सौराहा- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ। चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सकिएको हो।
अब दोस्रो बैठक मङ्सिर २५ र २६ गते काठमाडौंमा बस्ने जानकारी दिइएको छ। उक्त बैठकले स्थायी र पोलिट्ब्युरो गठन गरी नेताहरुको जिम्मेवारी बाँडफाँट गरिने बताइएको छ।
बैठकलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले सशक्त भएर पार्टीलाई अगाडि लैजान आ-आफ्नो क्षेत्रमा खटिन निर्देशन दिए। अन्तरविरोध र गुटबन्दीमा नलागेर पार्टीलाई बलियो बनाउने दिशामा अगाडि बढ्न उनले निर्देशन दिए।
साथै, अनुशासित भएर जनताको पक्षमा काम गर्न पनि उनले आग्रह गरे।
आज सार्वजनिक मत परिणामअनुसार ओली पुन: अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी भीम रावल भारी मतले पराजित भएका थिए। अध्यक्षमा पराजित रावल केन्द्रीय सदस्यमा निर्वाचित भए पनि उनले कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन्।
एमालेको १०औं महाधिवेशनबाट पदाधिकारीसहित अधिकांश पदमा सर्वसम्मत चुनिए पनि अध्यक्षसहित केही पदका लागि निर्वाचन भएको थियो। महाधिवेशनमा अध्यक्ष ओलीपक्षले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने प्रयास गरे पनि रावलपक्षले अस्वीकार गर्दै उम्मेदवारी दर्ता गरेपछि निर्वाचन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।