काठमाडौं- 'पार्टी नेतृत्वले कुन भूमिकामा विश्वास गर्छ र जिम्मेवारी दिन्छ थाहा छैन तर, म जुनसुकै जिम्मेवारीका लागि तयार छु। मसँग सबै खालका जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता रहेको दाबी गर्छु। प्रतिस्पर्धा गर्नुपर्दा पदाधिकारीमै गर्छु,' एमालेको दशौं महाधिवेशन सुरु हुनु चार दिनअघि नेपाल लाइभसँग नवनिर्वाचित एमाले सचिव पद्मा अर्यालले भनेकी थिइन्।
अर्याललाई अध्यक्ष केपी शर्मा ओलीले सचिवका लागि विश्वास गरे। अर्यालले प्रतिष्पर्धा पनि त्यही पदमा गर्नुपर्यो। प्रतिस्पर्धामा उनले १७९९ मतसहित जित हासिल गरिन्।
एमाले केन्द्रीय कमिटीबाट सिधै पदाधिकारीमा फड्कोे पार्ने उनी एक्लो हुन्। बाँकी पदाधिकारी कि पदाधिकारी नै थिए, कि पोलिटब्युरो, स्थायी कमिटी हुँदै यहाँ आइपुगेका हुन्।
कार्यकारी पदका लागि प्रतिष्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्
उनको अपेक्षा यसपल्ट पदाधिकारीमा महिलाको उपस्थिति बढ्छ भन्ने थियो। पद्मालाई महाधिवेशनअघि लागेको थियो, 'आठौं महाधिवेशनमा पदाधिकारीमा महिलाको उपस्थिति शून्य भएन। नवौंमा दुईजना हुनुहुन्थ्यो, त्यसमा यसपल्ट बढोत्तरी हुनुपर्छ।' उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा उनीसमेत गरेर १९ सदस्यीय पदाधिकारीमा जम्मा दुईजना महिलाको उपस्थिति भयो।
राजनीतिक दृष्टिबाट हेर्दा पदाधिकारीमा अर्यालको उपस्थिति अर्थपूर्ण छ। उमेर हदका कारण अन्तिम कार्यकाल हुनेछ शाक्यको। एमाले पदाधिकारीमा महिलाको उपस्थिति मात्रै होइन, महत्त्वपूर्ण पदमा प्रतिष्पर्धा गरेर जित हासिल गर्दै इतिहास बनाउने अवसर अर्याललाई छ।
कार्यकारी पदका लागि प्रतिस्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्। मतदानबाट जिल्ला अध्यक्ष जित्ने एमालेको पहिलो महिला थिइन् उनी।
२०७५ सालको निर्वाचनमा उनले प्रत्यक्ष निर्वाचनबाटै चुनिने बाटो रोजिन्। उनका आफ्नैहरुले पनि स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ बाट चुनाव जित्नु 'फलामको चिउरा चपाएसरह हो' भन्थे उनलाई। किनभने तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री अनि कांग्रेसका सक्रिय नेता गोपालमान श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए। उनलाई लाग्छ, ‘त्यो चुनाव, चुनाव मात्रै थिएन, राज्यसँगकै लडाइँ थियो।’
चुनाव निकै तनावपूर्ण भयो। चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर, अर्यालले विजय हासिल गरिन्।
अहिलेको सचिव पद, त्यो रोजाइको प्रतिफल पनि हो। पदाधिकारीका आकांक्षी अर्यालका समकक्षी मात्रै होइन, उनी भन्दा पुराना महिला नेतृहरु पनि थिए। तर, निश्चित भूगोल भएकी उनलाई अघि बढाउँदा पार्टीलाई पनि लाभ हुने हिसाबकिताब नेतृत्वले निकाल्यो। एमालेको सचिवका रुपमा उनले प्रतिनिधि सभा चुनाव लड्दा जित्ने सम्भावना बढी हुने गणितले अर्याललाई पनि लाभ भयो।
अर्याल राजनीतिक रुपमा 'एक्सपोज' भएको ३८ वर्ष भयो। २०४० सालमा सिन्धुपाल्चोकमा ‘पिस्कर कान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिइन्। तिखो स्वरमा वजनदार भाषण गरेर कार्यक्रमबाट फर्किइन्। त्यसपछि ‘पद्मा अर्याल’ नामकी महिला राजनीतिज्ञको चर्चा स्थानीयस्तरमा हुन थालेको हो।
राजनीतिमा यो स्थानमा आइपुग्न उनलाई सजिलो भएको होइन। आफ्नो राजनीतिक जीवनमा तीन चरणका संघर्ष गर्नुपरेको उनको अनुभूति छ। महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोणका कारण सुरुमा घरबाट फुत्किनै संघर्ष गर्नुपर्यो। त्यसपछि पार्टीमा रहेका पुरुष नेता बराबरकै प्रतिस्पर्धात्मक क्षमताको विकास अर्को संघर्ष थियो। अहिले आफूलाई फरक क्षमतासमेत भएकी नेतृका रुपमा उनले प्रमाणित गरिरहेकी छिन्।
स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्
अहिलेका महिलाहरुसँग तीनमध्ये पहिलो, ‘घरबाट निस्किन’ गर्नुपर्ने संघर्ष हटेको छ। उनले यहाँनेर आफूले घरबाट निस्कन गरेको संघर्षका केही थान घटना सुनाइन्। त्यो मिति २०३९ सालतिरको हो। त्यतिबेला उनी अनेरास्ववियु पाँचौंको सदस्य थिइन्।
भूमिगत पार्टीको विद्यार्थी संगठन सदस्य उनलाई संगठन गर्न राति निस्किनुपर्ने भयो। परिवारले हुर्किंदै गरेकी छोरीलाई रातविरात बाहिर जान कहाँ दिनु? घरका सबै सुतिसकेपछि उनी मान्छेकै आकारमा सिरक बनाएर बेडमा राख्थिन्।
स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्
२०४१ सालमा स्कूलको प्रारम्भिक कमिटीकी सदस्य भएकी उनले पार्टीको जिल्ला, अञ्चल र केन्द्रका सबै समितिमा बसेर काम गरिसकेकी छन्। राजकीय पदका कुरा गर्दा २०५४ सालमा वडा सदस्य बनेकी उनी २०७५ सालमा मन्त्री बनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।