सौराहा– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। गत शुक्रबार चितवनको नारायणी किनारमा उद्घाटन सत्र गरेको उसले बाँकी सम्पूर्ण कार्यक्रम सौराहामा सम्पन्न गर्यो।
विधान, राजनीति र सांगठनिक प्रतिवेदनमाथि गत असोज १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवशनमै छलफल गरेको सो दलले सौराहामा मूलरुपमा नेतृत्व निर्वाचनको काम गर्यो। तैपनि विधानमा केही रणनीतिक संशोधन भने गरियो। गत शनिबार साँझको केन्द्रीय कमिटी बैठकमार्फत्प दाधिकारीको संख्यामा बढोत्तरी गर्दै केपी शर्मा ओलीलाई अध्यक्षको उम्मेदवार बन्न निषेध गर्ने विधानका प्रावधानलाई उनी अनुकूल बनाइयो।
महाधिवेशनमा विशेष चर्चाको विषय रह्यो, ओलीलाई पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यको नाम चयन गर्ने अधिकार। शनिबार राति बसेको महाधिवेशनको बन्दसत्रले उनलाई सो अधिकार दिएको थियो। यस्तो प्रस्तावको विरोध नभएको होइन, तर विरोधको स्वर ज्यादै मसिनो थियो।
आइतबार मध्यरातमा सुरु भएको बन्दसत्रमा (सोमबार बिहान) ओलीले केन्द्रीय कमिटी र पदाधिकारीमा आफू अनुकूल नामहरु राखेर प्रस्ताव प्रस्तुत गरे। जुन प्रस्ताव हलबाट बहुमतले पारित भयो। जुन ढंगले ओलीले सूची प्रस्तुत गर्ने अधिकार लिए र त्यसलाई बन्दसत्र सामू प्रस्तुत गरे, त्यसले एमालेको लोकतान्त्रिक छबि धमिल्याएको भनेर आलोचना पनि भएको छ।
ओलीले सूची पढेको भए पनि वैधानिकताको लागि एमालेको केन्द्रीय निर्वाचन आयोगले गर्ने निर्वाचनमा धेरैले उम्मेदवारी दिए। कतिपय पदमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै नेताहरु निर्विरोध निर्वाचित भएको भए पनि विभिन्न १० वटा समूहमा भने मंगलबार बिहान निर्वाचन भएको थियो। जसको मतपरिणाम मंगलबार साँझ सार्वजनिक भएको छ।
निर्वाचितहरुको सूची हेर्दा पदाधिकारी अन्तर्गतका सम्पूर्ण पदमा ओलीकै सूची सदर भएको देखिन्छ। अध्यक्षमा ओली, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ निर्वाचन भएका छन्। पोखरेल निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वाचित भए। उनीहरु सबै निर्विरोध निर्वाचित भएका हुन्।
सचिव ७ पदका लागि भने ९ जनाको उम्मेदवारी परेको थियो। जसमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, पद्मा अर्याल, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्।
सबै ओलीले नै प्रस्तावित गरेका नेताहरु पदाधिकारीमा रहेकाले पार्टीको उच्च नेतृत्व ओलीका निम्ति निकै सहज छ। जसले गर्दा एमालेलाई आफ्नो तजबिजमा चलाउन ओलीलाई झनै सहज हुने देखिन्छ।
केन्द्रीय कमिटीमा पनि ओलीले चाहेकै जस्तो नेताहरुको बाहुल्य छ। केही छिटपुट रुपमा ओलीको चाहनाभन्दा बाहिरका नेताहरुले प्रवेश पाएको भए पनि ती साह्रै न्यून संख्याका छन्।
एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी र सदस्यहरु:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।