्ये विश्वकर्मा १८०३ र महासेठ १५०० सय मतसहित विजयी बनेका हुन्। दलितबाट यसअघि कसैले पदाधिकारीमा प्रयास नै गरेका थिएनन्।
मधेशी समुदायबाट भने आठौंमा रामचन्द्र झा र रघुवीर महासेठले सचिवमा चुनाव लडेका थिए तर पराजित भए। त्यसैगरी नवौंमा धर्मनाथ साह र लालबाबु पण्डितले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पनि जित्न सकेनन्। सचिवमा रघुवीर महासेठ दोस्रोपटक पनि पराजित भए। तेस्रो प्रयासमा सफल भएका महासेठ उक्त समुदायबाट एमालेको उच्च पदमा पुग्ने पहिलो बनेका छन्।
महासेठ एमालेको राजनीतिमा विद्यार्थीकालमै जोडिएका हुन्। इन्जिनियरिङ गरेका उनी एमालेको नौ महिने शासनकाल (२०५१)मा उदयपुर सिमेन्ट कारखानाको कार्यकारी अध्यक्ष नियुक्त भए। त्यो पद प्राप्त गर्नुमा झलनाथ खनालसँगको निकटता महत्वपूर्ण कारण रहेको एमाले नेताहरु बताउँछन्।
तर २०५४ सालमा एमालेमा विभाजन हुँदा महासेठ बामदेव गौतमतर्फ लागे र मालेको केन्द्रीय सदस्यसमेत भए। माले र एमालेको एकतापछि २०५९ सालमा भएको सातौं महाधिवेशनमा एमाले केन्द्रीय सदस्य बने।
२०६५ सालमा संविधानसभा उपनिर्वाचनमा धनुषा-४ बाट उनले जित हासिल गरे। २०७४ सालको आम निर्वाचनमा प्रदेश २ का ३२ निर्वाचन क्षेत्रमध्ये जम्मा २ ठाउँमा एमालेले जित्यो, एक लीलानाथ श्रेष्ठ थिए भने अर्को महासेठ।
उक्त प्रदेशबाट निर्वाचन जित्ने मधेशी समुदायका एक मात्र नेता बन्दा उनको एमालेमा प्रभाव बन्थ्यो नै। त्यसैमाथि मधेशका पुराना एमाले नेताहरु रामचन्द्र झा, महेन्द्रराय यादवले पार्टी छाडेका थिए। मधेशलाई लक्ष्य गरेर नेतृत्वमा अघि बढाउनुपर्ने उनी निर्विकल्प पात्र बने।
नवौं महाधिवेशनमा सदस्यमै हारेका थिए। तर २०७३ सालमा उनी र उनकी श्रीमती जुलीकुमारी महतो समेत एमालेको केन्द्रीय सदस्य मनोनित भए। एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि उनलाई स्थायी कमिटी सदस्य बनाइयो। एकीकरण भंग भएपछिको एमालेमा पनि उनी स्थायी कमिटी सदस्यकै हैसियतमा रहँदै ओली पक्षले प्रदेश २ को इन्चार्ज समेत बनायो। अहिले ओलीबाटै प्रस्तावित भएर उनी सचिव जित्न सफल भएका हुन्।
विश्वकर्मा राजनीतिमा आउनुअघि भलिबल खेलाडी थिए र राष्ट्रिय टिमका रहेर खेलिसकेका थिए। एमालेको भारत प्रवास संगठनबाट उनले राजनीतिक यात्रा थालेका हुन्। आठौं महाधिवेशनमा विश्वकर्माले दलित कोटबाट एमालेको केन्द्रीय सदस्यमा जिते। नवौंमा उनले खुला प्रतिष्पर्धाबाटै केन्द्रीय सदस्य जिते। उनी स्थायी कमिटी सदस्य समेत चुनिए।
रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्य रहेका उनी सुरुमा माधव नेपालनिकट भएपनि आठौं महाधिवेशनबाट ओलीनिकट पुगेका हुन्। दशौं महाधिवेशनमा ओलीको प्रस्तावबाटै उनी सचिव जित्न सफल भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।